भारत फर्कनेको भरमार

भारत फर्कनेको भरमार

दिल्ली गएको २५ बसमध्ये केही बस काठमाडौं फर्किंदै छन् । एक–दुई दिनमै ती सबै बस आएपछि फेरि हजार भारतीय नागरिक पठाइँदैछ । दूतावासले अरु बस पठाइदिन दिल्लीस्थित पारवाहन विभागसँग आग्रह गरेको छ ।

कोरोनाकालको मध्यकालसम्म सुषुप्त देखिए पनि सिमाना विवाद चर्किन थालपछि भने लकडाउनको दुई महिनामा नबाहिरिएका भारतीयहरु भटाभट काठमाडौं छोड्न आतुर देखिएका छन्  ।

ती भारतीयको पीर कोरोनाभन्दा बढी यहाँको जनजीवन भड्किएला भन्नेमा देखिएको छ । नेपालमा यसअघि इराक र ऋत्विक रोशन काण्ड भड्किँदा भारतीयमात्रै हैन,भारतीयजस्ता देखिने थुप्रै नेपालीले पनि पिटाई खान र लुकी बस्नपरेको थियो ।

शायद,त्यस्तै कुनै पीर परेर होला,हप्ता दिनभित्र ११ सय ६७ भारतीय नागरिक विभिन्न माध्यमबाट आ–आफ्नो घर पुगेका छन् ।
अहिले लैनचौरस्थित भारतीय दूतावासमा स्वदेश फर्किन फारम भर्नेको लाइन छ ।

विभिन्न काम, पेशा र व्यवसायका लागि काठमाडौं बस्ने भारतीय नागरिकको संख्या २० हजारभन्दा बढी छ ।

लैनचौर दूतावासमा आइतबार साँझसम्म घर फिर्ता हुन चाहने १५ हजारको फारम दर्ता भएको छ ।

तर,समस्या छ,जाने व्यवस्थाको ।

जान चाहने मानिसले गाडीको भाडा तिर्नुपर्दैन ।

जाने क्रममा बाटोमा निश्चित ठाउँमा खानाको व्यवस्था पनि दूतावासले नै गर्ने गरेको छ ।

यसरी स्वदेश फर्किन चाहने भारतीयमध्ये १० दिनअघि १ सय ६७ जना एयर इण्डियाको काठमाडौं–दिल्ली उडानबाट गए । अघिल्लो आइतबारदेखि हिजो आइतबारसम्म काठमाडौंबाट २५ वटा बस दिल्लीका लागि छुट्यो । एउटा बसमा चालक दलका सदस्यबाहेक जम्मा ४० जना यात्रु पठाइएको दूतावासस्रोतले जनाएको छ ।

यस्तो गर्दा हजार जना बसबाट र १ सय ६७ जना जहाजबाट भारत पठाइएको अभिलेख दूतावाससँग छ ।

बसबाट भारत गएकामध्ये हैदरावाद,चेन्नई, बैंग्लोर र दिल्लीका बासिन्दा छन् ।

त्यसबाहेक बिहार, उत्तरप्रदेश, पश्चिम बंगाल (दार्जिलिङतिरका) र सिक्किम जानेहरु दूतावासको सम्पर्कमा छैनन् ।

स्रोत भन्छ, ‘त्यताका मानिसहरु आ–आफ्नै हिसाबले पहिल्यै गइसकेका छन् । जो यहाँ छन्, उनीहरु अब जान चाहँदैनन् ।’

दिल्ली गएको २५ बसमध्ये केही बस काठमाडौं फर्किंदै छन् । एक–दुई दिनमै ती सबै बस आएपछि फेरि हजार भारतीय नागरिक पठाइँदैछ ।

दूतावासले अरु बस पठाइदिन दिल्लीस्थित पारवाहन विभागसँग आग्रह गरेको छ । यदि थप बस आएमा भारत फर्किनका लागि पहिला फारम भर्नेहरुलाई प्राथमिकतामा राखेर पठाइने भएको छ ।

यसअघि मुक्तिनाथमा अड्किएका तीर्थयात्रीलाई भारतले फिर्ता लगिरहेको छ ।

भारतबाट भने गत हप्ता ९८ हजार नेपाली फर्किएका छन् ।

सबभन्दा बढी कैलालीको गड्डा चौकी नाकाबाट मात्रै ३० हजारभन्दा बढी छिरेका थिए ।

भारतभर नेपालीको बसोबास करिव ३० लाख छ । त्यसमध्ये कतिपय उतै सेटल भएका छन् । यताको थातथलो नै छोडेर भारतमा घरजम गर्नेहरुको संख्या पनि ठूलै छ ।

अहिले काठमाडौंबाट भारत फर्किनेमा तल्लो तहका मजदुरको संख्या बढी छ, जो दूतावासको सम्पर्कबिनै आ–आफ्नो गाउँ पुगिसके ।

अहिले दूतावासमा फारम भरेर फर्किन चाहनेहरु चाहिँ कुनै न कुनै प्रतिष्ठित पेशा, व्यवसायमा संलग्न भएका व्यक्ति हुन् । उनीहरु लकडाउनको पीरले नभई दुई देशबीच सम्बन्ध चिसिने क्रम बढेपछि पुराना घटनाहरु दोहोरिएलान् भन्ने डरले जान चाहेको बुझिन्छ ।

टिप्पणीहरू