‘कोरोना बीमा’ मै कोरोनाको असर

‘कोरोना बीमा’ मै कोरोनाको असर

एउटा बिमा कम्पनीका सीईओ भन्छन् त्यसैले एकाध महिनामा निर्जीवन बीमा कम्पनीहरू टाट पल्टने अवस्था आएपछि यसअघि फेसबुके विश्लेषणमा रमाउँदै गरिएको निर्णय उल्टाउन हामीले समितिलाई गुहार्यौं ।

मुलुकमा दोस्रो कोरोना संक्रमित पुष्टि भएपछि लकडाउन थालियो । चैतभरि त्यत्ति धेरै संक्रमण फैलिएन । संक्रमितमा पनि सिकिस्तको लक्षण देखिएन । सरकारी निकायहरूले बढीमा एकहजार जना संक्रमित हुने अनुमान गरे । नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले कोरोना नलाग्ने सर्वत्र फेसबुके विश्लेषण फैलियो । संक्रमित एकाध पनि निको भएर घर जान थालेपछि लकडाउनले सेलाएको व्यवसाय उकास्न बिमा कम्पनीहरूले नयाँ उपाय रचे ।

निर्जीवन बिमा कम्पनीहरूले सस्तो दरको ‘कोरोना बीमा’ योजना तयार गरेर वैशाख लागेपछि बीमा समितिलाई फेसबुके विश्लेषण सुनाए । उनीहरूको निश्कर्ष थियो ‘नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले अधिकांशलाई यो रोग सर्दैन । एक वर्षसम्म बिमाङ्क रकम भुक्तानीको लागि सम्भवतः दावी नै पर्दैन ।’ समितिले पनि विश्वकै ‘नयाँ प्रडक्ट’ भन्दै एक वर्षे अवधिको ‘कोरोना बीमा’ घोषणा गरिदियो । वैशाख ७ गते स्वयम् समिति अध्यक्ष चिरञ्जिवी चापागाईं दम्पतिले कोरोना बीमाको शुभारम्भै गरिदिए ।

शुरुमा एक लाखको बीमाङ्क पोलिसीअन्तर्गत परिवारका सबै सदस्यको लागि छ सय रूपैयाँ र व्यक्तिको लागि एक हजार रूपैयाँ प्रिमियम तोकियो । त्यसैगरी, पचास हजारको बीमाङ्कमा परिवारको तीन सय र व्यक्तिको पाँच सय प्रिमियम थियो । तर, वैशाखको तेस्रो सातादेखि मुलुकमा संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो ।

जेठ लागेपछि दैनिक सय र त्यसपछि डेढ सयको हाराहारीमा संक्रमितको संख्या बढ्यो । यसबीच केही संक्रमितको मृत्युसमेत हुन थाल्यो । पहिले एक हजार पनि नपुग्ने प्रक्षेपण गरेका सरकारी तथा सुरक्षा निकायले संक्रमितहरूको संख्या कैयौँ गुणा बढ्ने बताउन थाले । सबैतिरबाट जोखिम बढ्दै गएपछि कोरोना बीमामा रमाइरहेका निर्जीवन बीमा कम्पनी र समितिको पनि सातो गयो ।

कम्पनीहरूले लकडाउनको समयमा थोरै प्रिमियमको ‘ललिपप’मा करोडौं नगद प्रवाह बढाइ रहेका थिए । अर्कोतर्फ, उनीहरू नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता अधिक भएकाले कसैलाई पनि भाइरस नसर्ने सतही विश्वासमा रमाइ रहेका थिए । तर, एक वर्षसम्म सम्भवतः बीमाङ्क रकम नै भुक्तानी गर्न नपर्ने योजना बुनेर बसेका निर्जीवन बिमा कम्पनीहरूको नगद प्रवाह धरमराउन थाल्यो । दैनिक प्राप्त हुने प्रिमियम रकमभन्दा धेरै बढी बिमाङ्क रकम भुक्तानीको संकेत देखिन थाल्यो ।

किनकि यसअघि कोरोना बीमा गरेका जो कोहीलाई पीसीआर पोजिटिभ देखिनेबित्तिक्कै तोकिएको एक लाख वा पचास हजारको बीमाङ्क प्रदान गर्ने क्रम कोरोना संक्रमितको संख्याझैं बढ्न थाल्यो । ‘यहि रफ्तारमा पोलिसी र संक्रमितको संख्या बढ्दै गएमा प्राप्त हुने प्रिमियम भन्दा भुक्तानी गर्नुपर्ने बीमाङ्क रकम सयौं गुणाले बढ्ने देखियो ।’ एउटा बिमा कम्पनीका सीईओ भन्छन्– ‘त्यसैले एकाध महिनामा निर्जीवन बीमा कम्पनीहरू टाट पल्टने अवस्था आएपछि यसअघि फेसबुके विश्लेषणमा रमाउँदै गरिएको निर्णय उल्टाउन हामीले समितिलाई गुहार्यौं ।’

कम्पनीहरूको हारगुहारले समितिलाई पनि आफ्नो अल्पज्ञान र महामारीलाई हलुका ढंगले गरिएको विश्लेषण सुधार्ने मौका मिल्यो । लगत्तै जेठ ९ गते नयाँ सर्कुलर जारी गदै भन्यो– ‘कोरोना बीमा गराउन चाहने व्यक्ति विदेशबाट फर्केको भए १५ दिन क्वारेण्टिन र अर्को १५ दिन घरमा बसेर नेपालका मान्यताप्राप्त निकायले प्रमाणित गरेको पीसीआर परीक्षण नेगेटिभको प्रमाणपत्र पेश गर्नुपर्छ ।’ अब प्रश्न उठ्छ निरोगिताको प्रमाणपत्र पेश गरेपछि बिमाचाँहि के को लागि ?

निरोगिताको प्रमाणपत्र पेश गरेपछि बिमाचाँहि के को लागि ?

टिप्पणीहरू