चितवनमा असफल पार्न केपीले षड्यन्त्र गरेको प्रचण्डको दावी

चितवनमा असफल पार्न केपीले षड्यन्त्र गरेको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्न एमाले अध्यक्ष केपी ओलीले अनेक तिकडम गरेको आरोप लगाउनुभएको छ । विकासे आयोजनाहरुको शिलान्याससहित विभिन्न कार्यक्रममा सहभागी हुन आज आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका उहाँले माडी नगरपालिकास्थित रतनी खोला पुलको उद्घाटन गर्दै यस्तो दावी गर्नुभएको हो ।

चितवनमा आफूलाई असफल पार्नेबाहेक ओलीले अरु केही काम नगरेको प्रचण्डको भनाइ छ । राजनीतिक स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उहाँले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दावी गर्नुभयो ।

‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएका थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भन्नुभयो, ‘तर, दुर्भाग्य,जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो ।’

ओलीले आफूलाई चितवनमा असफल पार्नकै लागि पटक-पटक प्रतिनिधिसभा विघटन गरेको पनि बताउनुभयो ।

टिप्पणीहरू