तल्लो तहका कर्मचारीलाई सम्मान गर्न सिकौं : सहरी विकासमन्त्री

तल्लो तहका कर्मचारीलाई सम्मान गर्न सिकौं : सहरी विकासमन्त्री

सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका सबै कर्मचारीलाई सम्मान गर्न निर्देशन दिनुभएकोे छ । उहाँले बुटवलमा संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको उद्घाटन कार्यक्रममा बोल्दै उक्त धारणा राख्नुभएको बताइन्छ ।

नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने चलन रहेकाले त्यो प्रवृत्तिमा सुधार ल्याउनुपर्ने भन्दै मन्त्री चौधरीले भन्नुभयो, ‘हाकिम भएँ भनेर नसोच्नुस्, ठुलो भएँ भनेर पनि नसोच्नुस् । कुचिकारहरुले काम नगरे के होला ? उनीहरुबिना के अस्पताल सफा हुन सक्ला ? तपाईँहरुले धेरै पढ्नुभएको होला । तलब पनि बढी होला तर तपाईहरुलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरुलाई अपमान नगर्नुस् । उनीहरुले हेपिएको महशुस नगरुन् ।’

डाक्टर नर्सहरुले दशैं, तिहार, चाडवाड केही नभनी बिरामीको सेवा गर्ने गरेकोमा प्रशंसा गर्दै मन्त्रीले बिरामीले दुःख नपाउन्, उनीहरुको उपचार समयमै होस् भन्दै थप जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएको छ ।

सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले उक्त भवनको संयुक्त रुपमा हिजो उद्घाटन गर्नुभएको हो ।

टिप्पणीहरू