गठबन्धनका लागि एमालेले सबैलाई ढोका खुलै राख्ने

गठबन्धनका लागि एमालेले सबैलाई ढोका खुलै राख्ने

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेसँग गठबन्धन गर्न चाहनेलाई ढोका खुला रहेको बताउनु भएको छ । आज पार्टी मुख्यालय च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले एजेन्डा मिल्नेसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको हो।

‘एमालेसँग एजेन्डा मिल्ने अन्य पार्टीसँग गठबन्धन हुन्छ, आउनेहरूलाई पार्टीको ढोका खुला छ’, गुरुङले भन्नुभयो । एमालेले राप्रपासँग गठबन्धनको तयारी गरिरहेको छ भने अन्य केही साना दलसँग पनि गठबन्धन गर्ने प्रयासमा छ । तर, उपमहासचिव गुरुङले भने यसबारे थप कुरा खुलाउनु भएन । भोलि बिहान ११ बजे पुनः बस्ने बैठकले थप निर्णय गर्न सक्ने ठानिएको छ ।

आजको बैठकमा ६ वटा प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए भने १३ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेको गुरुङले जानकारी दिनुभयो । बैठकले संसदमा पेश भएको सत्य निरुपण विधेयक संशोधन हुनुपर्ने धरणा बनाएको पनि बताइएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष खडग प्रसाद शर्मा ओलीले आगामी निर्वाचनको तयारी, सरकार र गठबन्धनविरुद्ध बैचारिक संघर्षलगायत अन्य समसामयिक राजनीतिका विषयमा नेताहरुलाई जानकारी गराउनुभएको थियो ।

टिप्पणीहरू