ग्रामीण सडकमा सडक दुर्घटनाको कारण कच्ची बाटो, थोत्रा गाडी

ग्रामीण सडकमा सडक दुर्घटनाको कारण कच्ची बाटो, थोत्रा गाडी

गाडी जान सकोस् वा नसकोस डोजर लगाएर गाउँ गाउँमा बाटो पुर्याउनै पर्यो । डुम्रे बेसीसहर हाइवे बाटोको अवस्था कन्तबिजोग छ । गाउँगाउँमा जाने सहायक बाटोको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

गाउँ जाने कच्ची बाटो, खराब अवस्थाका सवारी साधनमा खचाखच यात्रुका कारण धेरै जनाले ज्यान गुमाइसकेका छन् । हिजो साँझपख दुई दर्जन जति यात्रु बोकेको बलेरो जीप दुर्घटना हुँदा १० जना यात्रु गम्भीर घाइते भएका छन् ।

लमजुङ सदरमुकाम बेसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरा जाँदै गरेको ग. १ ज ७४१७ नम्बरको जीप स्थानीय भाचे सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनामा जीपमा सवार १५ जनामध्ये १० जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीमध्ये छ महिला, चार बालबालिका र पाँच जना पुरुष घाइते भएका छन् । सदरमुकामबाट भाचे जाँदै गरेको जीप काफलडाँडाको घुम्ती नपुग्दै दुर्घटनामा परेको हो । गम्भीर घाइते मस्र्याङ्दी गाउँपालिका २ की ५३ वर्षीया इन्द्रदेवी घलेलाई थप उपचारको निम्ति नयाँ मेडिकल कलेज चितवन पठाइएको छ ।घाइते भएकाहरुमा सोही गाउँपालिका ६ का २५ वर्षीया करिना सुनार, उनका २ वर्षीय छोरा रिजन विक, २५ वर्षीय सोमनाथ विक र २३ वर्षीय मिलन विक छन् । मस्र्याङ्दी २ का ४ वर्षीया कृतिका विक, ५६ वर्षीया सुनमाया गुरुङ, गर्भवती १९ वर्षीया रेखा विक, ३४ वर्षीया शिवकुमारी गुरुङ, उनका २ वर्षीय छोरा रियन्स गुरुङ र ३० वर्षीया मनु विक छन् ।

मस्र्याङ्दी २ कै ३३ वर्षीय शेषबहादुर गुरुङ, ५२ वर्षीय चित्रबहादुर गुरुङ, ३१ वर्षीय बुद्धिबहादुर गुरुङ र ७ वर्षीय राजीव गुरुङ पनि घाइते भएको बताइएको छ । उनीहरु सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरुलाई चार वटा जीपमा उद्धार गरी लमजुङ जिल्ला अस्पतालमा पुर्याइएको थियो ।

टिप्पणीहरू