भन्ने मेलमिलाप, आमा–छोरी र पतिपत्नीबीच कुटाकुट

भन्ने मेलमिलाप, आमा–छोरी र पतिपत्नीबीच कुटाकुट

छिटोछरितो तथा सरल प्रक्रियाबाट झगडाको समाधान खोज्न अदालतले शुरु गरेको मेलमिलाप नीति त्यति प्रभावकारी बन्न सकेको छैन । कुटपिट र सम्बन्धविच्छेदका मुद्दालाई आपसी वार्ताबाट सुल्झाउनका लागि अदालतले सञ्चालनमा ल्याएको कार्यविधि कहीँकतै चुकेको पाइन्छ ।

सुम्झाईबुझाई वा छलफलका माध्यमबाट दम्पतीलाई घर फर्काउनु मेलमिलाप शाखाको प्रमुख उद्देश्य हो । फाट्न लागेको मन जोड्ने प्रयास मेलमिलापकर्ताले गर्ने हुन् । मेलमिलाप मुद्दा पद्धति शुरु भएको खासै धेरै समय भएको छैन । अदालती प्रक्रियामा आएका मुद्दा औपचारिक रूपमा मिलाउने कार्य २०६० सालदेखि बल्ल शुरु भएको हो । अदालतमा गरिने मेलमिलापका लागि निर्देशिका २०६३ मा तयार पारिएको थियो ।

यसलाई थप प्रभावकारी बनाउन यस निर्देशिकामा टेकेर मेलमिलापसम्बन्धी ऐन, २०६८ ल्याइयो । यही ऐनको परिच्छेद २, दफा (३) मा मेलमिलापद्वारा विवादको निरूपण हुन सक्ने उल्लेख छ । तर, अदालतमा मेलमिलापकर्ताकै सामु दम्पतीबीच कुटपिटसम्म हुने गरेको छ । ललितपुर जिल्ला अदालतमा बारम्बार यस्तो अवस्था आएको बताइन्छ ।

दुई पटकसम्म कुटपिट भएपछि अदालतका कर्मचारीहरूले नै मेलमिलापकर्तामाथि औंला ठड्याएका छन् । यहाँ एकपटक अंशको विषयलाई लिएर आमा र छोरीबीच लछारपछार भएको थियो । त्यस्तै, सम्बन्धविच्छेद गर्न पुगेका जोडीलाई मिलाप गर्न अदालतले सुझाएपछि मेलमिलापकर्ताकै कार्यकक्षमा हंगामा मच्चिएको छ । नानाथरी गालीगलौज गरेकी श्रीमतीलाई श्रीमान्ले सकुञ्जेल कुटेका छन् ।

ललितपुर महानगरपालिका–६ बस्ने मेनुका खड्गी (नाम परिवर्तन) ले २०७८ मंसिर ५ गते अदालतमा मुद्दा दायर गरिन् । आफ्नै छोरी शान्ति (नाम परिवर्तित) विरुद्ध बकसपत्र लिखत दर्ता बदर, दर्ता कायमको माग राख्दै मुद्दा हालेकी थिइन् ।

१० छोराछोरीकी आमा मेनुकाले श्रीमान्को मृत्युपश्चात् सबै सम्पत्ति छोराछोरीलाई अंशबण्डा लगाइन् । दुई छोराको मृत्यु र एक बेपत्ता भएकाले सात भाग अंशबण्डा भयो । छोरी जानुकाले मृत्युपर्यन्त पाल्छु, खान लाउन दिन्छु, औषधोपचार गर्छु, कुनै पनि हालतमा दुःख दिने छैन भनेको हुँदा मेनुका विश्वासमा परिन् ।

छोरीले भनेअनुसार आफ्नो नाममा दर्ता भएको जग्गा पनि पास गरिदिइन् । तर, विस्तारै छोरीको आनीबानीमा फरकपन पाइन् । सम्पत्ति सबै लिइसकेपछि छोरीले खान, लाउन दिन छोडिन् । आफ्नो कोखबाट जन्मिएकी छोरीले त्यसो गर्लिन् भनेर सोचेकी पनि थिइनन् । मेनुका दैनिक कुटाइ खान र गाली सुन्न बाध्य भइन् । सम्पत्ति लिनुअघि गरेको बचन सबै झुठो भएपछि अन्ततः न्यायको ढोका ढक्ढक्याइन् ।

प्रतिवादी आफ्नो जग्गा र घर बिक्री गरी रकम लिएर भाग्ने उल्लेख गर्दै उनले मुलुकी देवानी कार्यविधिसंहिता २०७४ को दफा १५६ (१) बमोजिम सम्पत्ति रोक्का राख्न माग गरिन् । यता, अदालतले भने सामान्य झगडा भनेर उनीहरूलाई मेलमिलापमा पठायो । तर, वादी र प्रतिवादीबीच अदालतमै कुटाकुट पर्यो ।

मेलमिलापकर्ताकै अगाडि हानाहान चलेपछि सबै जना अचम्मित बने । छोरीले आमालाई सक्दो बल प्रयोग गरी कुटिन् । मेलमिलापबाट मुद्दाको समाधान नदेखेपछि न्यायाधीश शिवबहादुर रानाभाटले सम्बन्धित जग्गा सुक्रिबिक्री, दान दातव्य तथा बन्धकसमेत राख्न नपाउने गरी रोक्का राख्न मालपोत कार्यालयलाई लेखी पठाउने भनेर फैसला सुनाइदिए ।

उता, मिलाप गर्न नसक्ने पनि मेलमिलापकर्ता हुन्छन् र ? भन्ने सवाल खडा भएको छ । ‘मेलमिलापकर्तालाई प्रशिक्षण नपुगेकोजस्तो देखियो, त्यसैले त सँधैं उनको फाँटमा कुटपिट भइरहन्छ’, त्यहीँको ड्युटीमा तैनाथ एक सुरक्षाकर्मीले बताए ।

टिप्पणीहरू