प्रहरीको संरक्षणमा तस्करीको भारतीय माछा भर्खरै कालिमाटीमा,बेलुका पार्टी प्यालेसका भान्छामा

प्रहरीको संरक्षणमा तस्करीको भारतीय माछा भर्खरै कालिमाटीमा,बेलुका पार्टी प्यालेसका भान्छामा

सुरक्षाकर्मीकै संरक्षण र सेटिङमा भएको भारतीय माछा तस्करीका सवारी साधन राजधानी काठमाडौं पुगेका छन् । नवलपरासी हुँदै रातारात ल्याइएका ती माछा बोक्ने गाडी बर्दघाटबाट हिजो साँझ साढे ६ बजे काठमाडौंको लागि प्रस्थान गरेका हुन् ।

तस्करीको माछा बोकेका सवारी साधन चितवन र धादिङ हुँदै आज बिहान कालिमाटी आइपुगेका छन् । ती गाडीका नम्बर Lu 3 cha 6360,Ba pra 3001cha 0687 र Ba pra 3001cha 0769 हुन् । अनआस्थाले अस्ति दिउँसो र साँझ ‘प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी,गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । काठमाण्डौदेखि नजिकको भारतीय सीमाना परासी पर्ने भएकाले तस्कर तथा व्यापारीहरुले सो क्षेत्रको भुजहा नाकाबाट यसको खुलमखुल्ला कारोबार गरेका हुन् । छ महिनादेखि यसरी माछा तस्करी मौलाएको स्रोतको दाबी छ ।

काठमाडौंका व्यापारीको मागअनुसार भारतको कलकत्ताबाट पंगास (बैखी) माछालाई रेलबाट गोरखपुर ल्याउने र गोरखपुरबाट उक्त माछा स्थानीय किसमिस भनिने सर्फराज हसनले नेपाल भारत सीमानाको नवलपरासीस्थित भुजहा बजार पारिको लक्ष्मीपुरसम्म ल्याउने गरेका छन् । त्यसपछि पारीका सलिम खानद्वारा कार्टुनमा प्याक गरिएका माछा नेपालको भुजहा बजार ल्याएर स्टोर गरिन्छ । स्टोर गर्नुअघि भुजहा सीमा प्रहरी चौकीका नायव निरीक्षक बलबहादुर घर्तिमगरले चाँजोपाँजो मिलाएको स्रोत बताउँछ ।

त्यहाँबाट राति ८ देखि १० बजेको समयमा ती माछाको कार्टुनलाई पिकअपमा लोड गरिन्छ र गोपीगञ्ज पुर्याइन्छ । त्यहाँ उनीहरुले स्थानीय फर्ममा उत्पादित माछाको नक्कली बिल बनाउँछन् । किर्ते भेटनरी प्रमाणपत्र र अनलाइन बिलसमेत तुरन्तै बनाइन्छ । ती कागजात बनाएलगत्तै भारतीयबाट नेपाली उत्पादन बनेको माछा स्थानीय कन्हैया केवट र लिम्बे क्षेत्रीले आफ्नो जिम्मामा लिन्छन् ।

त्यसपछि माछालाई काठमाडौंसम्म लैजानुअघि जिल्ला प्रहरी कार्यालय परासीका एसपी ऋषिराम कँडेलका घुमुवा प्रहरी शिवशंकर ठाकुरले बर्दघाटसम्मको लाइन सेट गराएका छन् । माछा बोकेको गाडीलाई अघि बढ्न कोड भाषामा जनाउ दिइन्छ । यसरी सबै कुरो मिलेपछि नवलपुर, चितवन,धादिङ हुँदै एकाबिहानै कालिमाटी तरकारी बजारमा आइपुगेको छ ।

कालिमाटीमा रहेका माछाका ठूला व्यापारी मानिने रामबाबु यादवको कुशेश्वर माछा पसल,न्यू फिस हाउस र सुभानको ताज माछा पसलमा कार्टुन झारिएको छ । त्यहाँबाट ४/५ दिन पुरानो,मान्छेको लाश नसड्न प्रयोग गरिने (फर्मालिन) हालिएका पंगास माछा उपभोक्ताका घर,रेष्टुरेन्ट,पार्टी प्यालेसमा आजै साँझसम्म पुग्ने बताइन्छ । उता हिजो दिउँसोदेखि आज बिहानसम्म नाका नाकामा र व्यक्तिका गोजीमा माछाको भाग पुर्याइसकिएको छ ।

टिप्पणीहरू