बालुवाटारमा कार उपहार

बालुवाटारमा कार उपहार

खुशबहादुरहरूलाई ‘खुशी’ पार्नाले प्रधानमन्त्रीका स्वकीय सचिवकी पत्नीलाई तरकारी किन्नका लागि हल्चोकबाट कोशेलीस्वरूप गाडी उपहार पुगेको छ ।
सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको लेखा उपसमूहको रिक्त १० नायव उपरीक्षक (डीएसपी) चैतमा सिफारिस भई भर्खरै बढुवा भएसँगै बालुवाटारमा नयाँ गाडी टल्किएको हो ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले विशेष पहल गरेको कारण बढुवा हुनेहरूले पैसा उठाएर उनका लागि गाडी किनिदिएको भनी हल्चोक हेडक्वार्टरमा ठूलो चर्चा छ । गणेशबहादुर मल्ललाई एक नम्बरमा राखेर गरिएको उक्त बढुवाबाट करबहादुर घर्तीमगर, रमेश थापा, खुशबहादुर श्रेष्ठ, ताराबहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल, उमाकान्त जोशी र सुदनराज गिरी लाभान्वित भएका थिए ।

आजकल हल्चोकमा देखिने अर्को दृश्य हो, एकजना एसएसपीको चुरिफुरी । कामु एसएसपीको ११ नम्बरबाट कन्फर्म १ नम्बर बनेका दीपेन्द्र कुँवर हुन् उनी । सेनाको संभाररथि भनेझैं ३७ हजार फौजको सारा खरिद मामिला हेर्ने प्रबन्ध प्रमुख यिनै भानु देउवाका बहिनी ज्वाइँले बालुवाटारमा बिहानको भात खान्छन् र साँझ आइजीलाई ‘फलानो ब्राण्डको रक्सी तयार पार्नुस्’ भन्दै शरद सदन छिर्छन् भन्ने उपत्यका बाहिनीमा गुनासो छ । आइजी राजु अर्याल पनि कति निरीह छन् भने, आफ्नो चार वर्षे कार्यकाल पूरा गर्न शक्तिकेन्द्रका कुरा हार्न नसक्ने । त्यसैमा भानु देउवादेखि दीपेन्द्र कुँवरसम्मले तर मार्ने !

अहिले दीपेन्द्रले आइजीलाई भन्ने गरेका छन्, ‘४५ सय दरबन्दी म थपिदिन्छु, मलाई एक नम्बरमा डिआइजी बनाउनुप¥यो ।’ सशस्त्रमा अहिले तीन डिआइजी खालि छ । भनिन्छ, ‘एसएसपीमा ११ नम्बरकोलाई १ मा लान हुन्छ भने दीपेन्द्रलाई डिआइजी बनाउन किन नहुने ?’ उनी अहिलेका एआइजी नारायणदत्त पौडेलपछि आइजिपी हुने व्यक्ति मैँ हुँ भन्ने गर्छन् । उनका कुरा सुनेर गृहमन्त्रीदेखि सचिवसम्म बोल्न सक्दैनन् ।

विसंगति कतिसम्म छ भने, दार्चुला राशन घोटाला काण्डका मुख्य आरोपी एसपी त्रिभुवन बिष्ट बल्ल हेडक्वार्टर तानिएका छन् । दार्चुलास्थित ४४ नं. गणमा भएको घोटाला उनले गर्ने, जेलमा सिपाही पर्ने कारण जनस्तरमै र संसदसम्म कुरा उठ्न थालेपछि बिष्ट हेडक्वार्टर त तानिए । तर, कारवाही ‘तानिएरै’ टर्ने स्थिति छ । किनभने, उनी सुदूरपश्चिमका बासिन्दा हुन्, जसलाई अहिलेको सरकारले सात खत माफ दिन्छ भन्ने अनुमान गरिएको छ ।

त्यस्तै, सशस्त्रका सीमा सुरक्षा पोष्ट (बिओपी) मा नयाँ हाकिम खटाइएको छ । २ सय २८ बिओपीमा भर्खरै हेरफेर भएको हो । घुमुवाहरू तान्ने कुराचाहिँ कर्मकाण्डी भएको चर्चा छ । आइजीपीको आदेशमा तान्ने, बाहिनीमा राख्ने र वाहिनीपतिहरूको मिलेमतोमा फेरि पठाउने काम भइरहेको सशस्त्रस्रोतले जनाएको छ ।

मातहत कार्यालयमा अनियमितता बढेको सूचना आउन थालेपछि सशस्त्रले अब बाहिनीले चेकलिष्टसहित महिनाको एक पटक र गणले महिनाको दुई पटक छड्के जाँच गर्ने भएको छ । तर, यसमा पनि कामको डुप्लिकेशन भइरहेको बताइन्छ । मानवस्रोत विभागले महिनाको दुईचोटि अनुगमन गर्ने भनेको छ । त्यही काम अपरेशनले महिनामा एकपटक गर्ने भनेको छ । अचम्म के छ भने, पहिल्यै नीति बनाएर, मिति तोकेर अनुगमनमा जाने भएपछि त्यही दिन सबै सजग हुन्छन् र फेरि उही खेलो शुरु हुन्छ । चलन कस्तो छ भने, बेस र बिओपीमा इञ्चार्ज पाउनेले पालो आएपछि एक वर्षमा चाहिनेजति कुरा जोडिहाल्छन् ।

त्यस्तै, सशस्त्र प्रहरी अहिलेसम्म पुराना हतियारको भरमा चलेको छ । बलको स्थापनापछि भारतबाट ०६३–०६४ मा एसएलआर खरिद गरिएयता सशस्त्रमा नयाँ हतियार पुगेको छैन । नेपाली सेनाले शैलेन्द्र खनाल घर जानुअघि पाँच सय थान इन्सास दियो । तर, राम्रोसँग चल्दैनन् । तीमध्ये एउटा पनि हतियारले लगातार १० वटा गोली फायर गर्दैनन् । भारतले दिएको हतियार पनि त्यहाँ फेजआउट भएका हुन् । नेपालमा गोली बन्छ, हतियार बन्दैन । नेपाली सेनाको सुन्दरीजल कारखानाबाट सशस्त्रले गोली किन्छ ।

उता, नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि २६ सय साना हतियारको आवश्यकता भनी सरकारलाई अवगत गराएको छ । अब चुनाव लागिसकेको अवस्थामा खरिद गर्ने सम्भावना नभएपछि नेपाली सेनासँग अनुरोध गरेर लिने उपायमात्रै छ । प्रहरीले नयाँ हतियार नकिनेको तीन वर्ष भयो । सर्वेन्द्र खनाल आइजी हुँदा सयवटा पिस्तोल खरिद गरेको थियो ।

टिप्पणीहरू