दूतावासका नेपाली हाकिममाथि छानबिन शुरु,परराष्ट्रमै २० लाख घुसकाण्ड

दूतावासका नेपाली हाकिममाथि छानबिन शुरु,परराष्ट्रमै २० लाख घुसकाण्ड

‘खान्की’ को रन्कोले विदेशमा पनि नछाड्दा अहिले परराष्ट्र मन्त्रालय गर्माएको छ ! म्यानपावरवालासँग मागिएको ‘२०’ क्रमशः ‘विष’ मा परिणत हुँदैछ । आर्थिक मामिलामा नेपाली कर्मचारीको बद्मासी मध्ययुरोपस्थित भूपरिवेष्ठित देश अष्ट्रियाको राजधानी भियनासम्म देखिएपछि मन्त्रालय छानबिनमा जुटेको हो ।

नेपालबाट नयाँ राजदूतका रुपमा भरत रेग्मी प्रस्तावित भएर नियुक्त नहुँदैको मौका छोपी त्यहाँ ३ वर्षदेखि कार्यरत सेकेण्ड सेक्रेटरी (शाखा अधिकृत) धनञ्जय मेहताले यस्तो बद्मासी गरेका हुन् ।

राजदूतको अनुपस्थितिमा उक्त मिशन हेर्ने उपसचिव डा.इला मैनाली थिइन् । लोकसेवाका पूर्वअध्यक्ष उमेश मैनालीकी छोरी इलालाई पनि छलेर उनीभन्दा मुनिका शाखा अधिकृत मेहताले देशकै इज्जतमा धक्का पुग्ने काम गरेको बुझिएको छ ।

क्रोएसिया, अल्बानिया र पोल्याण्डसँग नेपाल सरकारले गरेको श्रम सम्झौतापछि एक म्यानपावर व्यवसायीसँग मोबाइलबाट काठमाडौंमा कुरा गर्दै आर्थिक लाभ मागेको अडियोलाई प्रमाणस्वरुप पेश गरिएसँगै मेहता छानबिनमा परेको बताइन्छ ।श्रम सम्झौताबमोजिम श्रमिकको करिब पाँच सयवटा मागपत्र प्रमाणित गरेबापत मेहताले व्यवसायी टंक राउतसँग डिमाण्ड गरेको अडियो श्रम हुँदै परराष्ट्र पुगेको थियो ।

त्यसमा ‘२०’ भन्ने शव्द प्रष्ट सुनिन्छ, तर हजार, लाख र करोडमध्ये कुन भन्ने खुलेको छैन । अनुमान छ, उनले २० लाख मागेका हुन् । रकम पाएका छैनन् । त्यसले उनलाई सुख त किन दिन्थ्यो, बरु त्यो पीडा प्राणघातक ‘विष’ झैँ बनिदियो ।

राउतसम्बद्ध म्यानपावर कम्पनीले श्रम सम्झौताबमोजिम तीन देशमा असारको पहिलो साता पाँच सय नेपाली कामदार लैजाने तयारी गरेको थियो । करिव साढे दुई मीनेटको अडियोमा सेकेण्ड सेक्रेटरी मेहता र व्यवसायी राउतको मात्रै स्वर सुनिन्छ ।

यसको छानबिन गर्न मन्त्रालयले सहसचिव सेवा लम्साल, उपसचिव पुष्करराज नेपाल (कानुन) र शाखा अधिकृत दधि भण्डारी (प्रशासन) को तीन सदस्यीय समिति गठन गरेको छ । मेहता हाल कार्यालयको सबै जिम्मेवारीबाट हटाइएका छन् ।

टिप्पणीहरू