प्रचण्डले अबदेखि स्वीट्जरल्याण्ड र सिंगापुरको नाम उच्चारण नगर्ने

प्रचण्डले अबदेखि स्वीट्जरल्याण्ड र सिंगापुरको नाम उच्चारण नगर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि आफूले सिंगापुर र स्वीट्जरल्याण्डको नाम उच्चारण नगर्ने बताउनुभएको छ । मुलुकको विकास नेपाली मोडलको आधारमा हुनुपर्ने उल्लेख गर्दै उहाँले अरु देशको नाम लिएर स्वदेशको विकास नहुने ठोकुवा गर्नुभएको हो ।

आज काठमाडौँमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने उल्लेख गर्नुभएको छ । विगतमा नेपाललाई सिंगापुर र स्वीट्जरल्याण्ड जस्तो बनाउने भनेर बताउँदै आएको क्षण स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालको विकासको मोडेल आफ्नैपनको हुनुपर्दछ । विगतमा कतिपयले सिंगापुरजस्तो, स्वीट्जरल्याण्डजस्तो, जापानजस्तो इत्यादी भने । तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलमै हुनुपर्ने ठहर गरेका छौं ।’

उहाँले मानव जीवनलाई सरल बनाउन कला र संस्कृतिको ठूलो भूमिका हुने उल्लेख गर्नुभयो । कला र संस्कृतिले सबैलाई सफल जीवन जीउन प्रेरणा दिने उहाँको ठहर छ ।

टिप्पणीहरू