३० वर्षे सिडियोलाई ५० वर्षे कर्णेलको सलाम

३० वर्षे सिडियोलाई ५० वर्षे कर्णेलको सलाम

सुरक्षा अंगका कतिपय पदसँग मर्यादाक्रममा माथि भए पनि तलबमान नमिलेको भन्दै उपसचिव स्तरका कर्मचारीको हस्ताक्षर गराई निजामती कर्मचारी (राजपत्रांकित) ले भारी तलब बृद्धिको प्रस्ताव पठाएका थिए । तर, यो सूचना नासुहरूले थाहा पाएपछि चर्को आन्दोलन गरे र अर्थमन्त्रीलाई निर्णय फिर्ता लिने प्रतिबद्धता जनाउन लगाए । विगतमा निजामती कर्मचारीको राजपत्रांकिततर्फ शाखा अधिकृत, सहायक सचिव, उपसचिव, सहसचिव, सचिव र मुख्यसचिव दर्जा थिए ।

सेनामा भने सेकेण्ड लप्टन (सहायक सेनानी), उपसेनानी (लप्टन), सहसेनानी (क्याप्टेन), (राजपत्रांकित तृतीय) सेनानी (मेजर) र प्रमुख–सेनानी (लेफ्टिनेन्ट कर्णेल), (राजपत्रांकित द्वितीय) महासेनानी (फूल कर्णेल), सहायकरथी (राजपत्रांकित प्रथम) (ब्रिगेडियर), उपरथी (मेजर जनरल), रथी (लेफ्टिनेन्ट जनरल) र प्रधानसेनापति विशिष्ट कायम गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा निरीक्षक, (राजपत्रांकित तृतीय) नायब उपरीक्षक, उपरीक्षक (राजपत्रांकित द्वितीय) प्रहरी वरिष्ठ उपरीक्षक, नायब महानिरीक्षक (राजपत्रांकित प्रथम) अतिरिक्त महानिरीक्षक, महानिरीक्षक (विशिष्ट) ३ वटै संगठनमा यसप्रकारको प्रावधान छ । यसरी ५०–६० वर्षदेखि मर्यादाक्रमभन्दा पनि तहगत हिसाबमा तलबमान कायम भई आएको हो ।

नेपाली सेनामा राजपत्रांकित तृतीयमा ३ पद, द्वितीयमा २ पद, प्रथममा २ पद र विशिष्टतर्फ ३ पद कायम रहेको छ । प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धानमा राजपत्रांकित तृतीयतर्फ १ पद, द्वितीयमा २ पद, प्रथममा २ पद, विशिष्टमा ३ पद छ । यी निकायमा तृतीय श्रेणीमा १२–१३ वर्ष सेवा गरेपछि योग्यको द्वितीय श्रेणीमा पदोन्नति हुन्छ । द्वितीय श्रेणीबाट ७–८ वर्षपछि द्वितीय श्रेणीको माथिको पदमा पदोन्नति हुन्छ र प्रथम श्रेणीमा उक्लन ४–५ वर्ष लाग्छ । प्रथम श्रेणीबाट ३–४ वर्षमा विशिष्ट श्रेणीमा जाने व्यवस्था छ । निजामतीतर्फ तृतीयबाट ५–६ वर्षमै द्वितीय र प्रथम श्रेणीमा त झन् ६–७ वर्षमै पदोन्नति हुन्छ । प्रथम श्रेणीबाट विशिष्टमा जान ८–१० वर्ष लाग्छ । यता प्रथम श्रेणीतर्फ खुला प्रतियोगितामा भाग लिएर सेवा प्रवेश गरेको ८–१० वर्षमै प्रथम श्रेणी हुने अवसर छ भने सुरक्षा अंगमा उक्त अवसर छैन । २६–३७ वर्षमै सहसचिव हुने कति छन् कति ! २८–२९ वर्ष सेवा गरेको सुरक्षा अंगको पदाधिकारीभन्दा १०–११ वर्षको जागिरे निजामती कर्मचारीलाई मर्यादाक्रममा अगाडि राखिएको छ । ३० वर्षको सिडियोलाई ५० वर्षको कर्णेलले सलाम ठोकेकै छ । खै यो यथार्थ बुझेको ?

– रामशरण कार्की, सेवानिवृत्त राष्ट्रसेवक

टिप्पणीहरू