यसरी टुंगियो आजको बैठक « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

यसरी टुंगियो आजको बैठक

प्रकाशित मिति :  १७ जेष्ठ २०७७, शनिबार १७:१०


आज बिहान ढिलोगरी बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा एउटा ‘भद्र समझदारी’ भएको बताइएको छ । त्यसअघि आगामी आर्थिक वर्षको बजेटमा एमसीसीको शीर्षक र बजेट रकम घुसाइएकोमा चर्काचर्का बहस भएको थियो । तर बैठकको अन्तमा, ‘एमसीसीसँग सम्बन्धित काम र क्रियाकलाप अहिलेलाई रोक्ने र छिट्टै सचिवालय बसेर टुङ्ग्याउने ’ भनियो ।

प्रायः कडा ढंगले प्रस्तुत हुने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा तुलनात्मक रूपमा शान्त देखिनुभयो । बैठकमा भीम रावल,प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडालाई आमन्त्रण गरिएको थियो । केही सदस्यले बजेटमा के आधारमा एमसीसी घुसाइयो भनेर सोधेका थिए ।

प्रधानमन्त्रीले भन्नुभयो ‘यो वर्षको नीति तथा कार्यक्रममा समावेश भएको,पछिल्लो तीन वर्षदेखिको बजेटमा नियमित आइरहेको र एमसीसी सदनमा पोहोरै दर्ता भैसकेकोले यो बजेटमा पनि राखिएको हो ।’

सदस्यहरूले फेरि सोधे ‘अब संसदमा अर्थमन्त्रीले के भनेर जवाफ दिनुहुन्छ ?’ ‘मैले जे भन्दै आएको छु र अहिले अर्थमन्त्रीले जे भन्नुभएको छ त्यहि कुरो हो संसदमा दिने जवाफ’ भन्दै प्रधानमन्त्रीले थप्नुभयो ‘अब संसदमा प्रवेश गरेको उक्त विषय त्यहिँ टुङ्ग्याऔं ।’

बजेटमा एमसीसीको शीर्षक र बजेट रकम घुसाइएकोमा हिजो बेलुकी अर्का अध्यक्ष प्रचण्डले बालुवाटार पुगेरै आपत्ति जनाएपछि आज बिहान आकस्मिक रूपमा सचिवालय बैठक बोलाईएको हो । बैठकमा अरु विषयले प्रवेश नै पाएन ।


प्रतिक्रिया दिनुहोस !