पूर्वकार्यकर्तालाई स्वागत गर्दै केपी ओलीले धेरैलाई गाली गर्नुभयो

पूर्वकार्यकर्तालाई स्वागत गर्दै केपी ओलीले धेरैलाई गाली गर्नुभयो

प्रतिस्पर्धी राजनीतिक पार्टी र अरु नेतामाथि कटाक्षपूर्ण टिप्पणी गर्दै आउनुभएका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र ती पार्टीका नेताहरुको चर्को निन्दा गर्नुभएको छ ।

निर्वाचनको मिति घोषणापछि गठबन्धनका दल र नेताप्रति थप आक्रामक हुनुभएका उहाँले आज च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेबाहेक सबैको उछित्तो काढ्नुभएको हो । आफ्नो सम्बोधनको अधिकांश समय गालीमा खर्चिनुभएका अध्यक्ष ओलीले काँग्रेस र माओवादी विचार र गन्तव्यहीन भएकाले आफ्नो पार्टीसँग एक्लै प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नरहेको दाबी पनि गर्नुभयो ।

काँग्रेसमाथि कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘काँग्रेस लुलो भयो, आफैं उठ्न सकेन । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसक्ने काँग्रेस विचार र गन्तव्यहीन छ ।’ काँग्रेस परिवारवादमा फसेको पनि ओलीको आरोप छ । उहाँले काँग्रेसलाई प्रचण्ड एण्ड कम्पनीको मामुली कार्यकर्ताको संज्ञा दिँदै भन्नुभयो, ‘काँग्रेस लोकतान्त्रिक पार्टी नै होइन । उसको नीति नै गठबन्धन र परिवारवाद छ ।’

त्यसपछि ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिन थाल्नुभयो । प्रचण्डको विरोध गर्ने क्रममा अध्यक्ष पुत्र स्वर्गीय प्रकाश दाहाललाई समेत जोडेर माओवादी जनयुद्ध के का लागि थियो ? भन्दै सधैँझैँ प्रश्न गर्नुभयो । ’माओवादीले त्यत्रो हत्या हिंसा केका लागि गरेको ? जनयुद्धमा होमाइएका अपांग, सहिद परिवार कहाँ छ ? मापसे गरि मर्नेको शालिक तर सहिदको कुरा छैन’, ओलीको आक्रोश छ ।

सो क्रममा उहाँले अमेरिकी सैन्य सहयोग एसपीपीको सन्दर्भमा गठबन्धन सरकारले जनतालाई ढाँटेको आरोप पनि लगाउनुभयो । एसपीपीलाई लेखेको पत्र सञ्चार माध्यमले सार्वजनिक गर्दा पनि आफ्नो कमजोरी लुकाउन सरकार र गठबन्धनका नेताले जनतालाई ढाँटेको उहाँको भनाइ छ । एसपीपीमा आफ्नो बचाउ गर्दै आउनुभएका ओलीले आफैँ प्रधानमन्त्री भएका बखत उक्त पत्र अमेरिकालाई पठाएको तथ्यको विश्वसनीय खण्डन भने आज पनि गर्नुभएन ।

अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्न आज पनि नछुटाउनु भएका ओलीले व्यापारीसँग मिलेर करका दर हेरफेर गरेको आरोप लगाउनुभयो । उहाँले सुरक्षाका कर्मचारी सरुवामा घुस खाने गरेको पनि भन्न भ्याउनुभयो । त्यस्तै, नागरिकता विधेयक जस्ताको तस्तै संसदमा लैजाने सत्तारुढ गठबन्धनको निर्णयलाई उहाँले अलोकतान्त्रिक भन्नुभयो । ‘दिमाग नभएकाहरुले मात्र यस्तो निर्णय गर्ने,’ उहाँको भनाइ छ ।

विपक्षी र प्रतिस्पर्धी राजनीतिक दलका सबैलाई गाली गर्नुभएका अध्यक्ष ओलीले एमालेमात्र मुलुकको सच्चा राजनीतिक दल भएकाले देश बचाउने जिम्मा आफूहरुले लिने बताउनुभयो । देश बचाउन एमाले मात्रै भएकाले सबैलाई एमालेमा आउन र देशभक्त बन्न उहाँले आह्वानसमेत गर्नुभयो ।

ओलीले देशैभर पार्टी प्रवेश कार्यक्रम अघि बढ्ने पनि बताउनुभएको छ । मंसिर ४ गते बिहानसम्म पार्टी प्रवेश कार्यक्रम चलिरहने बताउदै उहाँले भोलि इलाम र पर्सि दमकमा कार्यक्रम राखिएको जानकारीसमेत दिनुभयो । स्थानीय निर्वाचनका बेला पार्टी प्रवेशका नाममा अरुका कार्यकर्ता बटुल्ने नीतिले भोट नबढे पनि एमाले अध्यक्षले मंसिरको चुनाव लक्षित पार्टी प्रवेशलाई महत्व दिनुभएको हो ।

पार्टी प्रवेशकै क्रममा आज सत्तारुढ जसपाका उपाध्यक्ष तथा पूर्वमन्त्री हेमराज राईको नेतृत्वमा एउटा समूह एमालेमा मिसिएको हो । राईसँगै जसपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, नेताहरु चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, रामसिंह राई, सुनिल राईलगायत एमाले प्रवेश गरेका छन् ।

च्यासलमा खादा र अबिर लगाउने उनीहरु सबै पुराना एमाले हुन् । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै उनीहरुले एमाले छाडेका थिए ।

टिप्पणीहरू