केपी ओलीले राप्रपालाई दिनुपर्ने कोटा

केपी ओलीले राप्रपालाई दिनुपर्ने कोटा

चुनावमा ‘भ्यागुताको धार्नी’ बोकेर हिँड्दा पुगिन्छ कहाँ ? राजेन्द्र लिङ्देन र कमल थापासहितको राप्रपा र एकनाथ ढकालको परिवार दल एवं हृदयेश त्रिपाठीको जनता प्रगतिशीलसँग तालमेल गर्ने एमालेको नीतिलाई लिएर नेताहरू यस्तो चिन्ता गर्न थालेका छन् । ओलीका खास मानिने बाजुरेली नेता कर्ण थापाले त भने नै, ‘असैद्धान्तिक, अपवित्र, अनमेल तालमेल गर्दैनौँ !’ उनले त्यसो भनेलगत्तै केपी ओलीको तर्फबाट सुवास नेम्वाङ र राजेन्द्र लिङ्देनको तर्फबाट बुद्धिमान तामाङबीच तालमेलको विषयमा हालै प्रारम्भिक छलफल भएको छ । त्यसपछि राप्रपाले ‘जिताउनैपर्ने’ उम्मेदवारका नाम तय गर्दै छ ।

०७४ मा प्रत्यक्षको एक सीट र समानुपातिकमा शून्य भएको त्यही राप्रपालाई अहिले प्रत्यक्षतर्फ कम्तिमा २० सीट नभई भएन । झापामा राजेन्द्र लिङ्देन, धादिङमा बुद्धिमान धादिङ, चितवनमा विक्रम पाण्डे, बाँकेमा धवलसमशेर राणा, परासीमा ध्रुवबहादुर प्रधान, मकवानपुरमा दीपक सिंह, जुम्लामा ज्ञानेन्द्र शाही, कालिकोटमा कुन्ती शाही, मोरङमा रेखा थापा उठ्ने तयारी छ । तालमेल गर्दा यीसहितका २० सीट एमालेले लिङ्देन राप्रपालाई छोड्नुपर्ने हुन्छ ।

कमल थापातिर सात सीटको पुरानै समझदारी छँदै छ । अप्ठेरोमा चाहिँ स्वयं कमल थापा छन् । उनले चुनाव लड्ने मकवानपुरमै लिङ्देनतिरका दिपक सिंह बलिया दावेदार हुन् । तालमेलमा भाग नपरे पनि उनी उठ्ने निश्चित छ । मेयरमा उठ्दा मीना लामालाई निक्कै अप्ठेरो पार्ने उनका कारण त्यहाँको चुनावी गणित तलमाथि हुने निश्चित छ । त्यहीँबाट एमालेले कमल थापालाई नउठाउँदा रामेश्वर राना वा मेयरमा हार्ने अनन्त पौडेल उठ्छन् । एकीकृत समाजवादीका विरोध खतिवडा सत्ता गठबन्धनबाट उठ्ने तयारी सम्भावना बढी छ । भएन भने कांग्रेसका इन्द्र बानियाँ त्यही क्षेत्रका हुन् । यस्तो हेभिवेट क्षेत्रमा कुरा कसरी मिल्छ ? भन्न सकिँदैन ।

यसअघि राष्ट्रियसभा निर्वाचन क्रममा लिङ्देनपक्षीय राप्रपाले एमालेसँग प्रदेश १ मा एउटा सदस्य मागेको थियो । उक्त प्रदेशको गाउँपालिकामा तीन अध्यक्ष, एक उपाध्यक्ष, प्रदेशसभाको एक सदस्य राप्रपासँग थियो । पाँच जना आफ्नैसहित कांग्रेसका दुई अध्यक्ष मिलेका थिए । तर, कांग्रेस मिलेको छ भनेर एमालेलाई भन्न मिल्दैनथ्यो । यदि राप्रपाको कुरा मानेको भए दुईटा एमालेले, एउटा राप्रपाले जित्थ्यो । तर, एमालेले देशभरिमा त्यही प्रदेशबाट अल्पसंख्यक तथा अपांगता कोटामा एक सीट जित्यो ।

वार्ताको क्रममा उसले एमालेलाई भनेको छ, ‘हिजो टाउको काट्ने माओवादी र टाउको काट्नेको मूल्य तोक्ने कांग्रेसबीच गठबन्धन हुन्छ भने राप्रपा र एमालेबीच किन नहुने ?’ उनीहरूको दावी छ, स्थानीय चुनावमा पनि लिङ्देन पक्षसँग तालमेल गरेको भए एमालेले १२ देखि १५ स्थानीय तहमा बढी जित्थ्यो । त्यसमध्ये एउटा पोखरा नै हो । बुद्धिमानले सुवासलाई सुनाए, ‘मेयर एमालेले जित्थ्यो, राप्रपाले केही वडा जित्थ्यो ।’

अरुसँग कुरा नमिलेपछि केपी ओलीसँग धवलसमशेरले सीधै नेपालगञ्जमा वार्ता गरे । तर, त्यहाँ पनि कुरा मिलेन । फेरि राप्रपाभित्रैको समीकरण पनि उस्तै अप्ठेरो छ । पार्टीको १ सय ४९ सदस्यीय केन्द्रीय कमिटीका निम्ति चुनाव हुँदा आठ पदाधिकारीमध्ये साढे पाँच कमल थापाका, साढे दुई लिङ्देनका आए ।

धवलसमशेर र विक्रम पाण्डेलाई दुबैतिर ठिक्क पर्ने नेता भनिन्छ । १ सय ४९ मा १ सय ३० सीट कमल थापाका मान्छेले जिते । २० जना दोहोरो परे । केपी ओलीले यो हिसाब हेरेरै पक्षपातपूर्ण व्यवहार गरेको राप्रपा नेताहरूको ठम्याई छ । यसकारण पनि सधैं आफ्नो प्रशंशा गरिरहने कमलप्रति ओलीको विशेष आकर्षण छ । स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरका लागि कमल थापाले एमालेलाई सहयोग गरेकै हुन् ।

तर, लिङ्देन पक्षका दीपक सिंह एक्लैले २० हजार पाँच सय ३१ भोट ल्याएर कमल थापासँग जनमत छैन भन्ने प्रष्ट्याए । जित्ने मेयर मीना लामाले २३ हजार ७५ मत पाएकी छन् । त्यसैले अब मकवानपुरको त्यही क्षेत्रमा दिपक सिंह उठ्दा कमल थापासँग एमालेको कुरा मिल्दैन ।

टिप्पणीहरू