ट्र्याक्टर बूढा र सन्तानबाट कोशेली प्राप्त तनाव

ट्र्याक्टर बूढा र सन्तानबाट कोशेली प्राप्त तनाव

हरेक श्रीमान्काे सफलताको पछाडि श्रीमतीको हात हुन्छ । श्रीमतीकै आडभरोसा पाएर श्रीमान्ले नाम कहलाएका छन् । त्यसैले पनि भनिएको होला महिला र पुरुष एक रथका दुई पांग्रा हुन् । तर, पांग्रा खुस्किँदा रथको यात्रा टुंगिनेरहेछ । त्यही रथ बने नवलसिंह । जसले रथ गुड्दागुड्दै धोका पाए । नवलसिंह ‘बाह्र छोरा, तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेझैँ अवस्थामा छन् । न उनी छोराछोरी छैनन् भन्न सक्छन् न त गर्वका साथ छोराछोरीको नाम नै लिन सक्छन् । बुढेसकालमा उनी एउटा बूढो रूखझैँ जिन्दगी जिइरहेका छन् ।

ट्र्याक्टर बूढा अर्थात् नवलसिंह परिवारको ऋण तिर्न ढुंगा फुटाउने, काठ बोक्ने, माटो बोक्ने सबै काम गर्थे । गाउँका सबैले नवलसिंहभन्दा पनि अझै ट्र्याक्टर बूढा भनेरै चिन्छन् । बाहिरी दुनियाँ कस्तो छ भन्ने कहिल्यै देखेनन् । ढुंगामै सपना र विपना देखिरहे । ६ जनाका बुवा नवलसिंह ऋण तिरेरै एक मुठी सास आरामले फेर्न चाहन्थे । तर, जति साहु र बैंकको ऋण चुक्ता गर्न ढुंगामा हम्मर हान्थे, त्यति नै गतिमा ऋणको ब्याज बढ्थ्यो । मजदुरी गरेर कमाएको पैसाले साहु र बैंकलाई ब्याज बुझाउनै धौधौ पथ्र्याे । तैपनि, परिवारको ऋण तिर्न अविचलित भई लागिरहन्थे ।

पुख्र्यौली घर ओखलढुंगा बाक्सा । ससुराली खोटाङ, च्यास्मिटार । अहिले उनी ससुरालीमा छन् । उमेर ६१ वर्ष पार गरिसकेका नवलसिंहले लगभग तीन दशक ढुंगा नै फुटाए । यस अवधिमा पानीको फोकासरी ठेला उठे, फुटे । ठेला उठ्दा जति दुख्थ्यो त्योभन्दा ज्यादा ऋणको भारीले मन पोल्थ्यो । ०४९ सालदेखि ढुंगा फोड्न थालेका नवलसिंहले पहिले एक पिल ढुंगा (एक ट्र्याक्टर) को ६ सय लिन्थे । पछि १ हजार १ सय लिन थाले । त्यो समय नवलसिंह आफैं ढुंगा फोड्थे र ओसार्थे । ट्र्याक्टरले बोक्ने भारी नवलसिंह एक्लैले बोक्थे, त्यसैले उनको नामै रह्यो– ट्र्याक्टर बूढा ।

जातले राई भए पनि मुखमा जाँड, रक्सी नहालेका नवलसिंह घाउ निको नहुने छोरोको अर्ती नसुनी ढाटमै फर्किए ।

चकमन्न मध्यरात गाउँले चीर निद्रामा हुँदा ढाँटमा पुग्थे । असरल्ल छरिएका ठुल्ठूला ढुंगामाथि छिनो र हम्मर बजार्थे । कैयौँपटक त्यो बाटो भएर आवतजावत गर्ने गाउँलेहरु भूत भनेर तर्सिन्थे । पिलपिले लाइट बालेर ढुंगा फुटाउन तल्लीन हुने नवलसिंह ऋण तिर्न दिन, रात भन्दैनथे । आराम गर्थे त्यही ढुंगाको पिलमाथि, खाना पनि त्यहीँ । कोठा त गेस्ट हाउसझैँ बन्थ्यो । ढुंगा फोडेर कहिलेकाहीँ मात्र कोठा जान्थे नत्र सदैव ढुंगाकै ढाँटमा । न खानपिनको टुंगो, न सुताइको । सदैव ऋणको भारी घटाउन नवलसिंह ढुंगाकै ढाँट धाइरहे । ढाँटका ढुंगा फुटेर, सकिएर उब्जनीलायक जमिन बन्यो तर नवलसिंहले साहु र बैंकको ऋण घटाउन सकेनन् । झन् झन् ऋण अकासियो, उमेर पनि अकासियो तर के गर्न सक्थे र नवलसिंह ? मरेर होस् या बाँचेर जसरी भए पनि ऋण त तिर्नु नै थियो ।

जेठो छोराले काम छोड्न दबाब नदिएका होइनन् तैपनि मानेनन् । छोरो मुखले बुवालाई ढुंगा फोड्न जबर्जस्ती नगर भन्ने तर ऋण कसरी तिर्ने सोको उपाय ननिकाल्ने । जातले राई भए पनि मुखमा जाँड, रक्सी नहालेका नवलसिंह घाउ निको नहुने छोरोको अर्ती नसुनी ढाटमै फर्किए । जेठो छोरो सहचालक । गाडीमा काम गर्ने सिलसिलामा ज्यान मार्ने अभियोगमा जेल परे । साहुको ऋण तिर्न ढुंगा फुटाउने नवलसिंहले तारेखमा झिक्न कहाँबाट रकम जुटाउन् ? श्रीमतीले मनपरी तरिकाले थोपरेको ऋण नवलसिंहको थाप्लोमाथि आएपछि झन् दुःखका दिन शुरु भए । ६ जना छोराछोरीका बुवा नवलसिंहका ३ छोरा र ३ छोरी छन् तर बुढेसकालमा कोही सहारा छैनन् ।

आमा–छोराले सल्लाहबिनै बैंकबाट १ लाख ८० हजार झिके । नवलसिंहलाई यसबारे केही थाहा दिइएन । बैंकले पनि थाहा दिएन । त्यो पनि उनकै थाप्लोमा प¥यो । खाँदा, सुत्दा, हिँड्दा सधैँभर ऋणकै भारी बोकिरहन्थे नवलसिंह । रोएर, कराएर, मागेर कसरी ऋण तिर्ने ! बरु सास, ज्यान रहुञ्जेल एकथोक काम नै गरेर साहुको ऋण तिर्न तत्पर रहे । घरको ऋण, रासनपानी ल्याउन ढुंगा फुटाएरै खर्च पठाए । छोरीहरू प्वाँख लागेर उडे, छोराहरू पनि लाखापाखा लागे । तर, परिवारको ऋण उनकै थाप्लोमा अल्झिइरह्यो ।

कहिलेकाहीँ समय र भाग्य यसरी बलियो बनेर आइदिन्छ कि कुनै लोककथाको कथाजस्तै । नवलसिंहको कहालीलाग्दो जीवनमा पनि त्यही समय आइदियो । ऋणकै भारी बोकेर ढुंगामा हम्मर चलाउँदै गर्दा कोही अनजान व्यक्ति नजिक पुग्यो । अपरिचित व्यक्ति सामुन्ने आए पनि कुनै पर्वाह थिएन । निरन्तर आफ्नै धुनमा लागिरहे । ‘बुवा’ भनेर कसैले पछाडिबाट बोलाउँदा आफ्नै छोरो आएर बोलाएजस्तो लाग्यो । ठिङ्ग्रिङग उभिएका युवकले आदर र मायाको भावले बोलाएपछि उनी पनि गफिए । वर्षाैं ढुंगा फुटाउँदा पनि नबिसाउने नवलसिंह ती युवकसँग हम्मर राखेर गफिए । उनी थिए त्यहीँकै युवक अर्थात् पत्रकार नवीन चाम्लिङ ।

राजधानीमा बसेर पत्रकारिता गरिरहेका नवीनले नवलसिंहका कहालीलाग्दा व्यथा टाइमलाइन टिभीबाट सम्प्रेषण गरिदिए । सायदै कसैले सोच्न सक्थ्यो नवलसिंहका दुःखका भारी अब हट्लान् ? सक्कली जीवन बुझ्दै जाँदा कुनै चलचित्रको कथाभन्दा कम लागेन । क्यामेराले नवलसिंहका व्यथाहरू खिच्दा कैयौँपटक नवीन गहँभरी आँशु पारेर रोए । त्यही भिडियो सामाजिक सञ्जालबाट सम्प्रेषण भएपछि दुनियाँभरका नेपालीले नवलसिंहका लागि सहयोगका हातहरू पठाए । देशभरबाट आएको रकमले ऋणका भारी चुक्ता भए, नवलसिंहले पनि सुखको सास फेरे ।

अहिले तिनै नवलसिंह हलेसीको डाँडाबजारमा साहुकै घरमा बस्छन् । त्यहा“ बसेबापत होटलमा पानी ल्याइदिने र बाख्रा रेखदेखसँगै बेलाबखत घाँसपात पनि गर्छन् । ‘दुःखलाई सुख माने सुखै हुन्छ, सुखलाई पनि दुःख माने दुःखै हुन्छ’ भन्ने नवलसिंह श्रीमती र छोराले बोकाएको ऋणको भारीबाट मुक्त छन् । बैंक र साहुको ऋण चुक्ता भए पनि अझै त्यही ढुंगाको ढाटमा छन् । ६५ वसन्त पार गरेका नवलसिंहको अझै दुई वर्ष त्यही ढाटमा बसेर हम्मर चलाउने प्रण छ । त्यसपछिको जीवनबारे भने अनभिज्ञ छन् । सोध्दा भन्छन्, ‘जीवन जसरी चलायो त्यसरी नै चल्नेरहेछ । धर्तीको दुई दिनको पाहुनालाई के नै छ र !’

– राई लगन

टिप्पणीहरू