किशोरकुमार–दिलिपकुमार–मधुबाला र प्रेमको संसार

किशोरकुमार–दिलिपकुमार–मधुबाला र प्रेमको संसार

एक लड्की भिगी–भिगी सी
सोती रातों में जागी सी
मिली एक अजनबी से
कोई आगे ना पिछे
तुम ही कहो ये कोई बात है

दिल हि दिल में जली जाती है
बिगडी–बिगडी चली आती है
मचली–मचली घर से निकली
पगली सी काली रात में
मिली इक अजनबी से…

डगमग–डगमग लहकी–लहकी
भुली भटकी बहकी–बहकी
बलखाती हुई, इठलाती हुई
सावन की सुनी रात में
मिली इक अजनबी से…

तन भिगा है, सर गिला है
उसका कोई पेंच भी ढिला है
तनती झुकती, चलती रुकती
निकली अंधेरी रात में
मिली इक अजनबी से…

फिल्मको नाउँः चलतीका नाम गाडी । रिलिज मितिः सन् १९५८ । संगीत एसडी बर्मन । गीतकारः मजरूह सुल्तानपुरी । गायक : किशोरकुमार । छायांकनः किशोरकुमार र मधुबाला । अनुहारमार्फत भाव ब्यक्त गर्न सक्ने उच्च श्रेणीकी कलाकार थिइन् मधुबाला । उनको अभिनय, प्रतिभा, व्यक्तित्व र सौन्दर्यलाई देख्ने जो–कोहीले पनि भन्न सक्थे कि भारतीय चलचित्रको इतिहासमा उनी महान् अभिनेत्री हुन् । त्यसैले हिन्दी चलचित्रका समीक्षकहरू उनको अभिनयकाललाई स्वर्णयुग मान्छन् ।

मधुबालाले ९ वर्षकै उमेर सन् १९४२ मा फिल्म ‘वसन्त’मा अभिनय थालेकी थिइन् बेबी मुमताजको नाउँबाट । सन् १९४७ मा प्रदर्शित चलचित्र ‘नीलकमल’ मा त नायिका नै बनिन् । नायक थिए – राजकपुर । यो यी दुईले शीर्ष भूमिका पाएको पहिलो थियो । यद्यपि, चलचित्रमा अर्की हिरोइन् पनि थिइन् – बेगम पारा । यसै चलचित्रपछि मधुबाला चलचित्र जगतकी भेनस (प्रेम र सौदर्यकी देवी) कहलिइन् ।

उता, गायक र अभिनेता किशोरकुमार पनि चानचुने कलाकार थिएनन् । सन् १९४६ मै अभिनय थालिसकेका थिए भने सन् १९४८ मा फिल्म ‘जिद्दी’ मार्फत पाश्र्वगायन शुरु गरे । उनले उक्त चलचित्रमा त्योबेलाका लोकप्रिय हिरो देव आनन्दको लागि स्वर दिएका थिए । सन् १९५६ मा एउटा चलचित्र बन्यो ‘ढाकेकी मलमल’ । हिरोइन थिइन् – मधुबाला । हिन्दी चलचित्र जगतमा मधुबालासंग जति अभिनेताले अभिनय गरे, उनको सुन्दरताबाट मन्त्रमुग्ध नहुने कोही भएनन् । अभिनेता शम्मीकपुरकाअनुसार मधुबालाको सामु पर्ने बित्तिकै उनी संवाद बिर्सन्थे । मधुबालालाई पत्नी बनाउन चाहन्थे तर मधुबालाले उनलाई दुब्ले भनेर हेपिन् । मधुबालासित जसरी पनि बिहे गर्ने धुनमा मोटाउन दिनहुँ बियर पिउन थाले । यसबाट मोटाए पनि तर उनै मधुबालाले ‘नराम्रोसित मोटाएको’ भनी दुत्कारिन् ।

किशोरकुमार पनि मधुबालाबाट प्रभावित नभै रहन सकेनन् र औधी मन पराउन थाले । तर, त्यो बेला मधुबाला नायक दिलिपकुमारसित प्रेम गर्थिन् । दिलिपको निम्ति मर्न, मार्न तयार थिइन् । त्यसैले किशोरले प्रेम प्रस्ताव राख्न सकेनन् । मधुबाला उच्चश्रेणीकी नायिका थिइन् । ‘ढाकेकी मलमल’ उनको ५४ औं चलचित्र थियो जब कि यो चलचित्र किशोरको २४ औं । त्यसैले मन मारेर बसे । २ वर्षपछि सन् १९५८ मा सत्येन बोसले बनाए ‘चलतीका नाम गाडी’ ।

हाँस्यात्मक यो चलचित्रमा किशोरकुमारको अलावा अर्का दुई जना नायक थिए, उनैका दाजुहरू अशोककुमार र अनुपकुमार, एक्ली नायिका थिइन् मधुबाला । त्यतिञ्जेलमा दिलिप र मधुबीच मनमुटाव शुरु भइसकेको थियो । सन् १९५७ मा रिलिज भएको चलचित्र ‘नयाँ दौर’ कै दौरान निर्देशक बी. आर. चोपडा र मधुका बाबु अताउल्लाह खानबीच झगडा शुरु भएको, झगडा अदालतसम्म पुगेको र दिलिपकुमारले बी. आर. चोपडालाई साथ दिएपछि मधु र उनको सम्बन्धमा चिसोपन आएको थियो (दिलीप र मधुको प्रसंगबारे २०७५ साल असार २७ को जनआस्था पढ्नु होला) ।

दिलिपसितको ९ वर्ष लामो प्रेमसम्बन्ध करिब–करिब टुट्ने अवस्थामा पुगिसकेको थियो, तैपनि मधु उनलाई उत्तिकै प्रेम गर्थिन् । त्यसैले जब किशोरले प्रेम प्रस्ताव राखे मधुले यसलाई गम्भीरतापूर्वक लिइनन् । अर्को कुरो, किशोर विवाहित थिए । एक छोराका पिता । २१ वर्षकै उमेरमा सन् १९५० मै बिहे गरिसकेका । नामी निर्देशक सत्यजित रेकी भतिजी रुमा गुहा ठाकुर उर्फ उमा घोष उनकी पत्नी हुन् । बंगाली भाषाकी गायिका । तर, एउटा छोरा (गायक अमितकुमार) को जन्मपछि पतिपत्नीबीच कलह शुरू भयो । किशोर मधुबालासँग बिहे गर्न चाहन्थे, त्यसैले दिलिप र मधुको सम्बन्ध बिग्रन थालेको समाचार बाहिर आएपछि उमासित सम्बन्धविच्छेद गरे ।

मधुकी बहिनी मधुर भुषणका अनुसार किशोर मधुलाई औधी मन पराउँथे । तर, त्यतिञ्जेलसम्म मधुले किशोरलाई महत्व दिएकै थिइनन् । तर, चल्तीका नाम गाडीको सुटिङका दौरान मधु पहिलाको तुलनामा बढि हाँस्ने, प्रेमपूर्वक नजिकिने गरेको महसुस किशोरलाई भयो । उनी यसबाट निकै उत्साहित बने । मौका मिल्नेबित्तिकै नजिकिन, गफ गर्न र चुट्किला सुनाएर मधुलाई हँसाउन थाले ।

फिल्म ‘मुगले आजम’ मा एकपटक फेरि दिलिप र मधुले सहंशाह र अनारकलीको भूमिकामा अभिनय गरे । ऐतिहासिक अमर प्रेममा अधारित यो चलचित्रको छायाँकनको दौरान वास्तविक प्रेमी र प्रेमिका दिलिप र मधुबीच भने खासै बोलचाल भएन । छायांकन आधी सकिएको समयसम्म त दुबैबीच बोलचाल पूर्णतः बन्द नै भयो । फिल्म रिलिज हुँदाको समयसम्म दुबैको सम्बन्ध पूर्णतः बिच्छेद । यसबाट मधुको हृदय छियाछिया भयो । उनी दिनहुँ रोएर बसिन् । यसबीच, किशोर र मधुले अर्को एउटा चलचित्रमा काम गरे ।

‘महलोंका ख्वाव’ पनि हाँस्यचलचित्र थियो । चलचित्रमा किशोरबाहेक मधुका अर्का एकजना हिरो थिए – प्रदिपकुमार । दिलिपसितको सम्बन्धमा चिसोपन आएपछि नायकद्वय प्रदिपकुमार र भारतभूषणले मधुसित बिहेको प्रस्ताव राखेका थिए । मधु प्रदीप, भारत र किशोरसित बिहे गर्न चाहन्नथिन् किनभने यी तीनै जना विवाहित थिए । तर, महलोंका ख्वाव चलचित्र रिलिज हुने बेलासम्म (सन् १९६० को मार्च ९ ) किशोर र मधु निकै नजिकिए ।

उक्त चलचित्र रिलिज भएको ७ महिनापछि अक्टोबरमा अचानक मधु किशोरसँग बिहे गर्न राजी भइन् । अताउल्लाह आफ्नी छोरीको बिहे हिन्दूसँग गरिदिन अनिच्छुक थिए, त्यसैले किशोर धर्म परिवर्तन गरी करिम अब्दुल बने । उता, किशोरका मातापिता पनि उक्त बिहेको विरुद्ध खडा भए । छोरा किशोरको बिहेमा सरिक हुन अस्वीकार गरे । पछि किशोरले आमाबुबाको मन राखिदिन मधुसँग हिन्दू धर्मानुसार बिहे गरे । मधुबालाको बाल्यकालदेखि नै स्वास्थ्यमा समस्या थियो । मुटुमा प्वाल परेको थियो । बेलाबखत स्वास्थ्यमा समस्या परिरहन्थ्यो । अकस्मात सन् १९५७ मा नाक र मुखबाट रगत बग्न थाल्यो । उनी यसको स्थायी समाधान खोज्दै थिइन् ।

र, उपचारार्थ लण्डन जान चाहन्थिन् । जब किशोरले मधुसँग बिहे गर्ने प्रस्ताव राखे, मधुका परिवारले उपचार गरेर फर्केपछि मात्र बिहे गरौं भने तर किशोर त मधुको प्रेममा पागल नै थिए, मधुले बिहे गर्न ‘हाँ’ गरेको मौका गुमाउन चाहन्न थिए त्यसैले पहिला बिहे अनि उपचार भन्न थाले । नतिजा, पहिल्यै बिहे भयो । बिहेको समय किशोर ३१ र मधु २७ का थिए । मधुकी बहिनी मधुरका अनुसार मधुले किशोरसँग बिहे गर्न यसकारण मात्र हुन्छ भनेकी थिइन् किनकि त्यसबेला उनी दिलिपसित सम्बन्धविच्छेदको कारण रिसाएकी थिइन् । र, रिसैरिसमा उनलाई देखाइदिने घमण्डमा थिइन् । मधुर भन्छिन्, ‘यो मेरी आपा (दिदी) ले गरेको जिन्दगीको ठूलो भूल थियो ।’

किशोरले बिहे त गरे तर परिवारले मधुलाई कहिल्यै बुहारी मानेनन् । बिहेको १ महिनामै परिवारले मानसिक यातना दिएको भन्दै मधु माइत फर्किइन् । बिहेपछि मधु र किशोरले सँगै अभिनय गरेका दुइटा फिल्म ‘झुमरू’ र ‘हाफ टिकट’ रिलिज भयो । लगत्तै किशोर र मधु उपचारार्थ लण्डनतर्फ उडे । चिकित्सकले मधुलाई रोगले नराम्रोसित च्यापिसकेकाले अब उनी बढीमा २ वर्ष मात्र बाँच्ने जानकारी दिए । यो खबर पाएको १० दिनमै किशोर र मधु स्वदेश फर्के ।

अब किशोरको मन बदलिइसकेको थियो । मधु आफ्नो स्याहार किशोरले नै गरुन् भन्ने चाहन्थिन् । तर, उनले यो मौका पाइनन् । भारत पुगेपछि पनि किशोरले जिम्मेवारी उठाएनन् । काममा फुर्सद हुन्न भन्दै मधुलाई माइत लगेर जिम्मा लगाइदिए । अब उनी शुरुमा महिनाको २ पटक, पछि त एकपटक मात्र फोन गर्न थाले । भेट्न त ४ महिनामा एकपटक पुग्थे । बिरामी मधु २४ घण्टा किशोरको प्रतिक्षामा बस्थिन् । बिरामी पत्नीको उपचारमा लाग्ने खर्च भने किशोरले दिन्थे । यसबीच सन् १९६६ मा दिलिपकुमारले सायराबासीत बिहे गरे । यो खबरले मधु झन मर्माहत बनिन् । स्वास्थ्य दिनदिन नाजुक बन्दै गयो ।

बाल्यकालका साथी लतिफ, निर्देशकद्वय किदार शर्मा र कमाल अमरोही, नायकहरू प्रेमनाथ, दिलिपकुमार, पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टो लगायतसित प्रेम र किशोरसित बिहे नै गरेकी मधुको अन्तिम दिनमा नजिक भने कोही भएनन् । बीचमा एकपटक स्वास्थ्यमा अलिक सुधार आएपछि चलचित्रमा फर्किन् तर टिक्न सकिनन् । मधुले आफ्नो स्वास्थ्य ३–४ दिनमा ठीक हुने सोचेकी थिइन् भने किशोरले ६ महिना लाग्ने अनुमान गरेका थिए । तर, मधु ९ वर्ष ओछ्यान परिन् र ३६ वर्षको उमेरमा सन् १९६९ को फेब्रुवरी २३ मा मुम्बैमा निधन भयो । उनले ६० भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन् ।

जीवनभरिमा १ सय १० जना संगीतकारसँग काम गरेका २ हजार ६ सय ७८ फिल्मी गीत गाएका, ८८ वटा चलचित्रमा अभिनय गरेका, ८ पटक त प्लेबैक सिंगिङमा फिल्मफेयर अवार्ड नै जितेका किशोरले पछि अभिनेत्री योगिता बाली र लीना चन्द्रावरकरसित बिहे गरे । उनको निधन पनि सन् १९८७ मा भइसकेको छ ।

टिप्पणीहरू