काठमाडौंका यिनै क्याम्पसमा हुन्छन् यस्ता काम

काठमाडौंका यिनै क्याम्पसमा हुन्छन् यस्ता काम

होचो कद । लाम्चो चेहरा । ठुटे दाह्री । छोटै कपाल । लगाउँछन्– प्रायः हाफप्यान्ट र टिसर्ट (स्कूल जाँदाबाहेक) । फेमिनिस्टका समर्थक, प्याट्रियार्की र रेसिज्मका चर्काे आलोचक, विरोधी । सहायक प्रधानाध्यापक । गिटारिस्ट । रुम सिंगर पनि । नजानेको विषय कमै छ । अंग्रेजीमा स्नातकोत्तर सकाउनै लागेका । राजनीतिमा पनि चासो राख्ने, नेकपा (एकीकृत समाजवादी) को भुरे नेताका रुपमा पनि चिनाएका । पछिल्लो समय टिचिङभन्दा ज्यादा युट्युब च्यानलमा कार्यक्रम सञ्चालन गर्न रौसिएका, तम्सिएका । दुई, चार वटा युट्युब अन्तर्वार्ता पनि लिइसकेका । यस्तै पहिचान बोकेका उनलाई देख्नेलाई लाग्छ– अनुशासनका पादरी । शिक्षक भएको नाताले समयका पालक । भारतको दार्जिलिङमा प्रारम्भिक शिक्षा छिचोलेर नेपाल आई उच्च शिक्षा हासिल गरेका उनको छोटो परिचय हो यो ।

सक्कली हैन, नक्कली नाम भनौँ– स्टिभ । नेपाली नाम अर्कै भए पनि उनको अंग्रेजी अर्थात् निक नेम हो, स्टिभ । फेरि बिलिनियर स्टिभ्स जब्स होइन, उसको प्रशंसक । यिनी अहिले धुम्बाराहीको एउटा स्कूलमा कक्षा १० सम्म पढाउँछन् । २०७२ को भूकम्पमा स्कूलको ‘चार्मिङ’ निकै झाँगिदो अवस्थामा भए पनि भूकम्पपछि एकाएक खस्कियो । त्यसपछि स्कूलका प्रांगणमा विद्यार्थीहरूभन्दा बेसी झारपात उम्रिए । स्कूलको शैक्षिक प्रणाली पनि झारपातजस्तै भयो, विद्यार्थीसँगै शिक्षकले पनि विद्यालय छाडे, प्रधानाध्यापकले कुलेलम ठोके । बचेखुचेका विद्यार्थीलाई पढाउन र स्कूल हाँक्न त पथ्र्यो नै ! त्यसपछि उनी विद्यालयमा ‘इन्ट्री’ भए ।

ज्याेतिकाे थरभन्दा पनि रूपमा दुवै गाँजाले जस्ताे लठ्ठिएका थिए ।

यो कथा उनै नेपाली स्टिभको हो । उमेरले तीस बसन्त पार गरिसकेका स्टिभ आफूले पढाउने स्कूलनजिकै कान्छी बहिनी र दाइको छोरीसँग धुम्बाराहीमा बस्छन् । दुईटा रुम भाडामा लिएका छन् । उनी सुत्ने कोठाको भुइँमा असरल्ल सिद्रा माछाजस्तै छरिएका छन् किताब, कापी । दक्षिणपट्टि एउटा कुर्सी छ । कुर्सीमाथि गितार । टेबुलमाथि छरिएका, बिर्काे नलगाएका कलम र मोबाइल चार्जर । पश्चिम दिशामा उनको बिछ्यौँना । सपना देख्छन्– विछोड र मिलनका ।

मायामा हण्डर र ठक्कर खाँदै आएका उनी पछिल्लो समय प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा गहिरो प्रेमजालमा फसे । प्रेमिकाचाहिँ आफ्नै साथी सबिनको गर्लफ्रेण्ड । रोचकचाहिँ के भने– साथी, साथीको गर्लफ्रेण्ड र स्टिभ क्लासमेट । कक्षाका तीन सेक्सनमध्ये तीनैजना ‘बी’ सेक्सनका । प्रथम सेमेस्टरमा पढ्दै गर्दा सबिन र ज्योतिबीच प्रेम नामको टुसा अंकुरायो, मुना पलायो तर राम्रोसँग हाँगाबिगा नलाग्दै हुरीले भाँच्यो । विछोडका प्रत्यक्षदर्शी हुन्, स्टिभ । ती दुईलाई एक ठाउँमा ल्याउन कयौँपटक मध्यस्थता पनि गरे । तर, केही सीप लागेन । निधारमै नभएर होला दुबै सिसाजसरी फुटे, जोडाउन बल, कर गर्दागर्दै पनि दुबै लाखापाखा लागे । त्यसपछि ज्योतिको नयाँ जीवनमा आशाको दियो बनेर आए स्टिभ । त्यसपछिको कथा हो योचाहिँ ।

कोरोनाले देशलाई गाँजेको थियो । संकटकालभन्दा अलि खुकुलो लकडाउन, प्रहरी सडकमा । प्रहरीलाई ढाँटेर, छलेर कतै जानै मुश्किल । खाने मुखलाई जुंगाले छेक्दैन भनेझैँ मायामा कोरोना न प्रहरी । फेला प¥यो चोरबाटो अर्थात् प्रहरीको गौंडाभन्दा भित्री बाटो । त्यही बाटो हुँदै स्टिभ एभेन्जर बाइकमा ज्योतिलाई लिएर घरि गोकर्ण जंगल, घरि कीर्तिपुरमाथि बोसन डाँडाको जंगलतिर हुँइकिन्थे । भर्खर बिछोडमा परेर आफ्नै भूपू ब्वाइफ्रेण्डको साथीको बाइकमा लिपिक्क टाँसिन पाएकी ज्योतिलाई आहत शान्त पार्न राहत मिल्यो । गितारका कडमा औँला चलाउन खप्पिस स्टिभ वनजंगल जाँदा गितार नबोकी जाँदैन थिए । चराचुरुङ्गीको चीरबीरसँगै बर्तिका एम राई, सबिन राई, एड्रिन प्रधानका गीतहरू गुनगुनाउँदा चराहरू मोहित हुन्थे । ज्योति पनि शान्त बन्थिन् । लाग्थ्यो, उनी स्टिभको माकुराको माया जालमा परिन्, उम्किन सक्दै सक्दिनन् ।

कोरोना महामारीको दोस्रो कालखण्ड पनि सकियो । व्यापार, व्यवसाय, शैक्षिक संस्था, याताताय सबै विस्तारै इन्जारजस्तै खुुकुलो हुँदै गए । कोरोना महामारीमा बेस्सरी एकअर्काबीच झाँगिएका ज्योति र स्टिभ पनि खुकुलिँदै गए । पहिलेभन्दा अलि बिजी । पहिले महामारीको नामले दिनदिनै घुम्ने सौभाग्य मिल्थ्यो, लकडाउन खुकुलिएपछि खुम्चियो । कलेज जान शुरु भएपछि वातावरण अलि गर्मिएर चिसियो । ज्योति फेरि सबिनसँग टाँसिन थालिन् ।

यो देखेर स्टिभले दिउँसै तोरीको फूल देखे । सहन सकेनन् । त्यो लकडाउनमा कोठादेखि जंगलसम्म बसेर गन्थनमन्थन गरेका तरंगहरू मगजले बिर्सन सकेन । त्यसपछि आफ्नो बन्न नसकेकी गर्लफ्रेण्डकी ब्वाइफ्रेन्डमाथि जाइलागे । केटाहरू लिएर पुतलीसडकस्थित सबिनको अफिसमै पुगे । मित्रताको हातलाई शत्रुतामा बदलेर जंगिएका स्टिभले साथीको कठालो समाते तर मुड्की बजार्न पाएनन् । कारण वरिपरि अरु थिए । खैलाबैला मच्चियो, स्टिभहरू सिकार नै नगरी घर फर्किए । लकडाउनमा विदेशबाट उपहारस्वरुप आएको महँगो मोबाइल भित्तामा बजारे, जुन मोबाइल उनले ज्योतिलाई मायाको उपहारस्वरुप दिएका थिए । सम्बन्ध चिसिएपछि फिर्ता मागेको मोबाइल भित्तामा दुई टुक्रा भयो, अनि टुकटुके मोबाइलमा कल बटम थिचे ।

‘ऐइ…..त“लाई यस्तो अवस्थामा पु¥याउँछु कि अब तेरो अनुहार कसैले हेर्ने छैनन् । न तैँले नै संसार नियाल्छेस् । तेरो अनुहारमा एसिड छ्याप्छु, अरुथोक गर्छु । तैंले मलाई के सम्झेकी छस् हँ ?’ स्टिभ ज्योतिलाई मुखमा जे–जे आयो त्यही भनिरहे । घरि कराउँथे, घरि फकाउन खोज्थे त घरि विगत सम्झिएर भक्कानिएजस्तो गर्थे । ‘तिमीलाई त मैले एउटा प्रिय साथी, मनको व्यथा बुझ्ने, मल्हम पो सम्झिएकी थिएँ, तिमीले स्वास्नी सम्झेछौँ, तिमीले जे–जे सम्झिए नि मैले सदैव सबिनै सम्झिएँ । त्यसैले…,’ ज्योतिको आवाज आउनै नपाई स्टिभले त्यो मोबाइल पनि भित्तामा बजारे । दुई टुक्रा भएको मोबाइलको सास रोकियो ।

सत्ताका लागि त्रिपक्षीय राजनीतिक भीडन्त भएजस्तै यो घटनापछि तीनै जनाको प्रेमको डोरी चुँडियो । गुलाफको सुगन्ध स्पर्श गर्न खोजेका दुवैजना काँडाको सुइरोले घोचिए । फूलको सुगन्ध सु“घ्नै नपाई भदौरे किरा गुलाफमा बास बस्यो । आउँदो भदौमा ज्योतिका ब्वाइफ्रेन्ड दुबईबाट नेपाल आउँदै छन् रे ! ज्योतिले सकभर मिले भदौमै, नत्र असोजमा घरजम बसाउने सुर कसेकी छन् । शुरुमा साथी बनेर प्रेमी बनेका पूर्वप्रेमीद्वय अहिले ज्योतिको फेसबुक लिस्टमा छैनन् । दुवैलाई फेसबुकमा ब्लक गरेर ज्योतिले दुबईबाट नेपाल आउँदै गरेका हुनेवाला श्रीमानको ढोका ‘नक’ गरिसकेकी छन् ।

ज्योतिको सक्कली नाम ज्योति होइन । बाहिर दिने परिचय मात्र ज्योति हो । सक्कली नाम अर्कै छ । त्यो नभनौँ । अहिलेको दुनियाँ जातभातमा चल्दैन भने पनि थरचाहिँ खुलाउनै मुश्किल ! चिन्नै नसकिने । ज्योतिको थर तल्लो थियो, सबिन र स्टिभको माथि । ज्योतिको थरभन्दा पनि रुपमा दुवै गाँजाले जस्तो लठ्ठिएका थिए । मानौँ ज्योति नामको गाँजाले दुवैलाई छाड्दैन, छाडे पनि फेरि लागिहाल्छ ! सबिनको परिचय यो शृंखलामा नभनौँ, स्टिभकोचाहिँ थोरै भनौँ । स्टिभ बाहिर जातभातको कट्टर विरोधी, घरमा आफ्नै बहिनीहरूमाथि कडा निगरानी । केटासँग बोल्न वञ्चित, आफ्नो जातभन्दा बाहिरकोसँग बिहे गरे घरको ढोका सदाका लागि बन्द ! ज्योतिसँग छुट्टिएका अहिले यिनको दिमाग हुँदै छ झन् झन् मन्द !

– स्टिभको भलो चिताउने अमन

टिप्पणीहरू