‘कुनै पनि हालतमा दीपेन्द्रले दरबार हत्याकाण्ड गरेका थिएनन्’

‘कुनै पनि हालतमा दीपेन्द्रले दरबार हत्याकाण्ड गरेका थिएनन्’

दिउँसो माधव नेपालजी आउनुभयो । पार्टीको निर्णय छ, म यो आयोगमा बस्दिन भन्नुभयो ।

राजदरबार हत्याकाण्ड भएकै राति साढे ११ बजे एक जना घनिष्ट मित्रले फोन गरे । र,साउती मारेको स्वरमा दरबार हत्याकाण्डवारे जिज्ञासा राखे । उनले पुष्टि गर्नका लागि मलाई सोधेका थिए । तर,मेरो त पहिलो स्रोत नै उनी बने ।

तत्कालै केशवराज राजभण्डारी (तत्कालीन सचिव,पछि प्रमुख निर्वाचन आयुक्त पनि भए ।) उनलाई फोन घुमाएँ । उनले हो श्रीमान्,सबै सखाप भयो । कसले के गर्यो ? केही थाहा छैन भन्ने जवाफ फर्काए । राजदरबार हत्याकाण्डको पुष्टि भयो ।

भोलिपल्ट अदालत जाने कुरा भएन । दौरा सुरुवाल लगाएर छाउनी गयौं । त्यहाँ गाइँगुइँ चलिरहेको थियो युवराज दीपेन्द्रले हत्या गरेको । छाउनीमा (कुमार) महेश्वर सिँह (दरबारका ज्वाइँलाई कुमार भन्ने चलन थियो ।) ले ब्यान्डेज गरेर छातीमा हात झुण्ड्याएका थिए । के भयो कर्साप ? भनेर सोधे ।

जवाफ फर्काए-मलाई गोली लाग्यो श्रीमान् !

हजुर त्यहीँ हुनुहुन्थ्यो ? मेरो सोधनी थियो ।

अँ,त्यहीँ थिएँ ।

के भएको हो त ? मेरो कौतुहलता ।

दीपेन्द्रले नै हो भन्ने जवाफ फर्काए ।

मलामी गएर फर्कियौं ।

शनिबार खासै केही भएन ।

आइतबार आयोग गठन भयो प्रधानन्यायाधीश केशव शर्मा उपाध्यायको अध्यक्षतामा तीन सदस्यीय ।

सभामुख तारानाथ रानाभाट,विपक्षी दलका नेता माधवकुमार नेपाल ।

मलाई पनि प्रधानन्यायाधीशबाट बालुवाटारमा बोलावट भयो । र, भन्नुभयो-तपाईं दरबारमै बसेर आठ दश/वर्ष काम गर्नुभएको व्यक्ति । दरबार नजिकबाट बुझेको मान्छे । मलाई सहयोग गर्नुपर्यो । यो आयोगमा बसिदिनुपर्यो। काशिराज दाहाल प्रधानन्यायाधीशको रोजाइमा पर्नुभयो ।

दिउँसो माधव नेपालजी आउनुभयो । हामी बालुवाटार प्रधानन्यायाधीशको क्वार्टरमा थियौं । पार्टीको निर्णय छ, म यो आयोगमा बस्दिन भन्नुभयो । मैले उहाँलाई एसम्यानहरूको मात्र आयोग भयो त बर्बाद हुन्छ । तपार्इं जसरी पनि यो आयोगमा बस्नुपर्छ भन्ने सल्लाह दिएको थिएँ ।

सभामुख तारानाथ रानाभाटको रोजाइमा परे,सूर्यकिरण गुरुङ (पछि राजदूत र सत्यनिरुपण आयोगका अध्यक्ष ।)

हामी तीनै जना (सूर्य,काशी र म) विशिष्ट श्रेणीका अफिसर । सचिवालयका प्रमुख भए सूर्यकिरण । हामीचाहिँ कारिन्दाजस्तो भयौं ।
आयोगलाई म्याण्डेट दिइएको थियो, के भएको हो भन्ने विषयमा बुझेर प्रतिवेदन पेश गर्ने ।

त्यो जाँचबुझ आयोग थिएन । जाँचबुझ आयोग भएको भए,म्याण्डेट दिइन्थ्यो के भएको सत्यतथ्य पत्ता लगाउनु भनेर ।

योचाहिँ घटना के–के भएको थियो भनेर घटनाको सिक्वेन्स मिलाउनका लागि मात्र गठन भएको आयोग थियो ।

राजा ज्ञानेन्द्रकहाँ गएर शपथ लिने काम पनि तिनै दुई जना (केशव र तारानाथ) ले गरे ।

हाम्रो कामचाहिँ सभामुखको भवन (संसद् सचिवालयभित्र) बाट हुन्थ्यो ।

काम गर्नका लागि मोडालिटी बनायौं । पहिलो चरणमा,प्रत्यक्षदर्शी, घाइतेलगायत त्यहाँ को को थिए ? घटनासँग जोडिएकासँग सोधपुछ थाल्यौं ।

पारस शाह,ज्ञानेन्द्रको महारानी कोमललगायत राजपरिवारसँग टेप रेकर्ड गरियो । तर, राजपरिवारका सदस्यसँग सोधपुछ गर्दा मलाई लगिएन ।
अरूको टिपोट मात्र गरियो ।

उनीहरूले जस्तो बयान गरे- त्यो प्रतिवेदन (किताब)मा आएकै छ ।

राजदरबारभित्र हरेक शुक्रबार पारिवारिक जमघट हुने । कुनै शुक्रबार मुभी हेरिने (तीनताक भिडियो पाइँदैनथ्यो,हलबाट चक्का ल्याएर हेरिन्थ्यो) ।

यस्तो जमघटचाहिँ कहिले कुपण्डोलस्थित महेश्वर सिङको निवासमा, कहिले कुमार गोरखको त कहिले ज्ञानेन्द्रकोमा हुने चलन रहेछ ।
त्यसदिन दीपेन्द्रको पालो थियो ।

एडिसीहरूसँग सोध्दा उनीहरू पारिवारिक जमघटमा ढोकाबाहिरै बस्दा रहेछन् । बाहिरै खाने । बोलाए मात्र भित्र जाने हुँदा भित्र ड्वाङ्ग आवाज आएको मात्र सुनियो । के भएको हो हामीलाई पनि थाहा भएन भने ।

बयान दिनेहरू भन्थे- दीपेन्द्र पहिलादेखि नै पिइरहेका थिए (फेमस ग्राउज भन्ने ब्राण्डको )। यो रक्सी कुनै ठूलो ब्राण्डको होइन रहेछ । उही तपार्इं हामीले पिउने रेड लेबल मार्काको ।) त्यो रक्सीको डिष्टिब्युर्टसचाहिँ उनै कुमार महेश्वर सिंह। र, उनैले दरबारलाई भिडाएका रहेछन् । गेष्टहरू आउन ढिला भएको थियो ।

रक्सी धेरै पिएका कारण उहाँलाई लागिसकेकोथ्यो । पछि बान्ता गर्नुभयो । निदाउनुभएपछि हामी हिँड्यौं भन्छन् बयान दिनेहरू । बयान जोसँग लिइयो सबै बितिसकेको दीपेन्द्रलाई पोल्ने ।

गोरखसमशेरको छातिमा गोली लागेको तर मुटुमा सुनको लकेटले बचाएको रहेछ । त्यही लकेटको सानो चोइटोचाहिँ भित्र पसेछ । उनी पनि दीपेन्द्रलाई पोल्ने ।

केतकी शाहले पनि दीपेन्द्रलाई नै दोषी देखाइन् ।

हाम्रो कानुनमा प्रमाण ऐन छ, त्यसको पेटबोली छ मृत्युकालीन घोषणा ।

मान्छेले मर्ने समयमा साँचो कुरा बोल्छ रे !

तर, मेरो मनमा चाहिँ चिसो पस्यो, पहिला सिभिल डेसमा भएको मान्छे पछि मेसिनगनले हान्न थाल्दा कम्व्याट ड्रेसमा,बुट पनि कसेको अवस्थामा छ रे !

रक्सी खाएर,बान्ता गरेर सुतेको र निदाएको मान्छे त्यसरी आउन सक्छ ?

हामीले पनि रक्सी पिएका छौं । रक्सी कति लाग्छ ? राम्रोसँग थाहा छ ।

तत्कालै फ्रेस भई दुबै हातमा बन्दुक लिएर कसरी आउन सक्छ ? मलाई शंका लाग्यो ।

रक्सी खाएर, बान्ता गरेर सुतेको र निदाएको मान्छे त्यसरी आउन सक्छ ? हामीले पनि रक्सी पिएका छौं । रक्सी कति लाग्छ ? राम्रोसँग थाहा छ ।

आफ्नो शंका प्रधानन्यायाधीशसँग राखें ।

यो विषयको जाँचबुझ गर्न एक जना डाक्टर लिएर आऔं भनें । तर, उनले  त्यसो गर्न मानेनन् ।

उसो हो भने साइकियाटृक वा मनोविद्हरूलाई ल्याऊँ भन्ने प्रस्ताव राखेँ ।

रिटायर्ड डाक्टर कृष्णचन्द्र राजभण्डारीलाई बोलाइयो ।

प्रधानन्यायाधीशहरूको चाहिँ त्यहीँ भएका मान्छेसँग मात्र सोधपुछ गरेर काम फत्ते गरौं भन्ने मनशाय थियो ।

मैलेचाहिँ रक्सी पिएर लडेको,निदाएको भनिएको मान्छे फेरि तत्कालै उठेर कम्ब्याट ड्रेस लगाएर, बुट कसेर मेसिनगन चलाउन सक्छ कि सक्दैन ? त्यो कुरा चाहियो भन्ने अडान राखेपछि मनोविद् डाक्टर कृष्णचन्द्र राजभण्डारीलाई त्यहाँ बोलाइयो ।

थोरै कुरा सोधेर कृष्णचन्द्रलाई बिदा गरिदिनुभयो उहाँहरूले ।

पछि घटनास्थल हेर्न गयौं । त्यो पनि उनीहरूसँग अनुमति लिएर,उनीहरूले भनेको समयमा रोजेको फोटोग्राफर मात्र लिएर जान पाइने ।
घटनास्थल त्रिभुवन सदन देखाइयो । अलि अघि राजा वीरेन्द्रको च्यातिएको ढाकाटोपी र गोलीका खोका छरपष्ट थिए । हतियार थिएनन् ।
युवराजको खोपीमा पुग्यौं । भर्याङको भित्तामा गिदी देखियो । ऐश्वर्यको गिदी भएको अनुमान लगाए उनीहरूले ।

बाहिर साथीभाइहरूले प्रश्न राख्थे- दीपेन्द्रले नै गरेको हो त यो सबै ?

मैले त्यही बेला भनेको थिएँ, कुनै पनि हालतमा दीपेन्द्रले दरबार हत्याकाण्ड गरेका थिएनन् ।

पछिका वस्तुस्थितिले त्यो पुष्टि गर्दै गयो । प्लान्टेड मान्छेहरू त्यहाँ थिए ।

दीपेन्द्रका आमा-छोराको झगडा भन्ने हल्ला चलाए । तर,उनीहरूबीच केही झगडा थिएन । दरबार हत्याकाण्ड ग्राण्ड डिजाइनअनुरुप नै भएको हो ।

पछि मैले महेश सिङसँग पोष्टमार्टम नगरी त शव के चलाउने होला र ? भन्ने कुरा उठाएँ । उनले मुमाबडामहारानी (रत्न)बाट हुकुम आएको छ- दरबारका कसैको पनि पोष्टमार्टम गर्न चलन छैन भन्ने जवाफ दिए ।

पोष्टमार्टम गर्न किन दिएनन् ? घटनास्थल भोलिपल्टै गएर जाँच्नुपर्ने थियो । त्यो प्रधानन्यायाधीशले भन्नुपर्ने कुरा हो।

तर, अन्तिममा प्रतिवेदन बुझाउनुअघि मात्र घटनास्थल हेर्न गयौं । राजा ज्ञानेन्द्रले घटनास्थल नहेरी रिपोर्ट बनायौ ? भनेर सोधे वा के भएर हो ? अन्तिम घडीमा हामी घटनास्थल हेर्न गयौं ।

घटनास्थल हेर्न जाँदा गोलीको खोकाबाहेक केही थिएन ।

आयोगलाई जुन म्याण्डेट दिइएको थियो त्यो गलत थियो । सत्यतथ्य पत्ता लगाऊ भन्ने म्याण्डेट हुनुपर्नेमा के भएको रहेछ वस्तुस्थिति बुझी प्रतिवेदन पेश गर्ने भन्ने म्याण्डेट थियो ।

जस्तो महाभारतको लडाइँमा सञ्जयले आफ्नो राय केही दिँदैनन् । यस्तो भएको रहेछ,उस्तो भएको रहेछ भन्छन् । यसैगरी आयोगलाई पनि आफ्नो राय दिन नपाउने मात्र म्याण्डेट  थियो ।

नेपालको राजतन्त्र सखाप पार्नमा देशी/विदेशीको ठूलो हात रह्यो । जसरी नेपालमा अकस्मात् गणतन्त्र पास भयो । यो घटना नै प्रिप्लान हो । नेपालको राजतन्त्र खत्तम पारेर गणतन्त्र ल्याउनमा विदेशीको ठूलो हात छ ।

राजा वीरेन्द्रको च्यातिएको ढाकाटोपी र गोलीका खोका छरपष्ट थिए । हतियार थिएनन् । युवराजको खोपीमा पुग्यौं । भर्याङको भित्तामा गिदी देखियो ।

(लेखक पूर्व न्यायाधीश,दरवारको बिशेष जाहेरी बिभागका हाकिम र दरवार हत्याकाण्डताका सर्वोच्च अदालतको रजिस्ट्रार हुनुहुन्थ्यो)

टिप्पणीहरू