चेक बाउन्स र बैकिङ कसुरको साइनो

चेक बाउन्स र बैकिङ कसुरको साइनो

सर्लाही ब्रम्हपुरी गाउँपालिका २ घर भएका ३४ वर्षीय रोशनकुमार गुप्ता गत बिहीबार बैंकिङ कसुर मुद्दामा पक्राउ परे । उनले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको थाहा पाउँदा पाउँदै पनि पीडितलाई झुक्याएका हुन् । उनले झुक्याउनको लागि सानिमा बैंकमा रहेको खाताको चेक लेखेर दिएका थिए ।

उनीविरुध्द उच्च अदालत पाटनमा मुद्दा दर्ता भयो । २०७७ फागुन २३ गते गुप्तालाई बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सुनाइयो । त्यसपछि उनी फरार भए पनि साढे दुई वर्षपछि गत बिहीबार बल्ल पक्राउ परेका हुन् ।

चेक बाउन्स गरेकै कारण भक्तपुर चाँगुनारायण नगरपालिका ३, झौखेलका ४४ वर्षीय शिवराज थापालाई सिआइबीले गत सोमबार पक्राउ गरेको छ । उनले पनि जानाजान पर्याप्त रकम नभएको बैंक खाताको चेक लेखेर दिएपछि पीडितको जाहेरीको आधारमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरियो ।

“चेक बाउन्स भएको एक साताभित्र बैंकलाई खबर गरेर चेक वाहकले चेक जारी गर्नेलाई कालोसूचीमा समेत राख्न पाउँछ । यसरी कालोसूचीबाट नहटेसम्म सो व्यक्तिले कुनै पनि बैंकमा खाता खोल्न, ऋण लिन पाउँदैन । साथै सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्छ ।”

थापाविरुध्द बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार पाँच सय रुपैयाँ जरिवानासहित फैसला सुनाइयो । उनलाई पनि साउन २३ गते सिआइबीले पक्राउ गरेपछि अहिले तोकिएको कैद र जरिवाना भुक्तानको निम्ति कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा राखिएको छ ।

मुलुकमा पछिल्लो समय चेक बाउन्सका कारण बैंकिङ कसुरका घटना बढ्दै गएको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्दा पछिल्लो केही वर्षको तुलनामा अहिले बैंकिङ कसुरका घटना बढ्दै गएको हो । आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा बैकिङ कसुरका घटना दर्ता भएका थिए । त्यसमध्ये एक सय ८४ जना पक्राउ परेका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । तीमध्ये चार सय ३६ जना पक्राउ परेका छन् । पछिल्लो समय यसरी चेकमार्फत हुने कारोबारबाट ठगी बढेको प्रहरी प्रधान कार्यालयको निचोड छ ।

विगत पाँच वर्षमा कूल नौ हजार सात सय २१ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् डिआइजी टेकप्रसाद राईले जानकारी दिए । यसमध्ये पाँच वर्षमा प्रहरीले तीन हजार आठ अभियुक्तलाई पक्राउ गरेको छ । सोही अवधिमा ५० जना विदेशी नागरिक बैकिङ कसुरको आरोपमा पक्राउ परेका छन् ।

बैकिङ कसुरमा पक्राउ परेकामध्ये नेपालीमध्ये दुई हजार छ सय ४३ जना पुरुष र तीन सय १५ जना महिला छन् । आर्थिक वर्ष २०७४/७५ मा सात सय ७६ जना विरुद्ध बैकिङ कसुरमा मुद्दा दर्ता भएको थियो । तीमध्य तीन सय १५ जना पक्राउ परेका छन् ।

२०७५/७६ मा बैंकिङ कसुरमा संलग्नको संख्या तीन हजार एक सय ६७ पाइएको थियो । त्यसमध्ये एक हजार छ सय ३७ अभियुक्तलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी सोही आर्थिक वर्षमा धेरै पक्राउ परेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा बैंकिङ कसुरमा तीन हजार तीन सय नौ मुद्दा दर्ता भएकामा चार सय ३६ जना पक्राउ परेका हुन् ।

प्रवक्ता राईका अनुसार आफ्नो बैंक खातामा मौज्दात नभएको चेक ‘बाउन्स’ दिनेको संख्या बढ्दा बैंकिङ कसुरका अपराध पनि बढेको हो । योसँगै विशेष गरेर लेनदेन, ठगी,जालसाजी र अनलाइन कारोबारको समेत दुरुपयोग बढेकाले पछिल्ला आर्थिक वर्षमा यसको संख्या बढ्न पुगेको उनको भनाइ छ ।

बैंकिङ कसूरको घटना दुई वर्ष पहिले र अहिलेको संख्यालाई तुलना गर्दा दोब्बर बढेको छ । इन्टरनेटलगायत सामाजिक सञ्जालको दुरूपयोगले पनि यस्तो घटना बढेको प्रहरीको दाबी छ ।

कसरी हुन्छ चेक बाउन्स ?

चेक लेखेर दिने व्यक्तिले लेखिएबमोजिमको रकम बैंक खातामा नरहेको अवस्थामा चेक बाउन्स अर्थात फिर्ता हुन्छ । भुक्तानीका निम्ति दिइएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेकै ‘चेक बाउन्स’ हुनु हो । खातावालाले चेकमा लेखिएको मिति,अंक,विवरणलगायतमा फरक पारेमा पनि चेक बाउन्स भएको ठहरिन्छ । यस्तो अवस्थामा चेक जारी गर्ने व्यक्ति वा संस्थाले प्रचलित कानुनअनुसार सजाय भोग्नुपर्ने व्यवस्था छ ।

शुरुमा चेक बाउन्स भएको एक साताभित्र बैंकलाई खबर गरेर चेक वाहकले चेक जारी गर्नेलाई कालोसूचीमा समेत राख्न पाउँछ । यसरी कालोसूचीबाट नहटेसम्म सो व्यक्तिले कुनै पनि बैंकमा खाता खोल्न, ऋण लिन पाउँदैन । साथै सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्छ ।

टिप्पणीहरू