राजा वीरेन्द्रमा श्रद्धासुमन

राजा वीरेन्द्रमा श्रद्धासुमन

राजदरबार हत्याकाण्ड (जेठ १९) बितेको पनि आज १९ वर्ष नाघेर २०औं वर्षमा छोइसकेको छ । तर अझै जनमानसमा घटनाको खुलदुली कायमै छ । दीपेन्द्र नै हत्याकाण्डका नायक थिए भन्ने कुरा कैयन् मानिस अझै मान्न तयार छैनन् । त्यस भीषण घटनापछि पनि मुलुकमा प्रेमीप्रेमिकासम्बन्धी त्यस्तै घटनामा ज्यान गुमाउनेको संख्या सयौं थपिसकेको तथ्यांकले बताउँछ । तर मानिसमा आफ्ना छोराछोरीको बिहे समयमा गरिदिनुपर्छ, उमेरमा बिहेबारीको कुरालाई अनदेखा गर्यो भने त्यसले कस्तोसम्म उग्र रुप लिन सक्छ भन्ने कुराको हेक्का कमै मात्रले राख्ने गरेको पाइएको छ ।

प्रकृतिको नियमानुसार समयमा मानवीय आवश्यकताको पूर्ति हुन नसक्दा अदृश्य रुपमा देखिने यस्ता खालका नतिजा भोग्न मानिस बाध्य हुनुपर्छ । समाजमा प्रेमीप्रेमिकाका कारण बारम्बार यस्ता घटना दोहोरिइरहे पनि मानवमा चेत खुल्न नसकेर हो वा नियतिले नै त्यस्तो बनाउने हो प्राकृतिक नीतिनियमलाई बेवास्ता गर्ने चलन समाजमा अध्यापि कायमै छ ।

आफ्नी सहोदर बहिनी श्रुति, काका ज्ञानेन्द्रका छोरा पारस र काका धीरेन्द्रकी छोरीको समयमै बिहे भइसक्दा पनि ३० वर्षको वयमा समेत युवराज दीपेन्द्रको बिहेको कुरामा दरबारले आनाकानी गरिरहनुले नै भविष्यमा राजदरबार हत्याकाण्डजस्तो एउटा युग नै हल्लिने खालको घटना हुन जाला भन्ने न राजा वीरेन्द्रले हेक्का राख्न सके न रानी ऐश्वर्यले नै, न कोही भाइभारदार वा न कोही राजप्रासादका उच्चपदस्थहरुले नै ।

मानिसमा यौनको कुण्ठाले कति जघन्य रुप धारण गर्न सक्छ भन्ने कुरा पंक्तिकारले शाहज्यादा पारसको हिमानीका साथ भएको शाही बिहे भोजमा निर्मल निवासमा देखेको थियो । डिनर लिने क्रममा अलि बढी नै मादक सेवनले अविवाहित युवराज दीपेन्द्रका दुवै आँखा निकै लाल देखिएका थिए । भोजस्थलमा क्याम्पफायर पनि गरिएको थियो । भोजको अन्त्यअन्त्यतिर युवराज दीपेन्द्रकै साथ पंक्तिकारसहित तीनचार जना सँगै थिए । सैनिक लिवासमा रहनुभएका युवराजको हातमा व्हिस्कीको ग्लास थियो । केही कुरामा गफ चलिरहेको थियो ।

एक्कै पटक युवराज ठूल्ठूला स्वरमा बडो उत्तेजनात्मक ढंगले कराउँदै क्याम्पफायर गरेको आगो बालिएको ड्र्ममाथिबाट ब्याकह्यान्डस्प्रिंग गर्न पुग्नुभएछ । एक छिन त सबै आश्चर्यचकित भए । महाराजाधिराज, बडामहारानी तथा अधिराजकुमार ज्ञानेन्द्रलगायत अर्कै पालमा रहनुभएको थियो । २ नं. पाल भएतर्फका पंक्तिकार, अंगरक्षक, फोटोग्राफर र सेफहरु युवराज, शाहज्यादा र शाहज्यादीका साथ फोटो खिच्ने तरखरमा थिए । त्यतिखेर मोबाइलमा फोटो खिच्ने र सेल्फी लिने प्रविधि आइसकेको थिएन । युवराजलाई फोटोका लागि आग्रह गरियो । बेहुला बेहुलीलाई बीचमा राखेर युवराजलाई प्रोटोकलको हिसाबले पहिलो नम्बरमा राख्ने पंक्तिकारको प्रयासविपरीत युवराजले दुई हातले उचालेर पंक्तिकारलाई १ नम्बरमा राख्नुभयो । फोटोग्राफर बैकुण्ठजी पनि बसेपछि फोटो खिच्न भूषण दाहालजीले सहयोग गर्नुभएको थियो ।

लाल लाल नेत्रका युवराज दीपेन्द्रले उचाल्दाको हातको शक्ति निकै कडा पंक्तिकारलाई महसुस भएको थियो । त्यो शक्तिमा पनि शायद युवराजको भित्री यौन कुण्ठा मिश्रित रहेको बुझ्न गाह्रो थिएन ।

भाइ पारसको बिहे भइसक्यो मेरो भा छैन, युवराज दीपेन्द्रको अन्तर्मनमा यो वाक्यांश अनवरत गुञ्जिरहेको दीपेन्द्रको पलपलका हाउभाउले बुझ्न सकिन्थ्यो ।

यस्ता कैयन् कुण्ठाजन्य क्रियाकलाप देखिइरहे पनि राजघरानाका यो वा त्यो किचलोले युवराज ३० वर्षको उमेरमा चढिसक्दा पनि आफ्नो जीवनसाथीबाट विमुख बनाइएको थियो । शाही परिवारले मानिआएको धर्मपरम्पराअनुसार पनि २५ वर्षलाई बिहेवारीका लागि उपयुक्त समयको रुपमा लिइन्थ्यो । हालैका दिनमा त प्रेमीप्रेमिकाबीच हुने विभिन्न वारदातमा संलग्न व्यक्तिहरुको उमेर २० को हाराहारी रहने गरेको समाचारमा देख्न पाइन्छ ।

अन्ततोगत्वा २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो दिन युवराज दीपेन्द्रको यौनकुण्ठाले विस्फोटको रुप लिन पुग्यो र विश्वमै दुर्लभ खालको हत्याकाण्ड राजदरबारभित्र भयो । एउटा राजाको वंशक्रम नै नाश हुने गरी कहालीलाग्दो घटना हुन पुग्यो । घटनापश्चात् अनेक शंकाउपशंका अनुमानअडकल बाहिर आए । देशी विदेशी घुसपैठले हत्याकाण्ड भएको, कतै तत्कालीन माओवादीले घटना गराएको, कतै दीपेन्द्रका नक्कली मुकुण्डो लगाएका बन्दुकधारीले हत्या गरेको, कतै ज्ञानेन्द्रले दाजुसहित सबैलाई मार्न लगाएको, कतै पारसले गोली हानेको, कतै विदेशी गुप्तचरहरुले घुसपैठ गराई हत्याकाण्ड मच्चाएको आदि इत्यादि बग्रेल्ती सतही काल्पनिक हल्लाहरु फैलिए, फैलाइए । तर वास्तविक धरातलको गहिरो पिँधमा पुग्ने मनोवैज्ञानिक अनुसन्धान भएको पाइएन ।

सत्यतथ्य पत्ता लगाउने नाममा कैयन् आयोग गठन भए, थरीथरी छानबिन समितिले सम्बद्ध व्यक्तिपिच्छे सोधपुछ गरे । तर निक्र्याेल यही नै हो भनेर चित्त बुझाउने काम कसैले गर्न सकेको छैन । मुलुकबाट राजतन्त्र हटिसकेपछि आएका गणतान्त्रिक व्यवस्थाका शासकहरुले समेत तत्कालीन राजदरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइछाड्ने घोषणा गर्दै हिँडेको पनि आज दशक बितिसकेको छ । तर खै त ?

बलियो शासकले चाहने हो भने सत्यतथ्य निकालेर आमजनमानसलाई सुसूचित गराउन असम्भव कुरा केही पनि छैन । राजदरबार हत्याकाण्डमा मारिएकाबाहेक घटनाका प्रत्यक्षदर्शीमध्ये सबै हालसम्म जीवित नै छन् । पूर्वराजपरिवारका ज्येष्ठ सदस्य पूर्व मुमाबडामहारानी रत्न वयोवृद्ध अवस्थामा दरबारको महेन्द्र मञ्जिलमा हुनुहुन्छ । पूर्व युवराज पारस, दीपेन्द्रले हानेको गोलीबाटै हातको बुढी औंला नै गुमाएका श्रुतिका श्रीमान् गोरखशम्शेर राणादेखि, घटनाबाट आत्तिएर नांगै खुटृा बाहिर निस्किएका धीरेन्द्रका ज्वाइँ राजीव शाही, फोक्सोमा गोली लागेको भनिएका तत्कालीन अधिराजकुमारी पूर्व रानी कोमललगायत थुप्रै पूर्वराजपरिवारका सदस्य एवम् शाही नातेदारहरु जीवित नै रहेको अवस्थामा अहिलेको समृद्ध सरकारले चाहने हो र इच्छाशक्ति राख्ने हो र आँट गर्ने हो भने सत्यतथ्य बाहिर ल्याउन कुनै आइतबार चाहिन्न ।

अहिलेको समृद्ध सरकारबाट राजदरबार हत्याकाण्डको सत्यतथ्य प्रकाशमा ल्याउने पूर्ण अपेक्षाका साथ दिवंगत श्रद्धेय राजा वीरेन्द्रलगायत सबैमा हार्दिक श्रद्धासुमन ।

टिप्पणीहरू