धरोधर्म, यस्तो थिएन कम्युनिष्ट मर्म

धरोधर्म, यस्तो थिएन कम्युनिष्ट मर्म

उतिबेला जलहारीको जडान, यतिबेला आरती उतार्न व्यस्त ! कारण रहेछ, हिन्दू जनमतको भर पर्नु ! प्रधानमन्त्री हुँदैमा केपी ओलीले कहिले पशुपतिनाथ मन्दिरमा अवस्थित शिवलिंगमा सुनको जलहारी जडान गर्न बाटोमै बोलेर ३० करोड दिनुभयो ।

कहिले भारतीय प्रधानमन्त्री मोदीसँग भर्चुअल विधिबाट रामायण सर्किटको उद्घाटन त कहिले रामको जन्मभूमि नेपालकै ठोरीमा भएको हाँस्यास्पद दावी गर्दै आफूलाई हिन्दूत्वका पक्षमा उभ्याउँदै आउनुभयो । कारण रहेछ, हिन्दूवादीको मत तान्न सकिन्छ भन्ने चेतना । अहिले उहाँ कमल थापा नेतृत्वको राप्रपा नेपाललाई प्रत्यक्षतर्फ पाँच सीट जिताइदिने आश्वासन दिँदै आगामी निर्वाचन लड्ने मनस्थितिमा हुनुहुुन्छ ।

कतिपय एमाले नेता भन्दैछन्, ‘ओली यो स्थितिमा पुग्नुका पछाडि अरु कसैको हात छैन, जे गरेको छ, उहाँकै मुखले गरेको छ ।’ किनभने, ‘होला–होला’ भनिएको वाम गठबन्धन हुँदै नहुने ठाउँमा पुग्यो, उहाँले बोलेर । जब निर्वाचन मिति घोषणा भयो र पाँच दलले गठबन्धनमा जाने वक्तव्य जारी गरे, ओलीले प्रचण्ड, माधव नेपाल र वामदेवलाई ‘राष्ट्रघाती’ भन्नुभयो । यसपछि ओलीसहितको वाम गठबन्धन नहुने भयो ।

त्यसो त उहाँले माओवादी, समाजवादी, जनमोर्चाहरूसँग गठबन्धन गर्न चाहेको भए आफैँ वा भरपर्दा नेता पठाउन वा फोनमै हाई हेल्लोसम्म गर्न सक्नुहुन्थ्यो । तर पठाउने गर्नुभएको छ, ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, महेश बस्नेतलाई । त्यसैले गर्नका लागि हैन, गरेजस्तो देखाउनका लागि त्यसो गर्नुभएको भनिन्छ । नत्र पार्टी अध्यक्ष भएको झण्डै साढे ५ वर्षमा माक्र्सवाद–लेनिनवाद–साम्यवादसम्बन्धी एउटै प्रशिक्षण छैन तर हिन्दू धार्मिक गतिविधिको भरमार छ ।

दक्षिणी छिमेकी राष्ट्र पनि निश्कर्षमा पुगेको छ– टिकाऊ शक्ति कांग्रेस र एमाले नै हुन् । त्यसैले यिनलाई दूरीमा राख्नुहुँदैन । तर, ओलीसँग भर पर्ने ठाउँ छैन । त्यसमाथि देउवाको मन, मस्तिष्कमा अमेरिकाबाहेक अरु डुल्दैन, खेल्दैन । केपीको दिल–दिमाग पनि अमेरिकासँग दोस्तीका अनेक श्रृंखलाले भरिपूर्ण छन् । आफ्नो प्रधानमन्त्रीत्वकालमा एमसिसीलाई बिना व्याख्यात्मक टिप्पणी पारित गर्नुपर्छ भन्नेमै उहाँ हुनुहुन्थ्यो ।

स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) र संयुक्त सैन्य अभ्यासमा जाने भनेर त उहाँले सेनालाई चिठी नै लेख्न लगाउनुभयो । तर, अमेरिकीले ओली र देउवा दुबैलाई सतर्कतापूर्वक उपयोग गर्ने स्थिति छ । पश्चिमा मुलुक चाहन्छन् कि, नेपालमा वाम गठबन्धन नबनोस्, अहिलेको गठबन्धन पनि टुट्न नपाओस् ! उनीहरू नेपालमा ‘नियन्त्रित अस्थिरता’ बाट लाभ लिने गरी अगाडि बढेका छन्, जुन कुरामा एकपछि अर्को गर्दै सफलता हात लागेको बताइन्छ । एमालेका लागि वामपन्थीहरूसँग मिल्ने सबै बाटो बन्द भएपछि अन्तबाट तान्ने रणनीति तय गरिएको छ ।

एउटा लोकोक्ति छ ‘गाउँको ठूलो बडा को ?’ भन्दा ‘म’ भन्ने । ‘खान, बस्न दिने को हो ?’ भन्दा ‘खन्तरे भट्टराई’ । ठूलो पार्टी मेरो हो, पपुलर मत पनि मसँगै छ । तर, तीनै तहका सरकारचाहिँ अरुको छ ।

टिप्पणीहरू