शीतल निवासमा अचानक मदनको सन्दर्भ

शीतल निवासमा अचानक मदनको सन्दर्भ

देश चलाउने मुलीहरू एक ठाउँमा हुँदा के कुरा गर्लान् ? स्वाभाविक जवाफ हुन्छ – मुलुकको विकास, सम्बृद्धिका लागि चिन्तनसँगै राज्य सञ्चालनका नीतिगत विषयमा गम्भीर विमर्श हुन्छ ।

तर, हालैको एउटा भेटमा संवैधानिक राष्ट्रपतिले कार्यकारी प्रमुखसँग एउटा प्रतिष्ठानका लागि बजेट मागेको खुलासा भएको छ । संघीय संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले लामो समय रोकेर राखेको सन्दर्भमा शनिवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो ।

उक्त भेटवार्तामा राष्ट्रपतिले तत्कालीन एमाले महासचिव स्वर्गीय मदन भण्डारीको नाममा खोलिएको ‘मदन भण्डारी फाउण्डेसन’लाई बजेट छुट्याइदिन आग्रह गरेको प्रधानमन्त्री आफैँले खुलासा गर्नुभएको हो । नागरिकता विधेयकमा राष्ट्रपतिले खेलेको भूमिकाबारे कुराकानी हुँदै गर्दा आइतबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्रीले यो कुरा चुहाएपछि त्यसबारे केहीबेर गन्थन भएको बैठक स्रोतले जानकारी दिएको छ ।

त्यहाँ गठबन्धनका एक नेताले प्रधानमन्त्रीलाई सोधेका थिए– ‘हिजो राष्ट्रपतिज्यूसँग के कुरा भयो ?’ भूमिका नबाँधी सिधा कुरा गर्ने स्वभावका प्रधानमन्त्रीले भन्नुभयो, ‘मदन भण्डारी फाउण्डेसनका लागि बजेट माग्नुभयो !’

त्यसपछि अर्का नेताले जिज्ञाशा राखे, ‘नागरिकता विधेयकबारे कुरा भएन ?’ प्रधानमन्त्रीले भन्नुभयो, ‘शुरुमै मदन भण्डारी प्रतिष्ठानका लागि बजेट दिनुप¥यो भन्नुभयो । मैले नागरिकता विधेयकमा लालमोहोर लगाउनु भएन नि भनेर सोध्दा यसबारे विचार गर्दै छु भन्ने जवाफ आयो । मलाई लाग्छ उहाँ फिर्ता गर्ने मुडमा हुनुहुन्छ ।’ नभन्दै साँझ विधेयक फिर्ता भयो ।

एमाले नेतृत्वको सरकारका पालामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मदन भण्डारी विश्वविद्यालयका लागि क्याबिनेटबाट निर्णय गरेर सिधै पाँच करोड विनियोजन गर्नुभएको थियो । त्यसअघि पनि शिक्षा मन्त्रालयमार्फत त्यति नै रकम छुट्ट्याइएको थियो ।

जानकारहरूले बताएअनुसार फाउण्डेसनको नाममा मूलपानीमा जग्गा छ । त्यहाँ ल्याण्ड डेभलपमेन्ट र कलेजको भवन निर्माणका लागि भनेर पौडेलको आग्रहमा त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीले बजेटको तारतम्य मिलाएका थिए । उन ले अर्थ मन्त्रालयका कर्मचारीलाई भनेर टिप्पणी सदर गरी आएको प्रस्ताव क्याबिनेटले पास गरेर रकम पठाइएको हो ।

फाउण्डेसनका लागि बजेट छुट्याउन अप्ठेरो परेपछि त्यतिबेला क्याबिनेटले विशेष निर्णय गरेको बताइन्छ । यसपटक बजेटमा नपरेकाले असन्तुष्टिस्वरूप राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग सिधै रकम मागेको कतिपयले अनुमान गरेका छन् । त्यही बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि गरेको कटाक्षपूर्ण टिप्पणी पनि गठबन्धनभित्र चर्चामा छ । बताइएअनुसार केही नेताले महन्थ ठाकुर र बाबुरामलाई पनि गठबन्धनमा मिसाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

तर, बाबुरामको प्रसंग आउनेबित्तिकै रामचन्द्र पौडेलको गुनासोमिश्रित असन्तुष्टि आइहाल्यो । अघिल्लो चुनावमा गोरखामा कांग्रेसको भोटले जितेर लगत्तै कांग्रेसकै खेदो खनेको गुनासो गर्दै पोख्रेलले भन्नुभयो, ‘कांग्रेसले जिताइदियो तर जिताएकै भोलिपल्ट हामीलाई गाली गर्न थाल्नुभयो !’

टिप्पणीहरू