फरार भनिएका प्रतिवादी र ठगहरु राजधानीमै

फरार भनिएका प्रतिवादी र ठगहरु राजधानीमै

बैंकिङ कसूर लागेका फरार प्रतिवादी दुई महिनापछि समातिएका छन् । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–५ घर भइ हाल काठमाडौं जोरपाटी बस्ने अर्जुन भन्ने ३८ वर्षीय अरूणकुमार गौतमलाई आज प्रहरीले पक्रेको हो ।

गौतमविरुद्ध उच्च अदालत पाटन ललितपुरले बैंकिङ कसूर मुद्दामा गत असार ६ गते आठ लाख ३० हजार रुपैयाँ जरिवानासहित फैसला सुनाएको थियो । फैसला लगत्तै फरार गौतमलाई आज भक्तपुरको बालकोटमा समातिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले नियन्त्रणमा लिएपछि गौतमलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले बताएको छ ।

यस्तै आकर्षक तलबमा दक्षिण कोरिया पठाउने भन्दै ठगी गर्ने व्यक्ति पनि समातिएका छन् । आकर्षक तलब पाउने भन्दै ठगी गर्दै आएका काठमाडौंको सितापाइला बस्ने झापा, अर्जुनधारा नगरपालिका–८ घर भएका ३४ वर्षीय दिनेश खतिवडा पक्राउ परेका हुन् ।

खतिवडाले दक्षिण कोरियाको प्रतिष्ठित होटलमा मासिक दुई लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइ दिने र त्यसका लागि १० लाख रुपैयाँ लाग्ने प्रलोभनमा पीडितसँग सात लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

खतिवडालाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले मिनभवनबाटै नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

टिप्पणीहरू