मैले त्यतिबेला पार्टीको ह्विप नमानेकै हो « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

मैले त्यतिबेला पार्टीको ह्विप नमानेकै हो

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार ११:००


– हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद्

उमेर ८२ वर्ष तर जोश र जाँगर २८ वर्षीय युवाको भन्दा कम छैन । २ पटक सांसद, र रुसको लागि राजदूतसमेत भइसकेका हिरण्यलाल श्रेष्ठ पत्रकारितासँग पनि गहिरो नाता छ । ०१४ सालबाटै पत्रकारिता प्रारम्भ गरेका उनले जीवनका तीन दशक शब्द र अक्षरसँगै दोस्ती गाँसेर बिताए । जेल पर्दासमेत यो नशा त्याग्न सकेनन् । जेलबाट छुटेपछि सरकारी सञ्चारमाध्यम राससको सहसम्पादकसम्म भए । पञ्चायतकालमा जनजागृति पत्रिकामा एउटा सम्पादकीय लेखेबापत तीन वर्ष कैद भोगे र एक हजार जरिवाना तिरे । यो बीचमा रातो युगधारा, डेली डायरी, सगरमाथा, एभरेष्ट हेराल्डको प्रधानसम्पादक भए । केही समय प्राध्यापनसमेत गरे । उनका विभिन्न ३३ वटा कृति प्रकाशित छन् ।

– हरि गजुरेल

संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक फिर्ता गरियोस् भनेर राष्ट्रपतिसमक्ष ज्ञापन पत्र बुझाउनुभएको छ । विधेयक फिर्ता हुनुपर्ने कारण के हो ?

– नेपाली चेलीले भारतमा बिहे गरेर गएपछि नागरिकता लिने प्रक्रिया प्रारम्भ हुनका लागि सात वर्ष लाग्छ तर हाम्रोमा सिन्दूरसँगै नागरिकता दिने व्यवस्था राखियो । अन्तर्राष्ट्रिय सम्बन्ध भनेको पारस्पारिकताका आधारमा हुन्छ । एक त नागरिकता विधेयकमा संसदीय समितिको भूमिकालाई निषेध गर्ने काम भएको छ । अर्कातिर पर्याप्त छलफलै हुन नदिई निर्वाचनको मुखमा फास्ट ट्र्याकबाट ल्याइएको छ ।

भारत सुक्ष्म व्यवस्थापनमा माहिर छ । उसलाई विरोधी उम्मेदवार हराउनु छ र तावेदारी गर्नेलाई जिताउनु छ । राष्ट्रियताको पक्षमा नेपाललाई धेरैतिरबाट खतरा छ । सबैभन्दा बढी खतरा भनेको जनसंख्याको अतिक्रमण हो । युनिफर्म, बुट लगाएको सिपाही पठाउनै पर्दैन । विदेशीलाई नागरिकता बाँडेर यहाँका आदिवासी, रैथानेलाई अल्पमतमा पार्ने र फिजीकरण गर्ने दाउमा छ भारत । अहिले प्रमाणीकरणका लागि यो विधेयक राष्ट्रपतिकहाँ पुगेको छ । मुलुकको अभिभावक पनि भएका कारण एक पटक फिर्ता पठाउने अधिकार उहाँसँग छ ।

तपार्इं अहिले आएको नागरिकता विधेयक मधेसविरोधी छ भन्दै हुनुहुन्छ । कसरी ?

– हाम्रो भनाइ हो– कतिपय रैथाने मधेसीले नागरिकता पाएका छैनन् । एक जना पनि नेपाली जन्मसिद्ध नागरिकता पाउने हकबाट वञ्चित नहुन् । र, विदेशीले नेपाली नागरिकता नपाओस् । तर, यो विधेयकमा विदेशीलाई नागरिकता दिने कुरा छ, त्यसकारण रैथानेहरू मर्कामा पर्छन् । तिनै ल्याइतेले मधेसीको टाउकोमा टेक्छन् ।

उनीहरू नेपाल आएर हुम्ला, जुम्लामा त बस्न जाँदैनन् । रोज्ने तराई नै हो । खोस्ने मधेसीकै रोजीरोटी हो । यहाँ राजनीतिक अस्थिरता भएको मौका छोपी रातारात सीमा स्तम्भ सार्ने हो । नेपालको चुरेबाट ढुंगा, गिट्टी लगेर पारि रिङ ड्याम बनाउने हो । त्यसले गर्दा वर्षामा नेपालको भूमि डुब्छ । त्यसको मारमा पर्ने मधेस नै हो ।

मधेसका नेताले यो तथ्य बुझेका छैनन् वा बुझ पचाइरहेका हुन् ?

– केही नेता छन् बुझ पचाइरहेका । त्यहाँका रैथानेहरूले अहिले आएर बल्ल बुझ्दै छन्, बुझ्न बाँकी रहेकाहरूलाई हामीले बुझाउनुपर्नेछ । यो विधेयक सरिता गिरीजस्ता आयातितहरूको हितमा छ । रैथानेहरूको अहित हुने गरी ल्याइएको विधेयकबाट जनसंख्या अतिक्रमण हुन्छ ।

एमसीसी, एसपीपी, नागरिकता विधेयकजस्ता सम्झौता किन अघि बढाइन्छ ? कसको स्वार्थमा ल्याइन्छ ?

– सत्ता जोगाउनका लागि, सत्तामा टिकिरहन र पुग्नका लागि विदेशीको आशीर्वाद चाहिन्छ । त्यसैको फल हो यो ।

महाकाली सन्धिको पृष्ठभूमिलाई कसरी सम्झनुहुन्छ ?

– त्यतिखेर मैले ह्विप नाघेर विरोधमा मत हालेको थिएँ । महाकाली सन्धिमा कस्तो रकमी कुरा गरियो भने अधिकांश भागलाई सीमा नदी भनिएको छ । शरीर जति मेरो, मुटु जति अर्काेको भनिदियो भने के हुन्छ ? अधिकांश भूभागमा सीमा नदी मान्नुको तात्पर्य हो कालापानी भारतको भन्ने बाटो खोलिदिनु । यो सबै दलालले गरेको काम हो । संसारमा जहाँ पनि पहिला डिपिआर हुन्छ अनि मात्र सम्झौता अघि बढ्छ तर महाकाली सन्धिको हकमा भयो उल्टो ।

विश्वमा पानीको अभाव हुँदै गएको छ । बिजुलीका अनेकन विकल्प निस्किएका छन् तर अहिलेसम्म पानीको विकल्प छैन । इण्डिया अघोषितरूपले नेपालको पानी सोहोर्न चाहन्छ । उसको ध्येय हो महाकालीको मुहान कब्जा गर्दै जाने । चन्द्रसमशेरको पालामा ब्रिटिश इण्डियाले शारदा बाँध बनायो । त्यही बेलादेखि उसको नेपालमा पानीको मुहानमाथि आँखा परेको हो ।

दोस्रो, चीन र भारतको युद्ध हुँदा पनि कालापानीबाट उसको सेना पछि हटेन, कारण हो– त्यहाँबाट चीनलाई हेर्न सजिलो हुनु । चिनियाँ दिल्लीसम्म आउने सजिलो बाटो पनि हो त्यो त्यही कारण त्यो छेक्नलाई बसेको । ०४७ सालमा रातारात टनकपुर बाँध बनाइयो । टनकपुर र शारदा कब्जा गरेपछि पूरै महाकाली कब्जा गरेर पञ्चेश्वर बनाउँछु भनी गरिएको सम्झौता हो त्यो ।

मनमोहन अधिकारी बिरामी पर्दा उनको सट्टा ओलीले वैकल्पिक केन्द्रीय सदस्य बनाइएका देवराज घिमिरे (हाल प्रदेश नम्बर १ इञ्चार्ज) लाई लगी भोट हालेर बहुमत पु¥याई महाकाली सन्धि पास गरियो हैन ? तपाइँलाई त्यसबेला वैकल्पिकमा १ नम्बरबाट पाँच नम्बरमा किन झारिएको ?

– राष्ट्रघाती महाकाली सन्धि पास गराउन । पार्टी महाधिवेशनले पारित गरेको वैकल्पिकतर्फ १ नम्बरको केन्द्रीय सदस्य थिएँ म । महाकाली सन्धिमा बराबरी मत पर्ने स्थिति आयो । पछि सन्धि पास गराउने योजनाअनुसार वैकल्पिकतर्फ ५ नम्बरका भएका देवराजलाई १ नम्बरमा ल्याएर मलाई ५ नम्बरमा झारियो ।

त्यतिखेर पार्टी विभाजनको कारक पनि महाकाली सन्धिलाई मानिन्छ नि ?

– पार्टी विभाजन नहुनुपर्ने थियो तर भयो । राष्ट्रघाती, असमान महाकाली सन्धि पास गराएको हुँदा त्यसको विरोध गर्नेमध्ये केहीले विपक्षमा मत हाल्यौं । केही तटस्थ बस्नुभयो । संकल्प प्रस्ताव पास गराइएको थियो । त्यसलाई पनि बेकामे बनाइयो । महाकाली सन्धि कलंक हो । त्यसको अवधि पनि गइसक्यो । अहिलेसम्म खारेज हुनुपर्ने हो ।

महाकाली सन्धिमा मनमोहनको भूमिका कस्तो रह्यो ?

– म कुनै पनि हालतमा समर्थन गर्दिनँ भनेर बसेका उहाँ अस्पतालमा हुनुहुन्थ्यो, भोटिङ गर्न लिएर जालान् भनेर गाडी नै कब्जा गरियो ।

सन्धि गराउनका लागि भारतीय राजदूतले लबिङ कत्तिको तीव्र पारेका थिए ?

– भारतीयले नेपालमा माइक्रो म्यानेज्मेन्ट गर्दै आएका छन् । त्यो बेला पनि गरे । नेपाललाई हेर्ने भारतको तीनवटा दृष्टिकोण छ । प्रभाव क्षेत्र सम्झने, सीमित सार्वभौमिकताको सिद्धान्त र अर्काे हो सके कन्ट्रोल गर्ने नसके अस्थिरता पैदा गर्ने । पार्टी पार्टीबीच झगडा गराउने, पार्टीभित्रका केही नेतालाई आफ्नो बनाएर अरूसँग जुधाउने, नागरिकताजस्तो राष्ट्रघाती विधेयक ल्याएर यहाँका देशभक्तलाई हराउने र तावेदारलाई जिताउने ।

नयाँ भारतले अब पनि हिजो ब्रिटिश इन्डियाले सिकाएको साना देशलाई हेप्ने, ठूला देशको चाकडी गर्ने परराष्ट्र नीति वा परम्परा बोकिरहनुचाहिँ ठीक भएन । मोदीले राम्रो भाषण गर्ने, रअले नभनीकन इपिजी प्रतिवेदन नबुझ्ने यो कूटनीति हो उसको । राणाकालीन १९५० को असमान सन्धि उसले अझै परिवर्तन गर्न चाहेको छैन । ऊ अझै पनि पश्चगमनमै छ ।

भन्छन् अहिले पनि अमेरिकाले नेपाललाई भारतको आँखाले हेर्छ । एक जना परराष्ट्रविद्को नाताले के देख्नुहुन्छ ?

– कतिपय सन्दर्भमा भारतको आँखाले नहेरेको उदाहरण पनि छ । जस्तोः नेपालको शान्तिक्षेत्र प्रस्तावलाई भारतले समर्थन नगर्दा पनि उसले समर्थन गरेको थियो । अमेरिकी उपराष्ट्रपति सिधै नेपाल आएका थिए । नेपालमा ठूलो अमेरिकन एम्बेसी छ, त्यो नेपालको आवश्यक्ताअनुसार बनाइएको हैन । इण्डिया र चीन दुबैलाई हेर्ने ठाउँ नेपाल हो ।

भारतमा बेलाबखत रसिया समर्थित इन्दिरा, मनमोहन, राजीव गान्धीहरूको सरकार बन्छ । भारत र चीन दुवैलाई तह लगाउन नेपालमा अमेरिकाको उपस्थिति छ । भूकम्प र नाकाबन्दीपछि वैकल्पिक आर्थिक श्रोतको खोजीमा रहँदा हामी भूपरिवेष्ठित देशबाट भूजडित देशमा अपग्रेड हुन खोज्यौं । चीनले धेरै सहयोग गर्न खोज्यो तर त्यसैमा बाधाहरू निस्किए ।

हाम्रा अधिकांश उच्चपदस्थ ब्युरोक्रेटका सन्तान अमेरिकामा पढ्छन् । यी पनि रिटायर्ड भएपछि जाने उतै हो । यहाँको ब्युरोक्रेसीमा पश्चिमा प्रभाव छ । उतैको तलब थाप्नेहरू पनि छन् । केही नेता बिकुवा छन् । स्याबासी तब पाउँछन् जब चीनतर्फको प्रोजेक्ट रोक्न वा कार्यान्वयनमा ढिलाइ गर्न सकुन् । त्यस्तो माइक्रो म्यानेजमेन्ट दक्षिण र पश्चिमबाटै भइरहेको छ तर चीन पनि सक्रिय भएर आइरहेको छ । मुखले बिआरआई लागु गरियो नभने पनि व्यवहारमा आलटाल छ ।

कसरी ?

– रसुवागढी नाकाको सर्वेक्षण थालेको छ । ट्रान्समिसन लाइन बनाउने भनिएको छ । तातोपानीमा बिग्रेको बाटो मर्मत गर्नेदेखि अण्डरग्राउण्ड केबल बिच्छ्याउने प्रोजेक्ट बिआरआईअन्तर्गतकै हो तर दुईवटा कारणले यसलाई बिआरआई भनेर किटान गरिएन । भारत र अमेरिकाको आँखा ठूलो किन पार्ने भनेर गुपचुप रूपमै बिआरआई अघि बढिरहेको छ । यसबीच चीनको दुई÷तीन वटा डेलिगेसन आइसक्यो । नारायण खड्काको चीन भ्रमणपछि एमसीसीका कारण नेपाल अमेरिकातिर ढल्कियो भन्ने भ्रम पनि निवारण हुन्छ । तेस्रो शक्तिले दुई देशको सम्बन्धमा भाँजो हाल्न गरेको प्रयास असफल हुनेछ ।

वाम आन्दोलनको भविष्य कस्तो देख्नुहुन्छ ?

– बीचमा अरुले खेलाए । कसैको अहंकारले समस्या आयो । राजनीतिमा स्थायी शत्रु, स्थायी मित्र हुँदैन अनि खोजेजति सिट पनि कांग्रेसले दिँदैन । इण्डियन र अमेरिकन लबीको कांग्रेसले वामहरूलाई भोटै हालेको छैन । सिट बाँडफाँडमा कुरा मिलेन भने अर्काे गठबन्धन तयार हुन सक्छ । अर्काको सेवा गर्दै जानुपर्ने, एकपछि अर्काेलाई रिझाउने प्रोजेक्टमा तानिएर जानुपर्ने हो भने वास्तविक वामपन्थी एक हुनुपर्ने स्थिति छ ।

दम्भले एक हुन देला र ?

– भीम रावल, घनश्याम भुसाललगायत दोश्रो पुस्ता वाम एकताका लागि तयार छ । गल्तीबाट सिकेर, सच्याएर अगाडि बढ्नुपर्ने चुनौती छ ।

तपाईंको ठाउँ मकवानपुरमा एमाले र कमल थापाको अलायन्सलाई कसरी लिनुभएको छ ?

– वामहरूसँग चिढिएपछि दक्षिणपन्थीसँगै नजिक हुने त हो नि ! ०४७ सालपछि कांग्रेसले सूर्यबहादुरलाई, वामले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । थुनेर राखेका थिए हामीलाई बल्खुमा । म मेडिकल चेक अप गर्छु भनी निस्किएर घर गएँ । राप्रपाको मान्छेलाई प्रधानमन्त्री बनाउन म बन्दी भएर बस्दिनँ भन्ने मेरो मत ।

रसियामा पूर्वराजदूत रहिसकेकाले आजको रुस–युक्रेन लडाइँको पृष्ठभूमिलाई कसरी स्मरण गर्नुहुन्छ ?

– युक्रेन ३० वर्षअघि रुसकै एउटा प्रान्त हो । लेनिनले त सोभियत संघको टाउको हो युक्रेन भनेका थिए । अधिकतम विकास भएको ठाउँ । अहिलेको बहादुर भवनभित्र एउटा होटल थियो । बोरिस्को होटल, युक्रेनकै मान्छेले बनाएको ।

कम्युनिस्ट शासन ढलेर पनि रुसले गरेको प्रगतिको कारण के हो जस्तो लाग्छ ?

– टेक्नोलोजीमा विकास । त्यहाँको ब्युरोक्रेसी देशभक्त छ । हामीकहाँको ब्युरोक्रेसी विदेशको प्रभावमा छ । पुटिन कम्युनिष्ट होइनन् तर कुशल प्रशासक र देशभक्त हुन् । अहिलेको युद्ध युक्रेन र रसियाबीचको होइन । ठाउँ मात्र युक्रेन भयो तर अमेरिका र नेटोसँग रुसको सैनिक अप्रेसन हो ।

ताइवानमा किन जन्मियो तनाव ?

– सन् १९५५ नेपालको परराष्ट्र नीतिमा अत्यन्त महŒवपूर्ण वर्ष थियो । त्यसबेलादेखि नेपालले एक चीन नीति लियो । तिब्बतलाई पनि चीनको अभिन्न अंग भन्दै आएको हो । सन् १९६० को सेप्टेम्बरमा बिपी कोइरालाले संयुक्त राष्ट्रसंघको महासभामा गएर भने– ‘विश्वको एक चौथाई जनसंख्या भएको जनवादी गणतन्त्र चीनलाई बाहिर राखेर संयुक्त राष्ट्रसंघ सार्थक हुन सक्दैन । ताइवानलाई निकालेर बरु चीनलाई राख ।’ यसरी १९७१ मा अल्बानिया र नेपाल प्रस्तावक भएर बहुसंख्यकले त्यो प्रस्ताव पास ग¥यो ।

त्यो प्रस्तावअनुसार नेपालले ताइवानलाई चीनको अभिन्न अंग मान्छ । उता चीनले ताइवानलाई विद्रोही प्रान्त ठान्छ । चीनले अहिले पोलिटिकक्ली अमेरिका, मिल्ट्री र इकोनोमी फिल्डमा ताइवानलाई पाठ सिकाएर त्यहाँ आफ्नो सार्वभौमिकता छ भनेर देखाएको छ ।

द्वारिकानाथ ढुंगेलको कृति जलश्रोतको चक्रब्युह विमोचनक्रममा ओलीले महाकाली सन्धि पास भए वार्षिक एक खर्ब २० अर्ब आउँछ भन्नुलाई आफ्नो कमजोरी स्विकार्नुभयो भनिन्छ । हो ?

– पानीको बाँडफाँडमा हामीले ध्यान पु¥याउन सकेनौं । केही कमजोरी भयो भनेर गल्ती स्विकार्नुभएकै हो ।


प्रतिक्रिया दिनुहोस !