छानिएलान् र एकै घरबाट राष्ट्रपति र प्रधानमन्त्री ? « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

छानिएलान् र एकै घरबाट राष्ट्रपति र प्रधानमन्त्री ?

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार १२:००


मंसिर ४ मा हुने संसदीय निर्वाचनपछिको राजनीतिक परिदृश्य कस्तो हुन्छ ? यो कुरा जनमतका आधारमा निर्धारण हुने हो । सामान्यतया देउवा आफैँ निर्वाचनपछिको प्रधानमन्त्री बन्न चाहनुहुन्छ । उहाँले आलोपालोका आधारमा संसदको त्यही कार्यकालभित्रै पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपालदेखि पत्नी डा.आरजु राणा, झलनाथ खनाल र रामचन्द्र पौडेलसम्मलाई व्यवस्थापन गर्नुपर्नेछ । यद्यपि, राजनीतिमा चाहेजस्तो नतिजा नआउन पनि सक्छ ।

गठबन्धनसँग रहेको जनमतको पूर्वानुमानका साथ उहाँले निर्वाचनपछिको संसदमा बलियो शक्तिका रुपमा गठबन्धन नै आउने आँकलन गर्ने नै हुनुभयो । तर, गठबन्धनका साझेदारसँगको सहयात्राभन्दा चुनौतिपूर्ण छ, आफ्नै दलभित्रको खिचातानी । उहाँले सकेसम्म आफ्ना निकटस्थ बढी निर्वाचित हुने कुरालाई ख्यालमा राख्दै टिकट वितरणबाटै खेलो शुरु गर्नुहुने छ । यदि, प्रधानमन्त्रीमा आफ्नो सम्भावना रहेन, संसदीय दलको नेतामा हार्ने स्थिति भयो उहाँ राष्ट्रपतितिर जाने सम्भावनालाई पनि नकार्न सकिन्न । यदि, उहाँ शीतलनिवासतिर जानुभयो भने पार्टीभित्रको सन्तुलन मिलाउन पनि ‘चिढ्याउनु हुँदैन’ भन्ने नाममा पत्नी आरजुको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा अरु जागृत हुने पक्का छ तर एउटै घरबाट पति–पत्नी नै राष्ट्रप्रमुख र सरकार प्रमुख बनेको अरुले कसरी देखिसहलान् र ! त्यस्तो बल गरियो भने त्योचाहिँ संसारकै आठौं आश्चर्य हुनेछ ।

भित्रका दुःख

राजनीति यो ठाउँसम्म पुग्नुअघिका चुनौति र आइपर्ने कष्ट भने फरक छन् । अहिले जसरी कांग्रेसभित्र गुट–उपगुट नभनिकन मच्चिएको ‘हुँडलो’ छ, बूढाखाढालाई प्रधानमन्त्रीको दौडबाट हटाउनुपर्छ भन्ने । यो भनेको देउवासहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइरालाको तहका नेतालाई ‘शीर्ष स्थानमा राख्ने, चूप लागेर बस्ने’ स्थितिमा पु¥याइने गाइँगुइँ हो ! त्यस्तो आवाज उठाउनेहरुले पहिलो तहका नेतालाई राष्ट्रियसभा वा समानुपातिकबाट संसदमा लैजान चाहन्छन् । र, प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा बढीमा ६० वर्षसम्मका ‘युवा’ को कुरा ल्याएका छन् । थाहा छैन, यो अभियान कहाँबाट आयो ?

तर, कांग्रेसमा यसले ठूलै बतास चलाएको छ । यही कुरालाई पुष्टि गर्ने गरी हालै चाबहिलमा महामन्त्री गगन थापाले ‘उहाँ (बूढा) हरु चूप लागेर शीर्षस्थानमा बस्ने भए बस्नुहुन्छ, नत्र हामीले हस्तक्षेप गर्ने हो’सम्म भनेका हुन् । त्यहाँ वाम बुद्धिजीवी खगेन्द्र संग्रौलादेखि कांग्रेसनिकट जुगल भुर्तेलसम्म थिए । त्यसअघि जब गगनले ‘भावी प्रधानमन्त्री म’ भने, यसपछि शेरबहादुरले ‘यसम्यान’ हरुलाई टिकट दिएर संसदीय दलको नेता र प्रधानमन्त्री आफू बन्नुपर्ने दबाब झेल्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा सात चोटीको ज्योतिषीय भविष्यवाणी पूरा गर्नुभन्दा ठूलो खड्गो संसदीय दलको नेता चुनिनु हो, जसका लागि बढीभन्दा बढी उहाँनिकटकाले टिकट पाउनु र जित्नु जरुरी छ ।

यस्तो खतरा देखिएपछि मूलतः शेखर र गगनलाई कसरी रोक्ने भनेर पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, प्रकाशशरण महतहरु अलग–अलग बसेर योजना बनाइरहेका छन् ।

कांग्रेसभित्र नेतापिच्छेका चिन्ता र चासो फरक छन् । जस्तो– काठमाडौंका कार्यकर्ता र जनताको मत नबुझी शेरबहादुरतिर लाग्दा प्रकाशमान सिंह कमजोर भए । कृष्ण सिटौला झापामा यसै कमजोर छन् । विश्वप्रकाश शर्मा महामन्त्री भएका कारण संसदमा आउनै पर्ने भयो । त्यसकारण अब कसैलाई नचिढ्याई यी सबै संसद छिर्ने हिसाबमा लागेका छन् । त्यसमाथि सिटौलाको अलग्गै धारणा नहुने भयो, किनभने अब उनी र रामचन्द्र शेरबहादुर देउवासँग जोडिएका छन् । त्यसैले उनीहरु अब झापा वा तनहुँबाट चुनाव लड्ने वा समानुपातिकमा जाने हुन् । किनभने, प्रधानमन्त्री बन्न नपाइने भएपछि प्रत्यक्ष चुनावतिर जानै परेन ।

०७४ मा जुन दलले जुन–जुन क्षेत्रबाट चुनाव जितेको थियो, यसचोटि गठबन्धनले ती–ती क्षेत्र उही पार्टीलाई दिने नीति तय गरेको छ । त्यसमध्ये एमालेले जितेका सीटहरु काँग्रेस, माओवादी र समाजवादीमा बाँडफाँड हुने सम्भावना छ । त्यसो गर्दा केही नेतालाई असर गर्छ । प्रकाशशरण महतलाई नुवाकोटबाट सांसद बनाएर ल्याउने कुरा थियो । तर, त्यहाँबाट माओवादीका हितबहादुर तामाङले जितेका हुन् । त्यसैले उनले ०७४ मा हारेकै काठमाडौंको ५ नम्बर क्षेत्र ईश्वर पोखरेलसँग भिड्ने गरी रोज्ने सम्भावना छ । अघिल्लो चुनाव जितेको दलले फेरि पनि टिकट पाउने मापदण्डको मारमा मोहन बस्नेत पनि परेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट सभामुख अग्नीप्रसाद सापकोटाले जितेका थिए । त्यसैले टिकट नपाउने आशंकाले मोहन देउवासँग अहिल्यैदेखि बिच्किन थालेको बताइन्छ ।

मारमा गगन

आगामी संसदमा गगन थापालाई रोक्नु देउवा खेमाका निम्ति सबैभन्दा ठूलो जित हुनेछ । यदि उनी प्रधानमन्त्री हुने भए भन्ने नाममा काठमाडौं क्षेत्र नं. ४ बाट वामपन्थी मत पनि ल्याए भने उनलाई हराउनका लागि तयार पारिने कांग्रेस मत काम नलाग्ला भन्ने खतरा छ । उनको क्षेत्रबाट उनलाई हराउन प्रभावशाली मानिएका ‘हात्ती राजु’ भनेर चिनिने राजु श्रेष्ठ हुन् । उनको क्रस भोटिङले असर गर्छ र गगन रोकिन्छन् भन्ने देउवा खेमालाई लागेको छ । गगनचाहिँ चुनाव जित्ने चुनौतिलाई दृष्टिगत गरी अहिलेदेखि नै क्षेत्रकेन्द्रित भइसकेका छन् । यससँगै अलग्गै अध्यापक लिएर अर्थशास्त्र अध्ययन गरिरहेका छन् । हप्तामा दुई दिन उक्त विषय पढ्छन् ।

दिल्ली संवाद

यसबीच, प्रचण्डसँगको तालमेललाई बलियो बनाइएको छ । उहाँकै माध्यमबाट माधव नेपालसँग पनि कुरा भइरहेको छ । माधवले ‘हामी औजार मात्र बन्यौँ’ भनेपछि प्रचण्डलाई विश्वासमा लिएर पत्नीको माध्यमबाट भारतलाई साक्षी राखी तालमेललाई बलियो बनाइएको बताइन्छ । यसका निम्ति गत वर्षको ‘राखी कूटनीति’ प्रयोग भैसक्यो । यसो गर्नुको कारण हो प्रचण्ड र वामपन्थीहरु केही गरी अर्कोखाले गठबन्धनमा गए भने कांग्रेस मारमा पर्ने डर । त्यसैले संसदको आउने कार्यकालभित्रै प्रचण्ड, माधव, आरजुसम्मलाई व्यवस्थापन गर्ने सूत्र तय गरिएको हो ।

त्यसो त प्रचण्डका निम्ति भारत संवाद बिग्रँदो सम्बन्ध सुधारको एउटा अवसर पनि बन्यो । उहाँले अन्तर्राष्ट्रिय मध्यस्थता चाहनुभएको थियो । चीनसँगको सघन सम्बन्धका कारण भारतसँग दोस्ती गाँस्ने उपाय खोज्दाखोज्दै देउवाले यस्तो मौका मिलाइदिनुभएको हो भनिन्छ । खासमा प्रचण्डले देउवासँग मात्रै गरेको सहमतिको विश्वसनीयता खोज्ने क्रममा दिल्ली पुग्नुपरेको हो । किनभने, पहिला राष्ट्रपति विद्या भण्डारीलाई साक्षी राखेर ओलीसँग गरेको सम्झौता काम लागेन । कतै फेरि त्यस्तो हुने त हैन ? भन्ने झस्को पस्दा दिल्ली संवाद तय गरिएको स्रोत बताउँछ ।

उक्त भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई भेट दिएनन् भन्ने कुरा सुनियोजित रहेको स्रोत बताउँछ । जम्मै कुरा मिलाउने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग हो । उनीसँगै घण्टौं एकल वार्ता भैसकेपछि मोदीसँग भेट्नुको के अर्थ रह्यो ? ‘मोदीसँग भेटघाट मिलेन’ भन्ने बनाएर चीनलाई पनि ब्यालेन्स गर्ने नियत यसभित्र निहित रहेको हुनसक्छ ।

गठबन्धन गणित

प्रचण्डको रणनीति हो, कांग्रेसको एक्लै बहुमत पुग्न नदिने । कांग्रेसको रणनीति छ, एमालेलाई ठूलो पार्टी हुन नदिने । त्यसका लागि माधव नेपाललाई पनि बिच्किन नदिने ।

यसचोटि स्थानीय निर्वाचनमा जस्तो गठबन्धन खासै गञ्जागोल होलाजस्तो छैन । किनभने, एक त एकै चुनाव चिह्नमा भाग लिन पाइने, अर्कातिर मतपत्र धेरै सानो हुने । उम्मेदवार नभएको दलको चुनाव चिह्न मतपत्रमा उल्लेख नहुँदा बदर संख्या घट्ने । त्यसो गर्दा पनि केही न केही प्रतिशत मत तलमाथि त हुन्छ नै ।

– विश्वमणि सुवेदीबाट


प्रतिक्रिया दिनुहोस !