चिन्ता सुन्दरताको हो कि स्वास्थ्य र स्तनको ?

चिन्ता सुन्दरताको हो कि स्वास्थ्य र स्तनको ?

यी हुन् स्तनलाई सुन्दर बनाउने तरिका– यो शीर्षकमा लेखिएको सामग्री जतिले हेर्छन्प/ढ्छन् । यी हुन् स्तनपान गराउँदाका फाइदा शीर्षक सामग्री भने कमैले मात्र पढ्छन् । धेरैजसो मानिस स्वास्थ्यभन्दा सुन्दरतासँग सरोकार राख्छन् । कतिपय आमाहरू भन्ने गर्छन्– स्तनपान गराउँदा स्तन झोलिन्छ, नराम्रो देखिन्छ । त्यही भएर मैले आफ्नो बच्चालाई स्तनपान गराइन ।

कतिपय बुज्रुक महिलाहरू प्राकृतिक तरिकाभन्दा शल्यक्रियाबाट सुत्केरी हुन रुचाउँछन्, बिनाकारण, बिनाजटिलता पहिलो प्राथमिकता नै सिजरिङ सेक्सन हुन्छ । त्यसो किन भन्नेको जवाफमा योनि खुकुलो हुन्छ, यौन सम्पर्क गर्दा मज्जा आउँदैन । स्तनपान गराउँदा स्तन झोलिन्छ र बच्चा पाउँदा योनि खुकुलो हुन्छ भन्नु एकै तरिका हो । यी महिलाले बुझ्नु जरुरी यो छ कि स्तन र योनि कसिलो बनाउने तरिका अनेक छन् । तर सन्तानलाई स्वस्थ बनाउने सहज र प्राकृतिक उपाय स्तनपानभन्दा अरु छैन ।

काठमाडौंमा गरिएको एक अध्ययनमा करिब ५६ प्रतिशत आमाले दूध प्रतिस्थापन गर्ने पदार्थ सेवन गरेको पाइएको छ । झन् अचम्म लाग्ने कुरा त प्राइभेट अस्पतालमा गर्भजाँच, सुत्केरी हुने वा सुत्केरीपछि जाँच गर्ने आमामध्ये ६८ प्रतिशतलाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले त्यस्ता पदार्थ खुवाउन सल्लाह दिने गरेको पाइएको छ । अनि त्यस्ता स्वास्थ्यकर्मीबाट परामर्श पाउने आमाहरूमा परामर्श नपाउने आमाहरूभन्दा करिब १७ गुणा त्यस्तो पदार्थ खुवाउने सम्भावना रहेको अध्ययनले देखाएको छ । यो कति घातक छ भन्ने एउटा उदाहरण हेरौं– एक केजी पाउडर दूध उत्पादन गर्न करिब ४ हजार लिटर पानी आवश्यक पर्छ भने ६ वटा एशियाली देशमा बिक्री हुने दूधलाई प्रतिस्थापन गर्ने पदार्थबाट करिब २९ लाख टन हरितगृह ग्यास निस्कन्छ ।

जन्मनेबित्तिकै स्तनबाट आउने बिगौती दूधले बच्चाको पहिलो खोपको रूपमा काम गर्ने भए पनि नेपालमा गरिएको एक अध्ययनअनुसार करिब १६ प्रतिशत आमाहरूले अझै पनि बिगौती दूध नखुवाउने गरेको पाइएको छ । के निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र त्यहाँ सुत्केरी हुन जानेहरूले बालबालिका जन्मनेबित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्कन्छ भन्ने नजानेका हुन् त ? नवजात शिशुले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र शिशु जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ नबुझेका हुन् ?

बालबालिका जन्मनेबित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक–पटक दूध चुसाउनाले स्तन गानिनबाट जोगिन्छ भन्ने नजानेका हुन् त ? स्तनपानले आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने काम गर्नु पर्दैन । यसले आमालाई नै सहज हुन्छ । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैँ सफा, पोषिलो र ठीक तापक्रमको अनि कम खर्चिलो हुन्छ ।

आमा र बालबालिकाबीचको माया–ममता बढ्छ । बालबालिकाले आफूलाई सुरक्षित महसुस गर्छ । महिलालाई हुने स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरालाई घटाउँछ । महिनावारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रूपमा काम गर्छ । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्व हुन्छ । यसमा झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणहरूविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व रहेको हुन्छ । बालबालिकाको लागि यो पूर्ण खाना हो ।

यो बालबालिकाले सजिलै पचाउन सक्छन् । यसमा रहेका पोषक तत्वहरू शरीरले राम्ररी सोस्न सक्छ । यसले एलर्जी हुनबाट जोगाउँछ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वलाई रगतसम्म पुग्न दिँदैन । यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ । आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ ।

यी सबै हुँदाहुँदै पनि नेपालमा स्तनपानको अवस्था के छ तथ्यांक हेरौं । नेपाल मल्टि इन्डिकेटर क्लष्टर सर्वे २०१९ का अनुसार शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ भने पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत मात्र छ । सर्वेक्षणअनुसार २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८६.६ प्रतिशत छ । २०१४ मा ६ महिनासम्म आमाको दूधमात्रै खाने शिशुको प्रतिशत प्रदेश १ मा ४३ प्रतिशत थियो भने २०१९ सम्म आइपुग्दा ६१ प्रतिशत पुगेको छ, मधेश प्रदेशमा २०१४ मा ६९ प्रतिशत थियो भने २०१९ मा १ प्रतिशत बढेर ७० प्रतिशत शिशुले पूर्णमात्र स्तनपान गर्ने गरेको तथ्यांक छ ।

सर्वेक्षणले ६ महिनासम्म पूर्णस्तनपान गराउने अवस्थालाई पनि विश्लेषण गरेको छ । ग्रामीण क्षेत्रमा ६९ प्रतिशतले पूर्णस्तनपान गराउने भएपनि, शहरी क्षेत्रमा ५८ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउने गरेको देखिन्छ । त्यस्तै निरक्षर ६८ प्रतिशतले आफ्नो शिशुलाई पूर्ण स्तनपान गराउने र साक्षर ५८ प्रतिशतले अर्धस्तनपान गराउने गरेको पाइएको छ । त्यस्तै, गरिब परिवारको ६१ प्रतिशत र धनी परिवारको ५२ प्रतिशत शिशुले मात्रै पूर्णरूपमा स्तनपान गराउने गरेको देखिएको छ । यस्तो अवस्था किन आयो ?

गाउँमा भन्दा शहरमा स्तपान गराउनेको संख्या कम, गरिबभन्दा धनीले स्तनपान गराउने कम ? बडो अचम्मलाग्दो कुरा छ । मानिस किन प्राकृतिक र स्वभाविक कुरा छाडेर अस्वाभाविक र अप्राकृतिक कुरामा लागेका होलान् ? भन्सार विभागका अनुसार ०७७÷०७८ मा मात्रै ७२ करोड ४७ लाख ९२ हजारको बच्चाले खाने दूध र ५ करोड ६४ हजार ८९ हजार रूपैयाँको खाने बोतल आयात भएको थियो ।

राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार देशभरका ३६ प्रतिशत (पाँच वर्षमुनिका) बालबालिकामा पुड्कोपन, २७ प्रतिशतमा कम तौल थियो । बहुसूचक क्लस्टर सर्वेक्षण २०१९ अनुसार पुड्कोपन र कम तौलदर सूचकमा सुधार भएर क्रमशः ३२ प्रतिशत र २४ प्रतिशतमा झरेको छ । पोषण स्थिति सुधार्न सरकार र विकास साझेदारले बहुक्षेत्रीय पोषण योजनाको पहिलो चरण (०७०/०७१ देखि ०७४/०७५ सम्म) ८८ अर्ब ४८ करोड खर्चेको छ । ०७५/०७६ देखि यस वर्षसम्मका लागि सरकारबाट २८ अर्ब ८५ करोड २० लाख र वैदेशिक सहयोगतर्फ युरोपियन युनियन एवं युनिसेफको नगद अनुदान २० अर्ब ४ करोड ९० लाख गरी ४८ अर्ब ९० करोड १० लाख लागत अनुमान गरिएको बहुक्षेत्रीय पोषण योजनाको दोस्रो चरणको कार्यक्रम लागू भइरहेको छ ।

दोस्रो चरणमा भने लक्ष्यअनुसार काम नभइरहेको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । ‘गत वर्षसम्म सरकारतर्फ २ करोड ३५ लाख ३८ हजार र वैदेशिक स्रोततर्फ ५८ करोड ६२ लाख २९ हजारसमेत ६० करोड ९७ लाख ६७ हजार रूपैयाँ अर्थात् बजेटको तुलनामा १.२५ प्रतिशत मात्र खर्च भएको छ,’ कार्यक्रम अवधि समाप्त हुन एक वर्ष बाँकी रहँदा न्यून प्रतिशतमा बजेट मात्र खर्च भएकाले तोकिएको समयमा कार्यक्रम सम्पन्न हुन सक्ने अवस्था नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य सेवा विभागको ‘राष्ट्रिय पोषण रणनीति २०७७’ मा पनि फर्मुलालाई निरुत्साहित गर्ने, स्तनपान प्रवर्धनका लागि शिशु जन्मेको ६ महिनासम्म प्रसूति बिदा दिने व्यवस्थाका लागि पहल गर्ने उल्लेख छ । सरकारले ९८ दिन सुत्केरी बिदा दिन थालेको छ, अरू परिवर्तन पनि हुँदै जालान् ।

हुन त पछिल्लो समय कामकाजी महिलाको संख्या बढ्दै गएको छ । यसले गर्दा चाहेर पनि आमाहरूले सन्तानलाई पूर्ण स्तनपान गराउन नसकेका होलान् । कतिपयले चाहना हुँदाहुँदै पनि स्वास्थ्यको कारणले स्तनपान गराउन नसकेका होलान् । कतिपय आमाहरूको दूध नै नआउने हुन्छ । यस्तो बेलामा विकल्प खोज्नुपर्छ । तर, यहाँ त अन्तिम विकल्पलाई नै पहिलो विकल्प बनाउँदा पो समस्या भइरहेको छ ! यसमा आमाहरूले सोच्नु जरुरी छ । यसमा बाहरूले पनि वातावरण बनाउन सघाउनु आवश्यक छ । यति लामो गन्थन गर्नुको कारण विश्व स्तनपान सप्ताहको सन्दर्भ हो । जुन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइन्छ । नेपालले पनि यो अभियान चलाइरहेकै छ ।

टिप्पणीहरू