राष्ट्रपतिको पत्र च्यातेर देखाउन गोकुल बाँस्कोटाको चुनौती

राष्ट्रपतिको पत्र च्यातेर देखाउन गोकुल बाँस्कोटाको चुनौती

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन चुनौती दिएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै बाँस्कोटाले संविधानबमोजिम नै राष्ट्रपतिले उक्त विधेयक सदनमा पुनः सुधारको निम्ति पठाएको बताएका हुन् ।

विश्वका अधिकांश देशमा नागरिकताको विषयलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट भए पनि सिकेर यो विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए । नेता बाँस्कोटाले सत्तारुढ गठबन्धनको गलपासोका रुपमा उक्त विधेयकलाई धुलिसात गर्ने काम भएको आरोप लगाएका छन् ।

हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत रहेकाले यसबाट जनताको आवाज नसुनिएको उनको जिकीर छ । ‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन, जनताका आवाज सुन्दैन,’ नेता बाँस्कोटाले भने, ‘सत्ता गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन । पछि यसका दूरगामी परिणाम देखिनेछन् ।’

भेग, क्षेत्र, अनुहारको रङ र लिङ्गको आधारमा नागरिकता दिन नहुने नेता बाँस्कोटाको भनाइ छ । सत्ताधारी दलहरुले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी उनको छ ।

टिप्पणीहरू