देशले जब गुप्तचरका दुःख देख्दैन

देशले जब गुप्तचरका दुःख देख्दैन

त्यही काम विदेशमा परिणामका लागि गरिन्छ, तर हाम्रो देशमा स्वार्थपूर्तिका लागि ! गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत राख्ने कुरा विदेशको अभ्यासलाई हेर्दा उपयुक्त नै थियो तर नेपालको स्थितिलाई हेर्दा सत्तारुढ नेताको स्वार्थरक्षाबाहेक केही भएको देखिएन ।

अमेरिकामा सिआइए, भारतमा ‘रअ’, बेलायतमा एमआइफाईभ र एमआई सिक्स, इजरायलको मोसाद, पाकिस्तानको आइएसआईहरू यसरी नै उच्चस्तरीय निकायको मातहत रहने व्यवस्था छ । किनभने, तिनले संकलन गर्ने गुप्तचरी सूचनाका आधारमा देशको सुरक्षा रणनीति, आर्थिक योजनादेखि हरेक विषय निर्धारित हुन्छ । तर, नेपालमा राष्ट्रिय अनुसन्धान विभागसँग न जनशक्तिका दृष्टिले, न कार्यक्षमताकै हिसावले पनि त्यस्तो क्षमता छैन ।

केपी ओलीले आफू शक्तिशाली हुन प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभएको सो निकायलाई अब गृहमै सार्नुपर्छ भन्ने स्वर पछिल्लो समय संसददेखि जनस्तरसम्म बलियो बन्दै छ । तर, त्यसो गर्दा पनि गृहले मनपरि उपयोग गर्ने, त्यहाँका सहसचिवहरूले कज्याउन पाउनेजस्ता खतरा रहन्छन् । अर्कोतिर बहस छ, एआइजी दरबन्दीको । नेपालमा ‘रअ’ ले आइजी तहका राघवप्रसाद भट्नागरलाई खटाएबाट बुझ्न सकिन्छ, गुप्तचरीको महत्व । नेपालमा एकातिर प्रधानमन्त्री कार्यालय मातहत राखेर सीधै सूचना लिने, तर तालिम, अवसर र स्रोत साधन दिने काम भएन । बढुवाको बेला आयो, कार्यक्षमता हैन, सेवकमात्रै खोजिने चलन बढेको छ ।

पद–प्रताप

अनुसन्धान विभागमा पद प्राप्तिका लागि शक्तिकेन्द्रको प्रताप अचम्मलाग्दो छ । जस्तो– गत साता विशिष्ट श्रेणीको अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक (एआइजी) मा दुई जनाको बढुवा भयो, हुतराज थापा र ओम जोशी । अहिलेका प्रमुख यदुलाल खरेल भदौ २३ गते घर गएपछि हुतराजले जिम्मेवारी बहन गर्नुपर्ने छ ।

ओम जोशी शेरबहादुरको मान्छे हुँदा सामान्य प्रतिस्पर्धामा नभएरै पनि बढुवा दिइयो । एसपीमा हुतराजभन्दा सिनियर थिए । अशोक भट्ट प्रमुख हुँदा सुदूरपश्चिमको नाताले माथि ल्याइए । देउवासँग नाता छ, गुरुबाका ज्वाइँ † यदि, गत साता उनीहरू बढुवा नभएको भए भदौ १३ गते पदावधिको पाँच वर्षे हद लागेर घर जान्थे । यी दुबै दलीय भागबण्डाका एआइजी हुन् । एक नम्बरमा बढुवा भएका कारण बढी सम्भावना भएका हुतराज रोल्पाली हुन्, माओवादी कोटाका । ओम जोशीचाहिँ सुदूरपश्चिमका, अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले रुचाएका कांग्रेससमर्थक ।

०५३ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री र बालाराम घर्तिमगर विज्ञान तथा प्रविधि मन्त्री हुँदा हुतराज बालारामका स्वकीय सचिव थिए । अर्थात् उनको पारिवारिक पृष्ठभूमि राप्रपा हो । तर, अहिले माओवादी कोटाबाट लाभ लिँदै आएका छन् । रोल्पाबाट दाङ झरेका उनको अहिलेको बसोबास भक्तपुरमा छ, नेवार समुदायमा विवाह गरेका छन् । पछि करिअरलाई माथि लैजाने क्रममा माओवादी शक्तिमा आयो, उनी त्यतैका भए ।

प्रहरी र सशस्त्रमा पहिलादेखि नै नेपाली कांग्रेसको पकड छ । अनुसन्धानमा पनि त्यसै गर्न खोजेर प्रधानमन्त्री देउवाले शुरुमा एआइजीका लागि ओम जोशीको मात्रै प्रस्ताव लैजानुभएको थियो । तर, उर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले आपत्ति जनाएपछि हुतराज भित्रिएका हुन् । कस्तोसम्म हुन्छ भने, केही साताअघि अवकास भई घर गएका कूलदेव थापा नम्बरमा तल थिए । तर, ३ दिनका लागि एआइजी बन्ने मौका पाए । त्यसो गर्दा संस्थाका लागि केही भएन, उनका लागि भोलि विशिष्ट श्रेणी भन्ने आधार भयो, पेन्सन बढ्यो । अहिले एआइजीमा पहिलो भएका हुतराजको व्याचमा एसएसपीसम्म हरिहर पौडेल एक नम्बरका हुन् । वामदेव गृहमन्त्रीबाट हटेपछि हुतराजलाई दिलीप रेग्मीले एक नम्बरमा ल्याएका थिए ।

अब हुतराज प्रमुख भएमा उनले तीन वर्ष विभाग चलाउने छन् । किनभने, उनको जागिर २६ वर्ष भयो । त्यसपछि ओम जोशीले पनि तीनै वर्ष खान्छन् । हुतराज प्रमुख भएपछि, अर्थात् अहिलेका यदुलाल अवकाशमा गएपछि रिक्त एआइजीका दावेदार हुन्, टेकेन्द्रसिंह कार्की, सुमन बैद्य, प्रकाशराज पाण्डे र मधु कार्की । यीमध्ये टेकेन्द्रले एक–डेढ वर्ष विभागको प्रमुख हुन भ्याउँछन् । मान्छे जुम्लाका हुन् ।

सारफेर जारी

गृहबाट प्रधानमन्त्री कार्यालयमातहत पुगेको विभागलाई फेरि गृहतिरै लैजाने चर्चा चलिरहेको छ । सुरक्षाको सबै जिम्मा गृहले हेर्ने हो । एकीकृत सूचना छरिँदा राष्ट्रिय सुरक्षामा गम्भीर असर पार्छ भन्दै प्रहरी पृष्ठभूमिका नवराज सिलवालहरूले संसदमै कुरा उठाएका छन् । तर, पञ्चायतकाललाई फर्किएर हेर्दा तस्वीर फरक आउँछ । त्यसबेला यसको सम्पर्क मन्त्रालय गृह नै थियो, तर तालुक कार्यालय राजदरबार भयो । विभागका सानातिना कुरा पनि दरबारबाट अनुमोदन हुन्थ्यो । पञ्चायतको उत्तरार्धमा जनसम्पर्क कार्यालय (ख) बन्यो । तर, त्यसलाई कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र योगप्रसाद उपाध्याय गृहमन्त्री हुँदाको अन्तरिम सरकारले विघटन गरिदियो ।

अहिलेको संवेदनशीलता कस्तो छ भने, नेपालको वैदेशिक सम्बन्ध १ सय ६२ देशमा कायम छ । नेपाली पुगेको देश १ सय ७० छन् । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै देश र विदेशमा पनि गुप्तचरी परिचालन गर्नुपर्ने हो । नेपाललक्ष्यित कुनै युद्ध वा आक्रमण त हुँदै छैन, तर एउटा सार्वभौम देशले रक्षात्मक बनिरहन पनि गुप्तचरी संयन्त्रलाई अद्यावधिक गरिरहनु अनिवार्य हुन्छ । नेपालमा विदेशीहरू को–को छन् ? के–के गर्छन् ? कहाँबाट, कसरी खटिएर आएका हुन् ? यस्ता कुरा गुप्तचरले बुझ्नुपर्ने हो । सरकारले विधेयकमा त यस्ता काम पनि हेर्ने जिम्मेवारी दिएको छ, तर व्यवहारमा केही छैन ।

टिप्पणीहरू