तानसेनका निवर्तमान मेयर,उपमेयरसहित डेढ दर्जनले एमाले छाडे,भैरहवातिरका राप्रपामा पस्दै

तानसेनका निवर्तमान मेयर,उपमेयरसहित डेढ दर्जनले एमाले छाडे,भैरहवातिरका राप्रपामा पस्दै

बैशाख ३० गतेदेखि निवर्तमान एमालेबाट तानसेन नगरपालिका (पाल्पा)का मेयर,उपमेयरसहित डेढ दर्जन बढी नेता,कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

हिजो भगवती जात्राको दिनदेखि पूर्व मेयर अशोककुमार शाही र उपमेयर लक्ष्मीदेवी पाठकलगायत २० जनाको टोलीले एमाले छाडेको हो । नेपालको कम्युनिस्ट आन्दोलनको रक्षार्थ एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको उनीहरूको भनाइ छ ।

संविधानले अङ्गीकार गरेको मार्ग विपरीत पार्टी हिँडेको र वैचारिक तथा लोकतान्त्रिक मूल्य,मान्यतालाई तिलाञ्जली दिएर आफ्ना आसेपासेलाई मात्रै लाभको पदमा पुर्‍याउने प्रवृत्ति बढेको भन्दै पार्टी परित्याग गरेको उनीहरूले जनाएका छन् ।

शाही भन्छन्-‘सत्तामा मात्र नभई पार्टी नेतृत्वमा समेत चाकडी र दलालीकरणलाई संस्थागत गर्ने प्रवृत्ति हुर्किरहेको छ। एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा विपरीत नेतृत्व स्वेच्छाचारी र व्यक्तिवादी ढङ्गले चल्न थालेको,पार्टीका नीति, सिध्दान्त,विचार र पध्दति कुल्चिने काम भएको छ ।”

नेतृत्वको अदूरदर्शिताका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह,अवरोह खेप्नु परेको भन्दै कम्युनिष्ट आन्दोलनको रक्षार्थ २०७९ भदौ ४ गतेबाट एमालेको कुनै पनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको स्वघोषणा गर्दछौँ।,’ टोलीको भनाइ छ ।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूमा मेयर शाही,उपमेयर पाठकलगायत कार्यपालिका सदस्यहरू भीमबहादुर कुमाल,शिव थापा,बिनिता लुइँटेल, सुजेन्द्र कार्की,बुधे सार्की, कृष्णबहादुर केसी,लक्ष्मण कार्की रहेका छन् ।

त्यस्तै,मधु कार्की,विनोद लुइँटेल, कृष्णकुमारी केसी,माधवप्रसाद पाठक,केशवप्रसाद घिमिरे,कृष्णप्रसाद पाठक,उमेश घिमिरेलगायत २० जना रहेको बताइएको छ । उता भैरहवाका केही एमाले कार्यकर्ता भने राप्रपामा जाने तयारी भैरहेको बताइएको छ ।

टिप्पणीहरू