भूपू जर्नेलहरुलाई निम्तो दियो भारतले

भूपू जर्नेलहरुलाई निम्तो दियो भारतले

भारतीय दूतावासले नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति र जर्नेलहरुसंग छलफल गर्ने भएको छ ।

पर्सि भदौ १२ गते आइतबार राजधानीको सोल्टी होटलमा छलफल गर्न लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सेनापतिसहित पूर्व जर्नेलहरुसंग सामूहिक भेटवार्ता र रात्रिभोज गरेलगत्तै दूतावासले भेला बोलाउने तयारी गरेको हो ।

त्यस्तै पाँच दिने नेपाल भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन् । नागरिकता विधेयकको अनिश्चितता र राष्ट्रपतिको राजीनामाको चर्चा चुलिँदा दूतावासले अचानक यसरी भेला डाँक्नु र भारतीय स्थल सेनाध्यक्ष नेपाल आउनु संयोग नै भएको छ ।

राष्ट्रपति भण्डारीले अस्ति साँझ शीतल निवासमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । उहाँको निम्तो मान्न पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा, प्यारजङ्ग थापा,पूर्व तीनतारे बलदेवराज महत,अमर पन्त, पूर्वउपरथी हरिबहादुर बस्नेतलगायत १ देखि ४ तारेसम्मका पूर्वजर्नेलहरु पुगेका थिए ।

दिउँसो साढे ३ बजे समारोहस्थल पुगेका करिब पाँच दर्जन बहालवाला र पूर्वजर्नेलहरुसंग राष्ट्रपति भण्डारीले साँझसम्म कुराकानी गर्नुभएको थियो ।

टिप्पणीहरू