नेदरल्याण्ड पठाउने नाममा डेढ करोड ठगी

नेदरल्याण्ड पठाउने नाममा डेढ करोड ठगी

आकर्षक तलबसहितको रोजगारीको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका एक जना पक्राउ परेका छन् । उनले नेदरल्याण्ड पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट एक करोड ३६ लाख ५० हजार रूपैयाँ ठगी गरेको देखिन आएको छ ।

खोटाङ बाह्रपोखरी गाउँपालिका ५, देवथान घर भइ हाल काठमाडौं महानगरपालिका ३२, कोटेश्वर बस्ने मुन ह्युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको बताइएको छ ।

उनले १६ जना व्यक्तिलाई वर्किङ भिसामा नेदरल्याण्ड पठाइने भन्दै प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्ने कबोल गराएका थिए । त्यसपछि पानीजहाजमा सिम्यानको जागिर लगाइदिने, शुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुने प्रलोभन देखाएर उनीहरूबाट एक करोड ३६ लाख ५० हजार रूपैयाँ रकम लिएर राई सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले उनलाई कोटेश्वरबाट पक्रेको हो । अहिले थप अनुसन्धान तथा कारवाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको बताइएको छ ।

टिप्पणीहरू