प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी, गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङ

प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी, गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङ

तराई क्षेत्रमा किसानले उत्पादन गरेको माछाको मूल्य प्रतिकिलो दुई सय ५० देखि तीन सयमा झरेको छ । भारतीय माछाले नेपाली बजार कब्जा गरेपछि नेपाली माछा किसान तथा व्यवसायी मर्कामा परेका छन् । सरकारले भारतीय माछा आयातमा भन्सार वृद्धि र कडाई गरेसँगै यसको तस्करी मौलाएको छ ।

पश्चिम तराईको नवलपरासी जिल्लामा अहिले निर्वाध रुपमा माछा तस्करी भइरहेको छ । काठमाडौदेखि नजिकको भारतीय सीमाना परासी पर्ने भएकाले पनि तस्कर तथा व्यापारीहरुले सो क्षेत्रको भुजहा नाकाबाट यसको खुलमखुल्ला कारोबार गरिरहेका हुन् । पछिल्लो छ महिनादेखि माछा तस्करी मौलाएको परासीबासी बताउँछन् ।

यसरी ल्याइन्छ भारतबाट माछा

काठमाडौंका व्यापारीको मागअनुसार भारतको कलकत्ताबाट पंगास (वैखी) माछालाई रेलबाट गोरखपुर ल्याइन्छ । गोरखपुरबाट उक्त माछा स्थानीय किसमिस भनिने सर्फराज हसनले नेपाल भारत सीमानाको नवलपरासीस्थित भुजहा बजार पारिको लक्ष्मीपुरसम्म ल्याउँछन् । त्यसपछि पारीका सलिम खानले कार्टुनमा प्याक गरिएका माछा नेपालको भुजहा बजार ल्याएर स्टोर गर्छन् । स्टोर गर्नुअघि भुजहा सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बलबहादुर घर्तिमगरले चाँजोपाँजो मिलाउने गरेको बताइन्छ ।

त्यहाँबाट राति ८ देखि १० बजेको समयमा ती माछाको कार्टुनलाई पिकअपमा लोड गरिन्छ र गोपीगञ्ज पुर्याइन्छ । त्यहाँ उनीहरुले स्थानीय फर्ममा उत्पादन भएको माछाको नक्कली बिल बनाउँछन् । किर्ते भेटनरी प्रमाणपत्र र अनलाईन बिलसमेत तुरन्तै बनाइन्छ । ती कागजात बनाएलगत्तै भारतीयबाट नेपाली उत्पादन बनेको माछा स्थानीय कन्हैया केवट र लिम्बे क्षेत्रीले आफ्नो जिम्मामा लिन्छन् ।अब माछालाई काठमाडौंसम्म लैजानुअघि जिल्ला प्रहरी कार्यालय परासीका एसपी ऋषिराम कँडेलका घुमुवा प्रहरी शिवशंकर ठाकुरले बर्दघाटसम्मको लाईन सेट र क्लियर गर्छन् । माछा बोकेको गाडीलाई अघि बढ्न कोड भाषामा जनाउ दिन्छन् । ती माछालाई नवलपुर, चितवन, धादिङ हँुुदै एकाबिहानै कालिमाटी तरकारी बजारमा पुर्याइन्छ ।

त्यहाँ रहेका माछाका ठूला व्यापारी मानिने रामबाबु यादवको कुशेश्वर माछा पसल, न्यू फिश हाउस र सुभानको ताज माछा पसलमा ती कार्टुन राखिन्छ । त्यहाँबाट ४÷५ दिन पुरानो, शव नसड्न प्रयोग गरिने (फर्मालिन) हालिएका पंगास माछा उपभोक्ताका घर तथा रेष्टुरेन्टहरुमा सजिलैसँग जान्छन् ।

राजधानीसम्मको फिस च्यानल

भारतबाट तस्करी गरिएको, आइस बक्सभित्र राखेर फर्मालिन हालेका माछा, पूर्व–पश्चिम राजमार्गका तीन वटा प्रदेश र पाँच वटा जिल्लाका सुरक्षा नाका र तीन वटा क्वारेन्टिन छलेर काठमाडौंका बजारसम्म चानचुने पहुँचले पुग्दैन । यी सबैको सेटिङ्ग ठेक्का इरफानले गर्ने बताइएको छ ।

विगतमा भन्सार एजेण्ट काम गर्दै आएका इरफानले परासी प्रहरी, नवलपुर प्रहरी, चितवन प्रहरी तथा धादिङसम्म मासिक लाइन बुझाउने गरेको स्रोतको दाबी छ । इरफानले एसपी ऋषिराम कँडेलकै सहयोगमा चितवनका एसपी नवराज अधिकारीलाई समेत मिलाएर विगतमा भएका अवरोध समेत हटाउन लगाएको धेरैले थाहा पाइसकेका छन् ।

एसपी कँडेल एक महिनाअघि मात्रै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु गुप्तासँग मिलेर एक जना भारतीय नागरिकलाई लागूऔषधमा फसाएको आरोपमा मुछिएका छन् । प्रहरी स्रोतका अनुसार जिल्लाबाट भइरहेको माछा र खसी तस्करीका लागि एसपी कँडेलले आफ्ना विश्वासिला पात्र सई बल बहादुरलाई भुजहा नाका खटाएका हुन् । कँडेलले लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्यायको नाममासमेत माछा र खसी तस्करहरुबाट मासिक तीन लाख बुझाउनुपर्ने भन्दै उठाउने गरेको व्यापारीको गुनासो छ ।

तस्बिर : नवलपरासीको भुजहा नाकामा स्टक गरेर राखिएका भारतीय माछाका कार्टुनहरु । यी माछा आज राति काठमाडौं लैजान ठिक्क पारिएको हो ।

टिप्पणीहरू