यसबीच कति मरे, अब कति खस्ला मत ?

यसबीच कति मरे, अब कति खस्ला मत ?

आगामी मंसिर ४ गते एकै चरणमा हुने गरी मिति घोषणा भएसँगै मुलुक निर्वाचनमा होमिएको छ । राजनीतिक दल, सरकार, चुनाव सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको निर्वाचन आयोगलगायत सरोकारवाला निकायहरू तयारीमा जुटिसकेका छन् । चुनावपछि देशका ‘टप फाइभ’ पदको समेत टुंगो लाग्ने भएकाले आम तहमा पनि सम्भावित परिणामलाई लिएर ब्याख्या, विश्लेषण र तर्क–बितर्क हुन थालेको छ ।

मंसिरको चुनाव संघमा २७५ र प्रदेशतर्फ ३३० जना सांसद चुन्ने प्रक्रियामा मात्रै सिमित छैन । चुनावपछि दलहरूले प्राप्त गर्ने हैसियतका आधारमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीसहित दुवै तहका सरकारको नेतृत्वसमेत छिनोफानो हुने हुन्छ । यसैकारण दलहरूका लागि यो चुनाव जीवन–मरणकै सवाल हुने निश्चित छ ।

सत्तारुढ पाँच दलले गठबन्धनको औपचारिक निर्णय गरिसकेका छन् भने प्रमुख प्रतिपक्ष एमाले पनि गठबन्धनकै खोजीमा देखिन्छ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, विप्लव समूह, परिवार दललगायतका साना पार्टीहरूसँग तालमेल गरेको थियो । तर, अपेक्षित परिणाम प्राप्त नभएपछि सत्ता गठबन्धन भत्काउन माओवादी केन्द्र र एकीकृत समाजवादीलाई प्रधानमन्त्रीको अफर गरेको एमालेका अध्यक्ष र शीर्ष नेताहरूले एक्लै चुनाव लड्ने दावी भने गरिरहेकै छन् ।

दलहरूको हैसियत निर्धारणसहित राष्ट्रिय राजनीतिको कोर्ससमेत परिवर्तन गर्नसक्ने मंसिरको चुनावमा कति भोट खस्ला त ? मतदाता सहभागिताको हिसाबले निर्वाचन कस्तो होला ? निर्वाचन आयोगले करिब १ करोड ३० लाख भोट खस्ने प्रारम्भिक अनुमान गरेको छ । स्थानीय चुनावपछि करिब सात लाख मतदाता थपिएका छन् भने झण्डै चार लाख हाराहारीको मृत्यु भएको आयोगको अनुमान छ । चुनाव घोषणालगत्तै नामावली संकलन कार्य स्थगन गरेको आयोगले १ करोड ८० लाख मतदाताको नाम सूचिकृत भएको बताएको छ ।

जसमध्ये कम्तिमा पनि १ करोड ३० लाख मत खस्ने पूर्वानुमान छ । यसपटक स्थानीय चुनावमा जस्तो धेरै मत बदर नहुने अपेक्षा छ । स्थानीय चुनावमा ठूलो मतपत्र, सातवटा चिह्नमा छानेर भोट हाल्नुपर्ने अवस्था र उम्मेदवार नभएको पार्टीको चिह्नसमेत राखेर मतपत्र छापेका कारण शहरी मतदातासमेत झुक्किएका थिए । जसका कारण शिक्षित मतदाता रहेको भनिएको शहरी क्षेत्रमै ठूलो संख्यामा मत बदर भएको थियो ।

तर, यसपटक भने आयोगले उम्मेदवारी मनोनयनपछि बल्ल मतपत्र छाप्दैछ । उम्मेदवार नभएको चिह्न मतपत्रमा नहुने आयोगले अहिले नै प्रष्ट पारिसकेको छ । जसका कारण बदर मत घटेर बढीमा डेढ प्रतिशतमा पुग्ने अनुमान छ । त्यो भनेको कूल खसेको मतको करिब दुई लाख हो ।

स्थानीय तहको परिणाम विश्लेषण गर्दा मंसिरको चुनावमा पनि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रकै पल्लाभारी हुने सम्भावना छ । कूल सदर मतको करिब ८० प्रतिशत मत यी तीन दलले पाउने स्थानीय तहको भोट ट्रेण्डले देखाएको छ । यस हिसाबले कूल सदर मत १ करोड २८ लाखमध्ये १ करोड हाराहारी मत तीन दलले पाउने देखिन्छ । जसमा कांग्रेस र एमालेले समान ४० लाख र माओवादी केन्द्रले बढीमा २० लाख भोट पाउने अनुमान गरिएको छ । बाँकी २८ लाख एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जनमोर्चा, नेमकिपा, राप्रपालगायत अन्य साना पार्टीको भागमा पर्ने अवस्था छ ।

स्थानीय चुनावमा १ करोड २३ लाख मत खसेको थियो । जसमध्ये वडाध्यक्षतर्फ काँग्रेसले ३९ लाख, एमालेले ३८ लाख र माओवादी केन्द्रले १५ लाख हाराहारी ल्याएका थिए । स्थानीय चुनावको करिब सात महिनापछि हुन लागेको आम चुनावमा तात्विकरूपमा मतदाताको मनोविज्ञानमा फेरबदल आउने सम्भावना कम रहेको अनुमानका साथ विश्लेषकहरूले यो लेखाजोखा गरेका हुन् ।

आयोगका लागि मतपत्र छपाई अर्को चुनौतीपूर्ण काम छ । यसपटक ४ थरी बाकसमा खन्याउने गरी झण्डै आठ करोड मतपत्र छाप्नुपर्ने हुन्छ । संघ र प्रदेश दुबैतिर प्रत्यक्ष र समानुपातिकका फरक–फरक दुई मतपत्र छाप्नुपर्ने र त्यो ठूलो संख्यामा हुने भएकाले केही समय लाग्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । त्यसैगरी, म्यादी भर्ना, बजेट रकमान्तर, कर्मचारी अह्रनखटन, सुरक्षाकर्मी, मतदान केन्द्र हेरफेर लगायतका काम गर्न पनि प्रशस्त समय लाग्ने देखिन्छ ।

टिप्पणीहरू