रुकुम घटना : घटनास्थल पुगेपछि थप छानबिन गर्दै समिति

रुकुम घटना : घटनास्थल पुगेपछि थप छानबिन गर्दै समिति

शुक्रबार जाजरकोट सदरमुकाम खलङ्गा पुगेर छानबिन सुरु गरेको गृह मन्त्रालयका सह सचिव नेतृत्वको पाँच सदस्यीय छानबीन टोली आईतबार रुकुम पश्चिमको सदुमुकाम पुगेर सोधपुछ आरोपतिहरुसँग सोधपुछमै व्यस्त रहेको छ ।

रुकुम पश्चिमको चौरजहारी–८, सोतीगाउँको भेरी नदी आसपासमा गत जेठ १० गतेका दिन पाँच जना युवक हताहती भएको घटनाको छानबीनको लागि उक्त टोलीले घटनास्थल, पीडित परिवार, घटनामा संलग्न व्यक्ति लगायतसँग छानबिनको काम गरेको छ ।

शुक्रबार उक्त टोलीले भेरी नदी किनारमा मृत फेला परेका जाजरकोटको भेरि नरपालिका वडा नं. ४ का नवराज बिक, सन्दिप बिक र गणेश बुढाका परिवारसँग भेट गरेको थियो । शनिबार उक्त टोलीले सम्बन्धित अन्य पक्षसँग जाजरकोटमा छलफल गरेपछि घटनास्थल र चौरजहारी नगरपालिका १ निवासी मृतक टिकाराम नेपालीको घरमा पुगेर सोधपुछ गरिसकेको छ ।

प्रहरीको विशेष टोली घटनास्थलमा

घटनास्थलमा प्रहरीको बिशेष टोली

उता घटना भएको स्थान रुकुम पश्चिममा पनि प्रहरीको विशेष टोली पुगेको छ । संघीय प्रहरी इकाई कार्यालय कर्णालीबाट एसएसपी पोषराज पोख्रेलको नेतृत्वको टोली रुकुम पश्चिमको चौरजहारी ८ सोती स्थित घटनास्थल पुगेर घटनाको जानकारी लिएको छ । जानकारी अनुसार, टोलीमा ५ जना अनुसन्धानमा विशेष दखल रहेका प्रहरी छन् । टोलीले घटना अनुसन्धानमा रुकुम पश्चिम प्रहरीको टोलीलाई विज्ञका रुपमा सहयोग गर्ने बताईएको छ ।

शनिबार घटनास्थल पुगेको उक्त प्रहरी टोली रुकुम पश्चिमको सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, डिएसपी लयागतसँग आएको थियो भने यता जाजरकोटबाट कर्णाली प्रदेशका डिआईजि बसन्त पन्त, जाजरकोटका प्रमुख जिल्ला अधिकारी लगायतको सुरक्षा अधिकारीहरुको टोली बिच घटनास्थलमा भेट भएको हो । उक्त टोलीले गाउँलेहरुले युवाहरुलाई आक्रमण गरेको स्थान, नवराज बिकको शव भेटिएको स्थान समेतको निरिक्षण गरेको छ ।

जानकारी अनुसार, उक्त टोलीले उक्त घटनामा परेर घाईते भएका, पौडेर बाँच्न सफल भएका तीन जना युवकलाई पनि उक्त घटनाबारे पुरा विवरण दिन भन्दै साथमै ल्याएको थियो । ती युवाहरुले उक्त दिन भएको एकएक विवरण टोललाई जानकारी गराएका छन् । युवाहरुको टोली कहाँसम्म पुगेको थियो ? गाउँलेहरुको आक्रमण कहाँनेरबाट सुरु भएको थियो ? भेरिमा हाम फालेर बाँचेकाहरुले कहाँनेरबाट हाम फाले ? दौडदै जाँदा अरु को को साथमा थिए ? ढुंगामुढा गर्नेहरुले संख्या र अभिव्यक्ति लयागतका बिषयमा घटनास्थलै उनीहरुले टोलीलाई जानकारी गराएका छन् ।

घटनास्थलको निरिक्षण पश्चात प्रहरीको बिशेष टोली ईलाका प्रहरी कार्यालय चौरजहारी पुगेको थियो भने र मृतकका परिवारसँग सोधपुछ गरेर जाजरकोटबाट आएको छानबिन टोलीको भेट चौरजहारी प्रहरीमै भएको थियो । दुबै टोलीले संयुक्त रुपमा चौरजहारी १ लामिछाने गाउँ मृतक टिकाराम नेपालीको घरमा पुगेर उनका बुवाआमासँग सोधपुछ गरेको छ । दिउँसो ३ बजे मृतक टिकारामको घर पुगेको सयुक्त टोलीले ईलाका प्रहरी कार्यालय रुकुम पश्चिम पुगेर घटनाको बारेमा थप जानकारी लिएको छ । शनिबारनै उक्त टाली जेठ १० को घटनास्थल हुदै रुकुम पश्चिमको सदरमुकाम मुसिकोट फर्किएको थियो । शनिबार राति मुसिकोटको होटेल यशियनमा उक्त टोली पुग्दा रातको १० बजिसकेको थियो ।

घटनास्थलमा प्रहरीको बिशेष टोली

घटनास्थलमा प्रहरीको बिशेष टोली

आईतबार बिहानै देखी उक्त टोलीले घटनामा संलग्न भनिएका आरोपितहरुसँग बयान लिन नै व्यस्त रहेको बुझिएको छ । बिहानभर मृतकका तर्फबाट किटानी जाहेरी दिई पक्राउ गरेका केहि व्यक्तिहरुसँगै सोधपुछ गरेको छानबिन टोलीले जिल्ला प्रहरी कार्यालयमै खाना खाएर फेरि अनुसन्धानको कामलाई निरन्तरता दिएको छ ।

मंगलबार घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव रहेको समिति गठन गरिएको थियो । गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समितिले उक्त अनुसन्धानलाई तिब्र पारेको छ ।

जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली भागी विवाहका लागि गत शनिबार रुकुम पश्चिम स्थित चौरजहारी ८ सोती पुगेको बेला स्थानीयको आक्रमणमा परी ५ जनाको ज्यान गएको छ भने भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

पीडित परिवारले चौरजहारी ८ का वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरुलाई १० दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ । मृतक पाँच जनाको पोष्टमोर्टम गरिसकिएको छ तर, रिपोर्ट भने आइसकेको छैन ।

घटनास्थलमा प्रहरीको बिशेष टोली

टिप्पणीहरू