दरवार हत्याकाण्डकै दिनको दुखेसो « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

दरवार हत्याकाण्डकै दिनको दुखेसो

प्रकाशित मिति :  १८ जेष्ठ २०७७, आईतवार १४:००


२० दिने अध्यक्षको लोभ किन गर्नुहुन्छ ? ४ वर्ष नै खानुस् !’

नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पुगेकै दिन,अर्थात् भोलि जेठ १९ गते नेपालका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनलाई एउटा ठूलै मुस्किलले घेर्दै छ ।

४ वर्षपहिले तत्कालीन एमालेसम्बद्ध कर्मचारी संगठनले दुई तिहाई मतका साथ नेतृत्व पाएको थियोे । तर, कार्यकाल सकिनै लाग्दा पूर्वएमालेहरुको झगडाका कारण न युनियनले नयाँ नेतृत्व पाउने भयो, न म्याद नै थपिने अवस्था छ ।

कानुनी व्यवस्थाअनुसार सरकार र सम्बद्ध कर्मचारी संघसंगठनबीचको सहमतिमा कार्यकाल सकिएको एक वर्षसम्मका लागि म्याद थपिन सक्छ ।
तर, लकडाउनको यो बेला संघसंगठन कहाँ छन् ? अनि,अरु कुरा छोडेर यो कुराको मतलब राख्ने कसले ?

किनभने, म्याद सकिनु एक साताअघि कार्यवाहक अध्यक्ष घोषणा गरिएका व्यक्तिको पद नै अवैध भएको भनी नेकपासम्बद्ध कर्मचारी नै होहल्ला गरिरहेका छन् ।

अध्यक्ष पुण्यप्रसाद ढकाल उपसचिवमा बढुवा भएपछि उनको पद स्वत: समाप्त भयो ।

कानुनी व्यवस्थाअनुसार,यो अवस्थामा अध्यक्ष पाएको संगठनले रिक्त पदका लागि अर्को व्यक्तिलाई सिफारिस गर्नुपर्छ ।

पुण्यको पद समाप्ति हुँदा उनले उपाध्यक्ष भोला पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहकको रुपमा काम गर्न चिठी दिए । तर,पद समाप्त भएको व्यक्तिको चिठीकै वैधानिकतामाथि नेकपाका कर्मचारीहरु प्रश्न उठाउँदै छन् । त्यसमाथि आधिकारिक युनियनमा कार्यवाहक अध्यक्षको व्यवस्था नै छैन ।

यसमा सत्तारुढ दलसम्बद्ध कर्मचारीबीच तीन किसिमका समस्या छन् ।

पहिलो हो, पद सकिएका अध्यक्ष ढकाल र कार्यवाहक पाएका पोखरेल फरक-फरक गुटका हुन् । पुण्य बालुवाटारनिकट र भोला कोटेश्वरतिरका ।

दोस्रो समस्या छ,यदि भोलाको ठाउँमा पुण्य हुन्थे भने बालुवाटारले हिजोअस्ति नै एक वर्षको म्याद थपिदिएर आफ्ना मान्छेको पद सुरक्षित गरिदिन्थ्यो । तर,बालुवाटारका लागि भोलालाई अध्यक्ष बनाउन म्याद थप्नु भनेको ‘मुजुरको बथानमा बकुल्ला’ पालेजस्तो हुने भो ।

तेस्रो समस्या हो, पूर्वराकस (माओवादी) ।

संगठन एकीकरणका दौरानको सहमतिअनुसार संगठनको नेतृत्व पूर्वएमालेलाई र अर्कोचोटि आधिकारिक युनियन पूर्वमाओवादीलाई  हुनुपर्ने । तर, अहिले पुण्यले कार्यवाहक सिफारिस गर्दा पूर्वमाओवादीलाई सोधेनन् । यसबारे पूर्वमाओवादीले सोध्दा जवाफ पाए, ‘अब चुनावको माग गर्नुस्, तपाईंहरु अध्यक्ष हुनुस् । २० दिने अध्यक्षको लोभ किन गर्नुहुन्छ ? ४ वर्ष नै खानुस् !’

अहिले पुण्यको यही मन्त्रअनुसार पूर्वमाओवादी अग्रसर छ ।

म्याद थप्नचाहिँ भोला एक्लै भुन्भुनाएर लागिपरेका छन् । न संगठनलाई मतलब छ,न आधिकारिक युनियनका नेपाली काङ्ग्रेस निकट महासचिव, न सरकारलाई नै ।

अर्कातिर,बालुवाटारको मापदण्ड अचम्मको छ ।

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको जसरी नै राष्ट्रिय युवा परिषद्को म्याद सकिन लाग्दा त्यो भने थमौतिमा पर्‍यो । किनभने, त्यसका कार्यकारी निर्देशक माधव ढुंगेल बालुवाटार निकट मानिन्छन्  ।


प्रतिक्रिया दिनुहोस !