जेसिकाले राखिन् समलिङ्गीसम्बन्धी यस्ता जिज्ञासा

जेसिकाले राखिन् समलिङ्गीसम्बन्धी यस्ता जिज्ञासा

नेपालका विभिन्न विषयमा अमेरिकी चासो त छँदै थियो, अब लैंगिक अल्पसंख्यक अर्थात् अन्तर्लिंगी र समलिंगी समुदायका बारेमा पनि सरोकार राख्न थालिएको छ ।

अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अमेरिकी विशेषदूत जेसिका स्टर्नले हो, नेपाल आएर यहाँका प्रधानमन्त्रीदेखि मन्त्री र संसदीय समितिसम्म भेटी लैंगिक अल्पसंख्यकबारे चासो राखेको । खासमा उनले नै आफू (महिला समलिंगी) भएको जानकारी दिइन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासकी राजनीतिक विशेषज्ञ रोजी कट्टेलसहितको टोली लिएर जेसिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (बन्दी), संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलहरूसँग भेटेकी हुन् ।

उनी आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित समितिको कार्यालय पुग्दा सिन्धुलीकी एमाले सांसद गोमा देवकोटाको प्रश्न थियो, ‘अमेरिकामा तपाईंजस्ता सांसद कतिजना छन् ?’ उनले जवाफ दिइन्, ‘कंग्रेस र सिनेटमा गरी हामी ९ जना छौँ ।’ तर, अमेरिकामा पनि लैंगिक अल्पसंख्यकहरू संघर्षकै चरणमा रहेको, पर्याप्त कानुनी र सामाजिक अधिकार प्राप्त नभएको सुनाइन् ।

सरकारी तहको भेटघाट थाल्नुअघि भूमिका श्रेष्ठसहितका लैंगिक अल्पसंख्यक अभियन्ताहरूसँग भेटेर यहाँको स्थितिका बारेमा ब्रिफिङ लिएकी थिइन् । संसदीय समितिलाई सोधिन्, ‘नेपालको जनसंख्यामा कति प्रतिशत वा संख्यामा लैंगिक अल्पसंख्यक होलान् ?’ तर, यसको स्पष्ट जवाफ पाइनन् ।

समितिका सभापति कृष्णभक्तले लैंगिक अल्पसंख्यकको हकमा नेपाललाई दक्षिण एशियामै प्रभावकारी कानुनी व्यवस्था भएको मुलुकका रुपमा चिनाए । उनले संविधानको धारा १८ अन्तर्गत समानताको हकमा कुनै विभेद गर्न नपाइने व्यवस्था गरिएको समेत बताउन भ्याए । त्यसअनुसार, लैंगिक अल्पसंख्यक समुदायलाई सकारात्मक विभेदबाहेक उनीहरूको अधिकार खोस्ने काम गर्न नपाइने व्यवस्था रहेको उनको दाबी थियो ।

संविधानको धारा ४२ मा यौनिक अल्पसंख्यकसम्बन्धी अलग्गै व्यवस्था छ । नागरिकता ऐनमा पनि लैंगिक पहिचानसहित नागरिकता पाउने अधिकार सुनिश्चित छ । स्मरणीय छ, सर्वोच्च अदालतले सुनिल पन्तको रिटमा सुनुवाई गर्दा यस्तो समुदायलाई नागरिकतामा विभेद नहुने गरी कानुन निर्माण निम्ति निर्देशन दिएको थिाये । जेसिकाले नेपालमा समलिंगी विवाहको प्रावधानबारे पनि सोध्दा ‘पाइँदैन’ भन्ने जवाफ पाइन् ।

कृष्णभक्तले भने, ‘कोही सँगै बस्छ भने त्यसलाई अपराध मानिँदैन, तर वैवाहिक मान्यता पनि दिइँदैन ।’ उनी समितिमा पुग्दा सभापति कृष्णभक्तसहित सांसद पद्मनारायण चौधरी, पूर्वराज्य मन्त्री विमला बिक, गोमा देवकोटा, समिना हुसेन, स्मृतिनारायण चौधरी, बीना बुढाथोकीहरू थिए ।

१ घण्टाको छलफलमा जेसिकाले ‘यो एउटा खास शारीरिक अवस्था हो’ भन्दै प्रकृतिले मान्छेलाई त्यस्तो बनाएको कुरा बुझाउन अमेरिकामै पनि कष्ट भएको सुनाइन् । भनिन्, ‘हामी पनि समान हकको निम्ति लडिरहेका छौँ ।’

टिप्पणीहरू