श्रीमानले सोधे ‘…त्यतिन्जेल के हेर्नुभो ?’

श्रीमानले सोधे ‘…त्यतिन्जेल के हेर्नुभो ?’

‘एउटा किताब बोकेर हिँडेको मान्छेसँग राज्य डराउनुपर्नाको कारण के हो ? के उहाँसँग साथमा किताबसँगै हतियार पनि थियो ?’

हिजो आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले इजलासमा बहस गरेका सरकारी वकिललाई सोधे–‘अनुसन्धानको लागि थुनिएको २५ दिनसम्म के-के प्रमाण जुटाउनु भयो ? थप प्रमाण जुटाउन नसकेको हो भने त्यतिन्जेल के हेरेर बस्नुभयो ?

न्यायाधीश अघि बढे– ‘एउटा किताब बोकेर हिँडेको मान्छेसँग राज्य डराउनुपर्नाको कारण के हो ? के उहाँसँग साथमा किताबसँगै हतियार पनि थियो ?’ तर सरकारी वकिल आफैँले तयार गरेको आरोपपत्रमा मात्र केन्द्रित भइरहेका थिए ।

सरकारी वकिलले चितवनमा नभई धनुषामा पनि मुद्दा चलाउनुपर्ने बताएपछि न्यायाधीश थप खनिए ‘धनुषामा मुद्दा चलाउने हो भने ढाड भाच्चिएर उपचार गराउन अस्पताल गएको मान्छेलाई किन चितवनमा पक्राउ गरेर यत्तिका दिनसम्म केरकार गरेको ? त्यस्तो थियो भने शुरुमै जनकपुर लगेको भए के बिग्रन्थ्यो ?’ न्यायाधीशको निश्कर्ष थियो– ‘एउटा जिल्लामा पक्राउ गरेकालाई फेरि अर्को जिल्लामा लगेर दु:ख दिन पाईंदैन ।’

उक्त बहस हिरासतमा रहेका विप्लव माओवादीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ अर्थात् छबिलाल सापकोटा बिरुद्धको थुनछेक मुद्दामाथि थियो । भर्याङ्गबाट लडेर तीन वटा करङ्ग भाँचिएपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्ने क्रममा गत बैशाख २३ गते साँझ प्रहरीले शर्मालाई राज्यबिरुद्धको अपराधमा पक्राउ गरेको हो ।

प्रहरीले उनलाई नेपालको सार्वभौमसत्ता, राष्ट्रिय तथा प्रादेशिक अखण्डता बिरुद्धको कार्यमा संलग्न भएको आरोपमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ (१) बमोजिम सोही संहिताको दफा ४९ (५४, क) अनुसारको सजाय माग दाबी गरेर मुद्दा दायर गरेको हो ।

अदालतको झण्डै पाँच पृष्ठको आदेशमा भनिएको छ ‘विचारधाराका आधारमा मात्र राज्यबिरुद्धको गम्भीर प्रकृतिको कसुर अपराधमा संलग्न भएको मानी निजलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु वा सजाय भागी गराउनु न्याय र कानुनको दृष्टिमा उचित हुने नदेखिएकाले निजको हकमा पछि पेश हुने प्रमाणको आधारमा ठहर हुनेगरी हाललाई साधारण तारिखमा रिहा गर्नु ।’

टिप्पणीहरू