सहकारीले ठग्दा डिएसपीकै सामु झण्डै आत्महत्या « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

सहकारीले ठग्दा डिएसपीकै सामु झण्डै आत्महत्या

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार ११:३०


मध्य साउनको दिन लमजुङ बेंसीशहर – ७ की सबला बोहरा थापा रुँदै जिल्ला प्रहरी कार्यालय बेसीशहर आइन् । डिएसपी कृष्णबहादुर कार्कीकै अगाडि पासो लगाएर मर्छु भन्दै डाँको छाडिन् । रुनु पर्ने कारण अरु केही थिएन । जापान जान ठिक्क परेकी उनलाई पैसाको खाँचो थियो । पैसा नभएको पनि होइन । कालिका सहकारीमा बचत गरेको १८ लाख रकम आठ महिनादेखि ताकेता गर्दा पनि व्यवस्थापकहरूले दिन नसकेपछि मर्छु भन्दै प्रहरी कार्यालय पुगेकी थिइन् ।

दोलखा जिल्ला घर भई दुई दशकदेखि बेंसीशहरमा ज्याला मजदुरी गर्दै आएकी कमला लामाले सोही सहकारीमा जेनतेन २३ हजार जम्मा गरिन् । हप्ता दिनअघि मात्रै बिरामी भएकी छोरीलाई उपचारका लागि अस्पताल लानुप¥यो भनेर एक हजार मात्र माग्दा पनि दिन सकेनन् । ६ महिनादेखि बचत फिर्ता माग्दै आएकी बेंसीशहर–८ की आशिका श्रेष्ठ खानु न खुट्नुसँग कहिले प्रहरी कार्यालय कहिले सहकारीका मालिकहरूको खोजीमा पाएको हैरानीले दिक्क छन् ।

आमाको विश्वास गरेर विदेशमा दुःख गरेका मामाले पठाएको रकम कालिका सहकारीमै थियो । विदेशबाट फर्किएका मामा अहिले नशाको रोगले थलिएका छन् । उपचारका लागि काठमाडाैं जान खोजेका मामाले पैसा पाएनन् । आमा तनावले डिप्रेसनमा जान लागेको आशिका बताउँछिन् ।

सुन्दरबजार नपा –८ की पवित्रा ढकालका नाउँमा रहेको आमाले सोही सहकारीमा १८ लाख बचत गरेको वर्षौं भयो । न कुनै ब्याज छ न साउँ । उनले ब्याजको आशा नगरी आफ्नो बचत रकम फिर्ता मागेको महिनौं भयो । सञ्चालकहरू रकम फिर्ता गर्न सक्ने हालतमा छैनन् । आवश्यक परेको बेला झिक्न सजिलो र केही प्रतिशत भएपनि बढी ब्याज आउने आशामा सहकारी सञ्चालकको भुमरीमा फसेका बचतकर्ताहरूको अहिले कालिका सहकारीले बिल्लीबाठ पार्न लागेको छ ।

यही सहकारीमा बेसीशहरकी तैमाया गुरुङको ५२ लाख छ । पूर्व सञ्चालक समितिमा समेत रहेकी उनलाई सहकारीका प्रमुखहरूको जालझेल पत्तो भएन । ताकेता लगाउँदा लगाउँदै हरेश खाएकी उनी पनि प्रहरीको शरणमा नपुगी भएन । प्रशासन चोकमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका कान्छा गुरुङलाई शुरू शुरूमा १÷२ लाख ऋण चलाउन दिएको कालिकाको विश्वास लागेर २० लाख जम्मा गरे । तर आज आफ्नै बचतको रकम माग्दा नपाएपछि जिप्रका जानुभन्दा अर्को उपाय भएन ।

किन डुब्यो त कालिका ?

२०५६ मा मध्यनेपाल– ७ का मृगेन्द्र घिमिरे र उनका पारिवारिक सदस्यले जिल्ला सदरमुकाम बेसीशहरमा स्थापना गरेको जिल्लाकै पुरानो सहकारीका अध्यक्ष मृगेन्द्र घिमिरे र प्रबन्धक उनकै श्रीमती बिनिता घिमिरे । सर्वसाधारणसंग उठाएर गरेको बचत आफ्नै आफन्तलाई बिना धितो र घर जग्गामा समेत लगानी गरे । मृगेन्द्र परिवार सम्पन्न करोडौंपति बने, बचतकर्ताको बिल्लीबाठ ।

भित्र–भित्र मक्किन लागेका दुई सहकारी कर्पुरेश्वर र सम्पदाबीच २०७७ असारमा मर्ज भयो । कर्पुरेश्वर सहकारीलाई पनि सञ्चालकहरूले खोक्रो पारिसकेका थिए । कालिकाले आफ्नो नाममा रहेको तनहुँ र राईनास् नपाको जग्गा हरि थापा, मृगेन्द्रले आफ्नो नाममा गरिसकेका थिए ।

बेनपा– ८ को सेरामा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि. ले शेयर धनी र बचतकर्ताको लगानी फिर्ता गर्न नसकेपछि पीडितहरू जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर गएका छन् । मर्जसँगै मृगेन्द्रका श्रीमान् श्रीमतील कालिकामा जिम्मेवारविहीन भएपछि अध्यक्ष शिव सिलवाल र प्रबन्धक वेदराज खनिया बने । त्यही बेला मृगेन्द्रले सहकारी डुब्दै छ, पैसा फिर्ता माग्नु भनेर बचतकर्तालाई उचालेको एक सहकारीका एक सदस्यले बताए ।

बिहानदेखि डिएसपी कार्कीकै रोहबरमा जिल्ला प्रहरी कार्यालयमा भएको व्यापाक छलफलपछि कार्तिकसम्म ३० प्रतिशत र त्यसपछि बाँकी किस्तामा तिर्ने सहमति भएकोले पीडितहरू घिमिरेले हाम्रै पैसाले सदरमुकाममा करोडौंको घर घडेरी जोड्ने, हामीलाई बर्बाद पार्ने ? भन्दै आन्दोलित बनेका हुन् ।

– अञ्जनकुमार


प्रतिक्रिया दिनुहोस !