नर्भिकको सहयोगमा बालकले पाए नयाँ जीवन
उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका बालकले नयाँ जीवन पाएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपचारमा सहुलियत दिएपछि ती बालक निको भएका हुन् ।
जनकपुरको लक्ष्मीनारायण गाउँपालिका, सपहीका ८ वर्षीय बालक विजय महतोले नयाँ जीवन पाएका हुन् । उनको उपचारमा नर्भिकले सहुलियतसँगै पूर्ण ?पमा निको बनाई हिजो घर पठाएको छ ।
आर्थिक अवस्था कमजोर रहेका विजयको पेटको अघिल्तिरको भागको मांसपेशीमा पिप जम्मा भएको थियो । बुबा शिवशरण महतोका अनुसार जनकपुरका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडौं ल्याइएको थियो ।
आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजान सक्ने अवस्था आफ्नो नरहेको, तर नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो सुविधा पाएकोमा उनी खुशी देखिएका छन् ।
महतोले भने, ‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दियो । मजस्तो गरिबलाई गुण लगाएको छ । उपचारमा संलग्न डा.अभय यादवले समेत निकै सहयोग गर्नुभएकाले आज मेरो छोरा ठीक भएको छ ।’
पेटको मांसपेशीमा जमेको पिप र त्यसको पीडाका कारण नर्भिक आउँदा विजय हिँड्नसक्ने अवस्थामा थिएनन् । उपचारपछि उनी सजिलैसँग हिँड्नसक्ने भएका छन् ।
नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. यादव नेतृत्वको टिमले महतोको उपचार गरेको थियो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको तर, उनले तोकिएको औषधि लामो समयसम्म सेवन गर्नुपर्ने अस्पतालले जनाएको छ ।
नर्भिकले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब र निमुखा नागरिकको उद्धार गरी निःशुल्क उपचार सेवा दिँदै आइरहेको जनाइएको छ ।
टिप्पणीहरू