बालुवाटार र खुमलटार, भेट्नेको लर्को बराबर

बालुवाटार र खुमलटार, भेट्नेको लर्को बराबर

चुनावी रणनीति बनाउन आन्तरिक तथा गठबन्धनस्तरका छलफलमा व्यस्त राजनीतिक दलका शीर्ष नेताहरुको निवासमा भेट्नेहरुको लर्को हरेक दिन उस्तै छ । चुनावमा टिकट बाँड्ने भूमिकामा रहेका प्रमुख पार्टीका मुख्य नेताका निवासमा पछिल्लो समय राजनीतिक भेटघाट अझै बाक्लिएको हो ।

सँधै व्यस्त रहने प्रधानमन्त्री निवास बालुवाटार, खुमलटारस्थित प्रचण्ड निवास, केपी ओली निवास बालकोट र माधव नेपालको कोटेश्वरस्थित निवासमा पछिल्लो समय विभिन्न पक्षीय भेटघाट भइरहेका छन् ।

यसैबीच हरेक दिन दर्जनौं भेटघाट गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो पनि उस्तै व्यस्त रहनुभयो । हिजो अपरान्ह पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्डले नवगठित नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवसँग डेढ घण्टा कुराकानी गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशलाईसँगै राखेर दिउँसो साढे १ देखि सवा २ बजेसम्म प्रचण्डले नेसपाका अध्यक्षद्वयसँग कुराकानी गर्नुभएको हो ।

उक्त छलफलले ‘गोलाकार भित्रको हँसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको नेसपा र माओवादी केन्द्रबीच सिट भागबण्डाबारे महत्वपूर्ण समझदारी जुटाएको बताइएको छ ।

त्यसलगत्तै प्रचण्डले नेपाली काँग्रेसका नेता तथा सत्ता गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलासँग पनि छलफल गर्नुभएको थियो । खुमलटारस्थित प्रचण्ड निवासमा साँझ ६ देखि ७ बजेसम्म भएको उक्त भेटवार्तामा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि सहभागी हुनुहुन्थ्यो ।

त्यसअघि हिजो बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष पूर्णबहादुर खड्का, कानुनमन्त्री गोविन्द बन्दीको उपस्थिति थियो ।

बिहान पौने १२ देखि १ बजेसम्म चलेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलाई संशोधन गरी अघि बढाउने निर्णय गरेको छ । यस्तै संघीय संसदका दुवै सदनले पारित गरि प्रमाणीकरणका लागि पठाएको विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णय ‘अस्वाभाविक’ ठहर गर्दै बैठकले विधेयक जस्ताको तस्तै प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको बताइएको छ ।

माओवादीको चिन्हबाट चुनाव लड्ने र निकट भविष्यमा पार्टी एकता गर्ने सहमति जुटाएर पेरिसडाँडाबाट उठ्नुभएका डा. भट्टराईले हिजै साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्नुभएको बताइएको छ । एमाले बाहेकका वामपन्थीहरुको समाजवादी केन्द्र बनाउन प्रचण्ड सहमत भइसकेको सन्दर्भमा नेपाललाई मनाउन भट्टराई कोटेश्वर पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पनि पछिल्ला दिनमा नेता–कार्यकर्ताको उत्तिक्कै घुईंचो लाग्ने गरेको छ ।

टिप्पणीहरू