पहिलेका नेतालाई लोकतन्त्र प्यारो, अहिलेकालाई सिट प्यारो

पहिलेका नेतालाई लोकतन्त्र प्यारो, अहिलेकालाई सिट प्यारो

-विराट अनुपम

केपी शर्मा ओली र प्रचण्ड वा देउवा र ओलीबीच प्रतिस्पर्धा हुने कुरा सुन्दा कस्तो रोचक लाग्छ । तर, यो सम्भावना छैन । अरु त अरु एकै जिल्ला चितवनका प्रचण्ड र सुरेन्द्र पाण्डे भिड्ने कुरा पनि अकल्पनीय लाग्छ । झापाकै केपी ओली र कृष्ण सिटौला वा विश्वप्रकाश शर्माबीच चुनावी प्रतिस्पर्धाको सम्भावना हुन्न । युवा नेतामा गगन थापा र रामकुमारीको प्रतिस्पर्धा त झन् अहिलेको अवस्थामा हुन सम्भवै देखिँदैन ।

बाबुराम र नारायणकाजीलाई भिडाउने प्रचण्ड कदमलाई अपवाद मान्ने हो भने नयाँ संविधान बनेपछि नेताहरूलाई हेभिवेट प्रतिस्पर्धामा उत्तिसारो इच्छा देखिन्न । तर, इतिहास हेर्ने हो भने हेभिवेट भिडन्त २०१५ को पहिलो आमनिर्वाचनबाटै शुरु भयो । भिडेका थिए गणेशमान र पुष्पलाल । जित गणेशमानको भएको थियो । दोश्रो आमनिर्वाचन ०४८ सालमा फेरि मदन भण्डारी र कृष्णप्रसाद भट्टराई भिड्दा जित भण्डारीको भयो ।

तर, पछिल्लो अवस्थामा उच्च तहको स्टेयरिङ समातिरहेकाहरूले भने हेभिवेट भिडन्तलाई प्राथमिकता दिएका छैनन् । यसो गर्नुको मुख्य उद्देश्य जसरी पनि चुनाव जित्ने रणनीतिले घर गर्नु हो । विपक्षी बलियो नेतासँग भिड्ने त परै जाओस् तिनैसँग सेटिङ गरेर कमजोर उम्मेदवार उठाउने लाइन धेरै नेताको देखिन्छ । यो लाइन खासगरी दोस्रो जनआन्दोलनपछि व्यापक भएको हो । खास खास नेता जिताउन कमजोर उम्मेदवार उठाउने वा बलपूर्वक जिताउने कुरा दोश्रो संविधानसभामा चलेकै हो ।

आखिर नेताहरूलाई यस्तो लाइनमा किन जाँगर चलेको होला ? किनभने लोकतन्त्रको लागि चुनाव लड्ने जमाना कम्तीमा अहिलेको राजनीतिमा रहेन । सिद्धान्तको लागि चुनाव लड्ने, जनतामा आफ्नो मुद्दा लाने समय पनि रहेन । भीडको पछि नलागेर भिजनको पछि लाग्ने फुर्सद कसलाई ? गणितको जोडजाड गरेर जसरी पनि जित्ने ग्रन्थीको जमाना हो अहिले । यदि, यसो हैन भने कुनै बेला केपी ओलीलाई मधेशविरोधी करार गर्ने दलहरू उनीसँगै तालमेलको संवादमा आउँदैनथे । अनि झापामा वामपन्थीलाई पेलान गरेका पञ्चहरूसँग एमालेको झापाली समीकरण हुँदैनथ्यो ।

चुनाव जित्नैको लागि केही हप्ताअगाडि वामपन्थी एकता कार्यक्रममा सहभागी भएका बाबुराम भट्टराई कांग्रेसी मतको समर्थनमा उठ्दैनथे । माओवादीले १० वर्षको युद्धमा वर्गशत्रु करार गरेको कांग्रेससँगैको मिल्तीमा यही चुनाव जित्ने ग्रन्थीले काम गरेको छ । घरी कांग्रेस, घरी एमालेसँग यताउता गरिरहने प्रचण्डको राजनीतिक कोर्सको जार जसरी पनि गणित मिलाएर सत्ताकै वरिपरि हुने मनोग्रन्थी मुख्य कारण हो ।

जसरी पनि जित्नै पर्ने चुनावदेखि चुनावसम्मको राजनीतिक राजमार्ग भएपछि जुन विचार, सिद्धान्त हो त्यही क्षेत्रकासँग मात्रै मेलमिलापको सम्भावना स्वतः नहुने भयो । अहिले नेपालमा भएको त्यही हो । सबैलाई चुनाव जित्नु छ । पुष्पलालदेखि मदन भण्डारीलाई आफू जित्नै पर्ने थिएन । त्यसैले उनीहरू जोखिम लिएर चुनावी मैदानमा आए । जित र हार स्विकारे । गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईलाई आफ्नो सिट सुरक्षाको चासो कम थियो । लोकतन्त्रको मजबुतीको चिन्ता बढी थियो । त्यसैले उनीहरू हेभिवेट भिडन्तबाट भागेनन् ।

अहिले यो अवस्था कल्पनाभन्दा बाहिर छ । बेलाबेला आउने राजनीति लहरले हेभिवेट नेता सामान्य नेताबाट पराजित हुनेबाहेक शीर्ष नेताहरू चुनावमा भिडेको दृश्य अब दुर्लभ छ । पहिले दुर्लभ थिएन । किनभने पहिलेका नेतालाई लोकतन्त्र जोगाउनु थियो । अहिलेकालाई सिट जोगाउनु छ । सिटै जोगाउनु थिएन भने पटक–पटक प्रधानमन्त्री भएकाहरू किन सांसद हुन अरू नै पार्टीको चुनाव चिह्नअन्तर्गत मरिहत्ते गर्छन् ? प्रधानमन्त्री त परै जाओस् संसदीय दलको नेता हुने सम्भावना नभएका पूर्वप्रधानमन्त्रीहरूलाई पनि किन संसद् भवन छिर्ने तिर्खा ज्यादै छ ? कतै श्रीलंकाको सदनमा एक सिट मात्रै भएका रनिल बिक्रमासिंघेले प्रधानमन्त्री र राष्ट्रपति बन्ने मौका पाएजस्तै काकताली कुर्ने मानसिकता भएकाहरूलाई यस्तो लोभ भएको हुन सक्छ ।

आफ्नै दललाई धोका दिने नेताहरू भएका पार्टीका कार्यकर्ता र समर्थकले चाहिँ सधँै दलहरूलाई नै मान्छन् भन्ने हुन्न । त्यो नहुने स्वतन्त्रहरूको जितले पनि देखाइसकेको छ । यही धरातलीय यथार्थलाई मनन गरेर दलहरूले अब पुष्पलाल, गणेशमान, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीहरू जस्तै आफू जित्ने हैन लोकतन्त्र जिताउन चुनावी अभियानमा लगाउनु श्रेयष्कर हुन्छ । यसले लोकतन्त्र मजबुत हुन्छ । पत्यारिलो हुन्छ ।

टिप्पणीहरू