सेनाले घरबाटै समात्यो शिकारी

सेनाले घरबाटै समात्यो शिकारी

नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको संयुक्त टोलीले शिकारी पक्रेको छ । निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र कर्मचारीले हिजो शिकारीकै घरमा पुगेर रंगेहात उनलाई समातेको हो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अनुगमनका लागि राखिएको स्वचालित क्यामेरामा विभिन्न मितिमा गैरकानूनी रुपमा हतियारसहित केही व्यक्ति प्रवेश गरेको तस्बिर कैद भएको थियो । सोही तस्बिरको आधारमा खोजतलास शुरु गरिएको नेपाली सेनाले जनाएको छ । उक्त व्यक्तिको जानकारी प्राप्त भएपछि संयुक्त टोलीले हिजो उनको घरमा छापा मारेको हो ।

छापा मार्ने क्रममा घरबाट एउटा दुई नाले १२ बोर बन्दुक,चार गोटा थ्री नट थ्री राउण्ड, १६ गोटा आठ एमएम केएफ राउण्ड, १२ गोटा ओएफभी एसेभेन ६० राउण्ड, दुई गोटा ओएफभी २०१० राउण्ड बरामद गरिएको छ ।

त्यस्तै, एक थान एमकेथ्री एक्पलोसिभ, एक सय ग्राम पेक, २१ वटा पटका रोल, सात सय ग्राम छालासहितको मासु, चार सय ग्राम सुकुटी मासु, २१ गोटा छर्रा, दुई वटा सुकुटी सुकाउने जाली, तीन थान मोबाइल र आठ वटा १२ बोर कार्तुस भरिएको र पाँच वटा खाली पनि बरामद गरेको जनाइएको छ ।

नेपाली सेनाले उनलाई आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय बुझाएको छ । नाम खुलाइएको छैन ।

टिप्पणीहरू