अहिलेका मेयर–उपमेयरमा पाकोपना देखिएन

अहिलेका मेयर–उपमेयरमा पाकोपना देखिएन

– हरिप्रभा खड्गी, पूर्वउपमेयर काठमाडौँ महानगरपालिका

अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा सबैभन्दा फराकिलो मतान्तरसहित उपमेयर चुनिएकी हरिप्रभा खड्गी यसपटक काठमाडौँबाट मेयरको आकांक्षी थिइन् । तर, पार्टीले प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई मैदानमा उतारेसँगै स्वतः ब्याक भइन् । र, सिर्जनाकै लागि मत माग्न थालिन् । ०४३ सालदेखि कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिमा होमिएकी उनले ०५४ सालदेखि नगर परिषद् सदस्य भएर एक कार्यकाल चलाइन् । नेपाल महिला संघ केन्द्रीय सदस्यको भूमिकामा रहेकी उनी वैशाख ३० सम्म नेपाल नगरपालिका संघको सहसचिव थिइन् । केहीअघि सम्पन्न कांग्रेस महाधिवेशनमा भिडेर केन्द्रीय सदस्यमा पराजित भएकी उनी महासमिति सदस्य भने छँदै छन् । पार्टीले टिकट पत्याए मंसिरको चुनावमा संघबाट लड्ने योजना छ ।

– हरि गजुरेल

आफू पदबाट बाहिरिएपछि काठमाडौँ महानगरपालिका कसरी चलिरहेको पाउनुभएको छ ?

– हामी सबै संरचना, ऐन, कानुन बनाएर, उपमेयरका अधिकारसमेत सुनिश्चित गरेर बाहिरिएका हौँ । अहिलेको कार्यकाल हामीलाई जस्तो गाह्रो नहुनुपर्ने ।

सहज ढंगबाट चल्नुपर्नेचाहिँ किन ?

– राजनीति गरेर आइरहेको युवा र सोझै छिरेर एकैपटक नेतृत्वमा पुगेका युवाबीच आकाश–जमिनको फरक देखेँ । जिन्दगीमा कतिबेला आँशु झार्दै हिँड्नुपर्ने हुन्छ । कतिपय कुरामा चित्त नबुझे पनि मिल्नुपर्ने हुन्छ । राजनीति गरेर जसरी हामी हुर्कियौं स्वतन्त्र तवरबाट उदाएकाहरूसँग त्यस्ता तीता–मीठा अनुभव हुँदैन । त्यही कारण हरेक कुरामा तुरुन्त निर्णय गर्ने र फुर्सदमा पछुताउने हुन थालेको छ । मैले रानीपोखरी प्रकरणमा स्ट्यान्ड लिँदा डकुमेन्ट सबै जम्मा पारेको थिएँ । हचुवाका तालमा दौडन थाल्यो भने भोलिदेखि जनताले विश्वास गर्दैनन् । अहिलेको टिममा पाकोपना देखिएन ।

उपमेयर पनि राजनीति गरेर आउनुभएको होइन । स्वतन्त्रबाट उठ्ने तयारी गर्दै हुनुहुन्थ्यो । एमालेले टिकट दिएर जितायो । दुबै जना पढेलेखा हुनुहुन्छ । तर, पढेर होइन, परेर मात्रै जानिन्छ भनेझैँ उहाँहरूमा राजनीतिक संस्कारचाहिँ देखिएन । मेयर बालेन्द्र साह सिसडोल जानुभयो । तर, उहाँलाई त्यहाँका जनताले के घेरेका थिए र मलाई त्यसरी ¥याख¥याख्ती पारे ।

मैले त एक–एक जनासँग भेटेर उहाँहरूको कुरा सुनेका थिएँ । सिसडोलबासीको माग जायज छ । नेपाल सरकारले तीन वर्षका लागि फोहोरमैला व्यवस्थापन सम्झौता गरेकोमा १६/१७ वर्ष भइसक्यो । काठमाडौँमा दुई महिनादेखि फोहोर उठेको छैन । हामीलाई रोगले च्याप्न थालिसकेको छ । त्यहाँका जनताचाहिँ कसरी बसे होलान् ? त्यसतर्फ पनि सोच्नु जरुरी छ ।

काठमाडौँलाई सदैव पिरोलिरहने समस्या हो फोहोर–मैला । यसको दीर्घकालीन व्यवस्थापनका लागि तपाईंहरूको कार्यकालमा केही पहल भएन ?

– फोहोर मैला व्यवस्थापनमा संघ र प्रदेश सरकारको भूमिका हुन्छ । राष्ट्रपति, प्रधानमन्त्रीदेखि भीभीआइपीहरू बस्ने ठाउँ हो यो । उहाँहरूको पनि दायित्व हुन्छ । यो समस्या समाधानका लागि मेयरले मन्त्री र प्रधानमन्त्रीसमक्ष भेटेर आग्रह गर्नुपर्छ । केही बाधा छ भने फुकाउनुपर्छ । फोहोरबाट मोहोर बनाउनुपर्छ भनेर यसको जिम्मेवारी सबै नगरपालिका मातहत लिन लगानी बोर्डमार्फत प्रयास ग¥यौँ ।

मेरै संयोजकत्वमा तीन जना वडाध्यक्षसहितको समिति बन्यो र प्रतिवेदन पेश भयो । त्यसपछि के भयो जानकारी छैन । प्लास्टिकबाट ब्लक बनाउन सकिन्छ, काँडाबाट तार र फोहोरलाई अन्त्यमा कम्पोष्ट मल बनाउन सकिन्छ । यो प्रोजेक्टमा सहयोग गर्न जापान सरकार तयार थियो ।

तपाईं एउटा पार्टीबाट निर्वाचित उपमेयर, अर्कै पार्टीका मेयरसँग काम गर्नुप¥यो । कस्तो अनुभव रह्यो ?

– विकास निर्माणमा मैले कहिल्यै अवरोध गरिनँ । जहिले पनि मेयर, उपमेयर झगडा गरिराख्यो भने जनता निराश हुन्छन् । रानीपोखरीको सवालमा अलिकति अडान लिएँ । त्यहाँ कंक्रिटले स्वीमिङ पुलजस्तो बनाउने तयारी थियो । फेरि हरेक वर्ष ६÷६ करोडको पानी हाल्ने योजना बन्यो तर हाम्रो पुर्खाले चुना, सुर्तीले बनाएको ठाउँ हो रानीपोखरी । मेरै अडानका कारण शिखर शैलीले बन्यो ।

टुँडिखेलमा बसपार्क बनाउँदा मनोज भेटवालले ५१ वटा पसल राखेका रहेछन् । मेरै कर्मथलो, तर मलाई त्यसबारे केही थाहा छैन । तत्काल एक्शन लिनुपर्छ भनेर त्यहाँ डोजर लगाइयो । बागदरबारको इतिहास मेटाउने गरी बनाउन खोजिएको थियो । मेरै स्ट्याण्डका कारण रेट्रोफिट जडान गर्ने तयारी हुँदै छ ।

काठमाडौँ प्लाजाको हकमा मासिक ६० लाख भाडा तिर्न खोजिएको थियो । त्यो पैसाले त आफैँ नयाँ भवन बनाउन सक्छौं भनेर अडान लिएपछि त्यहाँबाट पनि ब्याक हुनुप¥यो । जनताले तिरेको करको सदुपयोग हुनुपर्छ भनेर स्ट्याण्ड लिएको हुँ ।

मेयरमा आफैं उठ्ने इच्छा जाहेर गर्नुभएको थियो । पछि सिर्जना सिंहका लागि भोट माग्दै हिँडेको देखियो । पार्टीले किन पत्याएन ?

– धेरै बेथिति हुने ठाउँबाट महानगरपालिकालाई बचाएको छु । महिलालाई प्रमुखमा नल्याएसम्म ती अघि बढ्न सक्दैनन् । क्षमता विकास पनि हुँदैन । अब मेयरमा उठ्छु भनेर पार्टीका सबैजसो नेतालाई भनेको थिएँ । भन्ने मेरो कर्तव्य थियो, भनेँ । मूल्यांकन पार्टीले गर्ने कुरा हो । निर्णय शिरोपर गर्नुपर्छ । आफूले मनपरी गर्न भएन ।

नेताका पत्नीलाई उठाइएकै कारण काठमाडौँ महानगरपालिका कांग्रेसले गुमाउनुप¥यो भन्नेहरू पनि छन् । कस्तो लाग्छ यस्तो सुन्दा ?

– काठमाडौँमा विवेकशील जनता नै बढी छन् । एमालेले केशव स्थापितलाई टिकट दियो । उहाँ जथाभावी बोलेर हिँड्नुभयो । मि टु लाग्यो । कलेजमा सभ्य ढंगबाट प्रस्तुत हुनुभएन । उहाँ पहिला मेयर हुँदा वडामा जितेको थिएँ मैले । त्यसबेला पनि आफैं जान्ने, सुन्ने हुनुपर्ने उहाँको स्वभाव ।

कसैको कुरा सुन्न नचाहने तर सल्लाह सबैको लिने तर निर्णय आफ्नो गर्ने हो । मेरो राजनीतिक यात्रा श्रद्धेय मंगलादेवीकै छत्रछायाँमा बसेर अगाडि बढेको । ऐतिहासिक र राजनीतिक पृष्ठभूमियुक्त महिला भएको कारण मैले सिर्जनालाई स्वतः स्वीकारें तर जनताले किन रुचाएनन् भन्ने मूल्यांकनचाहिँ पार्टीले नै गर्ने हो ।

उमपेयरसँग के–कस्ता अधिकार हुँदा रहेछन् ?

– अहिलेको उपमेयरलाई ४ वटा अधिकार दिइएको छ । ०५४ सालमा म पनि जनप्रतिनिधि थिएँ । त्यसबखत उपमेयरलाई केही अधिकार थिएन । मेयर देशबाहिर जाँदा उपमेयरले कार्यवाहकसम्म पाउँदैनथे । अहिलेको उपमेयरलाई प्रमुख सात दिनभन्दा बढी कार्यालयमा उपस्थित हुन नसके वा विदेश जाने स्थितिमा कार्यवाहक दिनै पर्छ । न्यायिक, राजश्व परामर्श, बजेट तथा तर्जुमा र अनुगमनजस्ता एकदमै प्रभावकारी समितिहरूको जिम्मेवारी उपमेयरसँग हुन्छ । उनीहरूलाई भ्याइ नभ्याइ हुन्छ ।

प्रमुखलाई विकास निर्माणको बजेट राख्दा जनताको समस्या सुनिदिए पुग्यो तर उपमेयरलाई ग्रासरुटमै गएर काम गर्ने अवसर छ । करको दायरा फराकिलो गर्ने, कर कम गर्ने मेरो लक्ष्य थियो । विज्ञ स्वर्णिम वाग्ले, पूर्णचन्द्र भट्टराईको राय सल्लाह लिएपछि करको विषयमा अन्यत्र लफडा हुँदा काठमाडौँमा कुनै समस्या देखिएन ।

यहाँको अनुगमन समिति असाध्यै प्रभावकारी छ । दसैंको मुखमा बजार अनुगमन गर्दा एउटा गोदाममा अखाद्य (मिति गुज्रिएका) खाद्यान्न भेटिएपछि सिल ग¥यौँ । जरिवाना असुल्यौं तर पैसा वाणिज्य विभागमा जाने रहेछ । हामी दुःख गर्ने, पैसाचाहिँ वाणिज्य विभागमा जाने भएपछि ऐन नै परिवर्तन गरे मात्रै महानगरपालिकाको खातामा आउने हो । अहिलेको मेयर, उपमेयरका लागि धेरै सजिलो छ काम गर्न ।

महानगरपालिका र गाउँपालिकालाई एउटै कानुन वा नियमले नियमन गर्न खोज्नु कत्तिको जायज हो ?

– कानुन बनाउनेप्रति मेरो वितृष्णा छ । महानगरपालिकालाई एउटा छुट्टै संरचनामा ल्याउनुपर्छ । न्यायिक समितिमा आउने अधिकांश कोठा भाडा र बाटोको समस्या तथा उजुरी धेरै आउने तर घरेलु हिंसा र जग्गा–जमिनका मुद्दा उति धेरै नआउने । त्यही कारण ऐन बनाउँदा नै काठमाडौँ उपत्यका र बाहिरका स्थानीय तहलाई छुट्टै ढंगले हेरिनुपर्छ । त्यसका लागि प्रदेश सरकारको मुख्यमन्त्री डोरमणि पौडेलसँग लबिङ गरेको हुँ मैले ।

महानगरपालिकामा एक्लो बालेन र बहुमतमा एमाले–कांग्रेस । कसरी काम गर्लान् ?

– एमालेका साथीहरु प्रमुखका ठूला गल्तीमा पनि मौन बस्ने अनि मेरो सानो गल्ती भेटे भने तिललाई पहाड बनाइहाल्ने । अहिले १९ जना कांग्रेस वडाध्यक्ष छन् । बालेनले प्रकाशमान सिंहलाई भेटेर फोहोरको विषयमा चिन्ता राख्नुभए मात्र पनि उहाँले एउटा वातावरण मिलाइदिनुहुन्थ्यो होला । फोहोर फाल्ने ठाउँका निम्ति नुवाकोटका नेतासँग सहकार्य गर्न सकिन्थ्यो होला ।

फोहोर व्यवस्थापनको काम सजिलो छैन । सहकार्यबिना उहाँ एक्लैले केही पनि लछार्न सक्नुहुन्न । काठमाडौँको सबैभन्दा ठूलो समस्या फोहोर नै हो । अहिले शान्ति बाटिकामा नेपालको राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा छ । त्यही झण्डा बोकेर सबैसँग मत माग्नुभयो तर सानो कुरामा पनि ध्यान दिन सक्नुभएन ।

पछिल्लो समय दलीय राजनीतिलाई स्वतन्त्रको नामले चुनौती दिने प्रयास भयो । यसको कारण के हुन सक्छ ?

– दल र उम्मेदवारप्रतिको वितृष्णा नै मुख्य कारण हो । जनताले खोजेको सुशासन, छिटो–छरितो सेवा, शिक्षा, स्वास्थ्य, रोजगार नपाएपछि सर्वसाधारणले स्वतन्त्र उम्मेदवारबाट केही रूपान्तरण होला कि भनेर हेर्न खोजेका हुन् । दलहरू अझै पनि सुध्रिएनन् भने स्वतन्त्र उम्मेदवारले जित्दै जान्छन् ।

मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन हुँदै छ । तपाईंको आकांक्षा केमा ?

– संघकै टिकटका लागि नेताहरूलाई भनिरहेको छु । पाँच वर्ष काठमाडौँ महागरपालिकाको उपमेयर चलाएर निस्कँदा कहीँ दाग लाग्न दिएको छैन । जसरी गएको छु, त्यसरी नै फर्किएको छु । गठबन्धनले गर्दा के हुन्छ थाहा छैन ।

कांग्रेसकै हेभिवेट नेता भीमसेनदास प्रधानको क्षेत्र र तपार्इंको क्षेत्र एउटै । टिकट पाउनुहोला त ?

– उहाँ तीन–तीन पटक सांसद र रक्षामन्त्रीसम्म बनिसक्नुभयो । अब हामीलाई अवसर दिनुपर्छ भनेर कुरा राखेको हुँ तर जवाफ दिनुभएको छैन । सकभर आफ्नै क्षेत्रबाट लड्न पाए राम्रो । नभए ७ नम्बर क्षेत्रबाट लड्छु वा संघमा पाइएन भने प्रदेशतर्फ जान्छु ।

संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिदिएको छ । तर, व्यवहारमा किन कार्यान्वयन गर्न सकिएन ?

– अहिले जनताले पुरुषभन्दा महिलालाई एकदमै विश्वास गरेका छन् । उपसभामुख पुष्पा भुसाल र उपमहासचिव डिना उपाध्यायहरूसँग भएको छलफलमा चित्रलेखा यादव, उमा रेग्मीलगायत नेत्री उपस्थित हुनुहुन्थ्यो । हामीले महिलालाई समानुपातिक नभई प्रत्यक्षमा टिकट दिनुपर्छ भन्ने विषयमा कुराकानी उठाइरहेका छौं ।

टिप्पणीहरू