हुण्डी कारोबारीहरु घण्टाघर नजिकै रंगेहात पक्राउ

हुण्डी कारोबारीहरु घण्टाघर नजिकै रंगेहात पक्राउ

हुण्डी कारोबारमा संलग्न तीन जना काठमाडौंमा समातिएका छन् । तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका–७ बेनौली घर भइ हाल काठमाडौं–१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर उपमहानगरपालिका–३ घर भइ टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्कालाई प्रहरीले राजधानीको घण्टाघर नजिकैबाट नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिएर संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए । त्यहाँबाट ६० लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही बेला श्रेष्ठको कार्यालयमा साह हुण्डीको भुक्तानी गर्न पुगेका थिए । साहलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अंकित गोयन्काको निम्ति काम गरेको तथ्य खुलेको हो । त्यसपछि कलंकीमा अंकितले सञ्चालन गरेको आनी इन्टरनेशनलमा प्रहरीको टोली पुगेको बताइन्छ ।

प्रहरीले उक्त कार्यालयमा खानतलासी गर्दा ९ लाख रुपैयाँ र १५ लाख बराबरको फास्ट ट्रयाक इन्टरनेसनल प्रालिको नाममा लेखिउको सानिमा बैंकको चेक समेत बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको निम्ति राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू