बाबुराम पछि वामदेव पनि माओवादीको चिन्हमा सहमत

नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ ।
माओवादी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी संघ तथा प्रादेशिक निर्वाचनमा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा एकता अभियानको मागअनुसार आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले उक्त निर्णय गरेको बताउनुभयो । ‘गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं । उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्याैँ ।’
आजै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ । गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनुनपर्ने जनाइएको छ ।
एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका गौतम पछिल्लो समय समाजवादी केन्द्र गठनको अभियानमा हुनुहुन्थ्यो ।
टिप्पणीहरू