प्रचण्ड बालुवाटार जानुअघि बाबुराम खुमलटारमा, माधवसँग अन्तै भेट

प्रचण्ड बालुवाटार जानुअघि बाबुराम खुमलटारमा, माधवसँग अन्तै भेट

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

सत्ता गठबन्धनमा सिट भागबण्डाको विषय पेचिलो बनिरहेको र त्यसबारे छलफल गर्न साँझ शीर्ष नेताहरुको बैठकमा जानुअघि प्रचण्डलाई नेपाल र भट्टराईले छुट्टाछुट्टै भेट्नुभएको हो ।

दिउँसो हात्तिबनस्थित प्रचण्डका भानिजको घरमा भएको अध्यक्ष नेपालसँगको छलफलमा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सम्मिलित हुनुहुन्थ्यो । छलफलमा समाजवादी केन्द्र गठन, चुनावमा साझा घोषणापत्र, गठबन्धनमा दुवै पार्टीले दावी गर्ने सिट र चुनाव लड्ने नेताहरुका बारेमा कुराकानी भएको बताइएको छ ।

त्यसलगत्तै प्रचण्डले आफ्नै निवास खुमलटारमा डा. भट्टराईसँग झन्डै पौने दुई घण्टा कुराकानी गर्नुभएको हो । माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्न सहमत हुनुभएका भट्टराई पौने १ बजे खुमलटार पुग्नुभएको थियो ।

उहाँहरुबीच पनि गठबन्धनमा दावी गर्ने सिट, साझा घोषणापत्रलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

टिप्पणीहरू