कार्यालयभित्र कुटपिटपछि मारिएको आफन्तको आरोप, आफैँले पासो लगाएको कर्मचारीको भनाइ

कार्यालयभित्र कुटपिटपछि मारिएको आफन्तको आरोप, आफैँले पासो लगाएको कर्मचारीको भनाइ

डिभिजन वन कार्यालय, सुर्खेतमा ज्यान गुमाएका धनीराम लामिछानेका आफन्तले चार जनाविरुद्व किटानी जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले दिएको जानकारीअनुसार सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिइएको छ ।

मृतक लामिछाने वन सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । वीरेन्द्रनगर–१३, भूतचोकका ५८ वर्षे लामिछानेको वन कार्यालय पुर्याएपछि मृत्यु भएको बताइन्छ । उनको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै किटानी जाहेरी दिएका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा टाँचा लगाइएको (नम्बरिङ गरिएको) रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो । त्यसपछि धनीरामलाई पनि पक्राउ गरिएको बताइन्छ । ‘आफन्तलाई सोधपुछका लागि ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा र जमानीमा छाड्ने कुरा थियो । आरोपित व्यक्ति घरमा भएको सूचना आएपछि कर्मचारीहरुले उनलाई पक्राउ गरेर ल्याइएको हो,’ वीरेन्द्रनगर डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले भने ।

तर लामिछाने कार्यालयको हिरासत कक्षमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । लामिछानेको आफन्तले पक्राउपछि गरिएको कुटपिटबाट मृत्यु भएको र कर्मचारीले आफूहरु जोगिन शवलाई कोठामा झुण्ड्याएको आरोप लगाएका छन् । ‘कार्यालयबाट खटिई गएको टोलीले पक्राउ पूर्जी विना नियन्त्रणमा लिएको थियो ।

महिलालाई पक्राउ गर्दा पनि कानुनी प्रक्रिया नपुर्याई कार्यालय पुर्याइएको उनीहरुको आरोप छ । मृतकका आफन्तले भने, ‘पक्राउ परिसकेका व्यक्तिलाई मेडिकल, खानतलासीलगायत हिरासत व्यवस्थापन सम्बन्धी कुनै पनि प्रक्रिया अपनाएको पाइएन ।’

टिप्पणीहरू