शीर्ष नेताहरुको बैठकमा रिपोर्टिङ- जर्साबहरुले राष्ट्रपतिलाई उचाले

शीर्ष नेताहरुको बैठकमा रिपोर्टिङ- जर्साबहरुले राष्ट्रपतिलाई उचाले

आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा हिजो शीतल निवासमा भएको नेपाली सेनाका जर्नेलहरुको भेलाबारे कुरा उठेको छ । नागरिकता विधेयकमा गठबन्धन र शीतल निवासबीच ‘शीतयुद्ध’ चलिरहेका बेला राष्ट्रपतिले सेनाका बहालवाला र पूर्वहाकिमहरुसँग गरेको सामूहिक छलफलबारे गठबन्धन बैठकमा समीक्षा भएको हो ।

बैठक स्रोतका अनुसार राष्ट्रपतिलाई उचालेर संविधानविपरित कदम चाल्न जर्नेलहरुले भूमिका खेलिरहेको नेताहरुको आशंका छ । राष्ट्रवादका नाममा नागरिकता विधेयक रोकाएर जर्नेलहरुले राष्ट्रपतिलाई संविधान प्रतिकूल कदम चाल्न अभिप्रेरित गर्न खोजेको नेताहरुले निष्कर्षसमेत निकालेका छन् । विधेयक रोक्न अनेक उपाय खोजिरहनुभएकी राष्ट्रपतिलाई यतिबेलै भेट्नुले थुप्रै आशंका उब्जिएको र बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले चिन्ता जनाएको स्रोत बताउँछ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग हिजो भएको भेटवार्ताबारे पनि बैठकलाई ब्रिफिङ गर्नुभएको छ । ओली एकाएक बालुवाटार आउनुको कारणबारे अरु नेताहरुले जिज्ञासा राखेपछि प्रधानमन्त्रीले भेटमा भएका कुराकानीबारे प्रष्ट पार्नुभएको हो । देउवाको ब्रिफ़िङ सुनाउँदै स्रोत भन्छ, ‘सत्य निरुपण विधेयक,राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक र चुनावको निस्पक्षताबारे चासो देखाएका छन्, मैले गठबन्धनमा सल्लाह गर्छु भनिदिएँ ।’

नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रपतिको ‘मान नराख्दिएको’मा देउवासामु ओलीले आपत्ति जनाएको बैठकमा सुनाइएको थियो । त्यस्तै, स्थानीय चुनावमा देशभर एमाले कार्यकर्ताले कुटाई खाएको भन्दै ओलीले चुनावको निष्पक्षतामाथि प्रश्न उठाएको र त्यसमा आफूले आश्वस्त पारेको देउवाको रिपोर्टङ थियो ।

टिप्पणीहरू