अजुर्न सर, यस्तै छ हाम्रो हाल ! « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

अजुर्न सर, यस्तै छ हाम्रो हाल !

प्रकाशित मिति :  १६ जेष्ठ २०७७, शुक्रबार १२:००


जमाना कस्तो अचम्मको आयो भने जिउँदो हुँदा ज–जसले मानसिक रोगी करार गर्दै उछित्तो काढिरहेको हुन्छ, मरिसकेपछि गीत गाउने पंक्तिको पहिलो लहरमा तिनै उभिएका हुन्छन् । सबैभन्दा पहिला तिनीहरू नै स्तब्ध हुन्छन्, तिनीहरू नै भावविह्वल हुन्छन् । तिनीहरूले व्यक्त गरिरहेको श्रद्धाञ्जली र समवेदनाका शब्द र आवाजमा गन्हाउने ढोङ र पाखण्ड देखेर मलाई वाकवाकी लाग्छ । मृत्युउप्रान्त अर्जुन भण्डारी सरले धेरै छेपारा र गोहीको पनि तस्बिर देखाए ।

अर्जुन भण्डारी, कम्युनिष्टका कखरा सिकाउने शिक्षक । हजारौं प्रगतिशील विद्यार्थीका शिक्षक । संघर्ष र क्रान्तिको सपना र भारी दुवै बोकेर दौडने र दौडन सिकाउने शिक्षक । बाँच्नु र मर्नुमा धेरै फरक छ, मित्र र शुभचिन्तक चिन्नु र जिन्दगी भोग्नुमा समेत उस्तै फरक छ ।

त्यसैले शुरुमा माफी माग्दै श्रद्धाञ्जली अर्जुन सर !
तपाईं होइन हामी हौं पागल, यस्तै छ हाम्रो हाल !

०४२ सालको बमकाण्डले फैलँदै गरेको कम्युनिष्टमाथि पञ्चायती राष्ट्रवादको गोर्खेलौरी बजारिँदै थियो । त्यो भीषण दमनको एक परिघटना थियो । त्यही घटनापछि अमरज्योति माविका शिक्षक गणेश पण्डित मादल चिह्न लिएर मैदानमा आए, चण्डेश्वरी मावि तुप्चेका शिक्षक दिलीप चौधरी हालसम्म बेपत्ता भए । उनी पनी त्यही दमनको शिकार हुन् भन्नेचाहिँ सबैले जानेमानेको थाहा पाएको तथ्य थियो ।

नुवाकोटको राजनीतिबाट भद्रबहादुर खड्का, जितसिंह खडका, प्रकाशचन्द्र लोहनी र अर्जुननरसिंह केसीलगायतलाई निकालिदियो भने पञ्चायतको राजनीति अपूरो हुन्छ । राजा वीरेन्द्रका सैनिक सचिवसम्म भएका ऋषिकुमार पाण्डे, प्रहरी प्रमुख डीबी लामाहरूजस्ता पञ्च प्रशासकको दबदबा र स्थार्थको जोडघटाउमा धेरै जनता पेलिएका, पिल्सिएका थिए त्यो बेला । त्यो बेला कम्युनिष्ट समर्थकले देखाउने सामाजिक नायकत्व प्रायः शिक्षकको आवरणमा स्थापित हुन्थ्यो । त्यहींबाट पञ्चायती अपराधखानाविरुद्ध धावा बोलेका थिए अर्जुन भण्डारी सरले । यसैले उनी पटक–पटक पञ्चायतको निशानामा परे । इस्पातजस्तो विचारलाई गर्जनसाथ बोल्ने स्वभावका कारण त्यसैले अर्जुन सरले यातनाका प्रताडना भोगे ।

त्यसैले उनी बिरामी थिए ।

उनको उपचार गरेर निको भए मेरो बाटोमा तगारो होलान् भन्ने क–कसले सोचे होलान् ? उनलाई उपचार गर्न किन चाहेनन् ? कि सकेनन् ? ०५७ सालको थान्सिङ बैठक र ०७७ सालमा अजुर्न सरको निधन भएको भोलिपल्ट उनैको दैलोमा त्यही कुरा लिएर एकोहोरो कराउनेचाहिँ उही शुभलाल मात्रै भए कि अरु पनि होलान् ?

‘उनी जिल्लाको क्रान्तिकारी आन्दोलनका खम्बा हुन्, उनीमाथि पार्टीले गरेको व्यवहारले चित्त दुखेको छ, मैले यो कुरा ०५७ सालको थान्सिङ बैठकमा भनेको थिए’ भन्दै २० वर्षपछि पनि उही एजेण्डामा शुभलाल रन्किँदा कमरेड इन्द्र गौतमले केही दिव्यज्ञान पाए कि त ? बैठकको झल्को आयो कि त ? बेदागी र सन्त मानिएका इन्द्र गौतम जगतजंग सबैको गुनासो पोख्ने अखडा हुन्, चाहे विरक्तिएर बरालिएका हुन् कि किनारामा फालिएकाहरू । सुनेर उडाउँछन् कि सुनुवाइ गर्छन् उनै जानुन् ।

अर्जुन सर वीर र बौद्धिक दुबै थिए । लाल र निपुण दुवै । उनी झुटो बोल्दैनथे, अवसरवादले साँचो बोल्दैन चुरो यही हो । उनी मरेर गए तर बाँच्ने सबैले सत्य बोल्दैन । त्यसैले एउटा सत्य गुमनाम भएको मान्नुपर्छ ।

उनी पढेलेखेका थिए । हुने खाने थिए । सम्पन्नता र समृद्धिका अनेक अवसर थिए उनलाई । ती सबै छोडेर बर्गमुक्तिको सपनामा कुदे । खासमा परिवर्तनप्रति उनमा पागलपन थियो । त्यो बेलादेखि यो बेलासम्म उनलाई नेपाली क्रान्तिको चिन्ता थियो । सत्य, निडर र जुझारु मामिलामा संघर्ष र क्रान्तिका यी अम्मलीलाई पश्चिम १ नम्बरको रुपचन्द्र मान्थे धेरै ।

अर्जुन भण्डारीको जिन्दगीको कथा तन्काउँदा संघर्षको उपन्यास बन्छ । यो बसाइमा अरू नसकिए पनि केही सत्य अन्वेषण र केही तथ्य दर्ज गर्न जरुरी हुन्छ । लेखक÷पत्रकार पुरुषोत्तम लम्साल सामाजिक सञ्जालमा लेख्छन्, श्रद्धाञ्जली लेख्ने बेला धेरै भूपू माओवादीले अर्जुन सरलाई चिने र स्तब्ध पनि भए । फरक छ बाँच्नु र मर्नुमा । धन्न फेसबुक थियो र चिने । माओवादीले उपेक्षा गरेर, अस्वीकार गरेर, अपमान गरेर, उनको मूल्यको अवमूल्यन गरेर अर्जुन भण्डारीको राजनीतिको नै हत्या गरेको लम्सालको टिप्पणी छ ।

यो नै यथार्थ हो । जुन हामीले देखे भोगेका सत्य र तथ्यमाथिको एक सफेद झुट थियो । ठूलाबाट बोलिएको झुट । राजनीतिको यात्राभित्र कति कपट, जालझेल खेल भयो होला भन्ने अनुमान लगाउन यही काफी छ । वन खाने आगोझैं हुरुरु आएको त्यो उनको त्यो बहुला विचार जो संसारलाई काँचै निलुलाझैँ गर्थ्यो, महाकवि देवकोटाको पागल कविता झल्झली सम्झाउने हुन्छन्ः

पागल ज्वालामुखीको उद्गार
भयंकर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !

त्यस्तै थियो हाल उनको । नेकपाभित्र लामा समूह र मोहनविक्रम समूहको विभाजनपछि हो भुइँसम्म पुग्ने गरी नुवाकोट रसुवाका कम्युनिष्टमा खडा भएको विभाजन । यो रेखा चौम र मशालको तर आत मरेका कायरहरूले उनलाई जिन्दगीभर मजाक बनाए । मशाल र माओवादी विभाजनको बेला जिल्लामा नाम चलेकाहरू पार्टी छाडेर हुरुरु एमालेतिर हाम्फालेपछि ती सबैविरुद्ध आगो ओकलेका थिए अर्जुन सरले । त्यो बेला अर्जुन सरको निर्मम टिप्पणी तोया होइन खोया, कैलाश होइन लास, बिष्ने होइन सिस्ने चल्तीमै थियो ।

माओवादीले जनयुद्धको ज्वारभाटा उठाउँदा तोया त खोया नै भएका थिए, बिडम्वना ! अहिले माओवादी नै खोया भयो त के लागोस् ? तर विष्णुचाहिँ सबैलाई सिस्नो नै ठहर भएर कामरेडहरूको आधार किल्ला तुप्चेमा एकसिटे नगर सदस्यको इज्जत जोगाउने लंगोटचाहिँ बनेका छन् । कांग्रेस एमालेको बथानका हुलमा अहिले पनि तिनलाई सिस्नुजस्तो लाग्दो हो विष्णु ।

नुवाकोटको राजनीति र जनयुद्धमा त्यस्तै भयो । धेरैले लुकेर जागिर खाने र बस्ने अखडा बनाएर आफूलाई क्रान्तिकारीको लेप लगाए । कुमरी घटना त्यही अखडाको उपज जो थियो । क्रान्तिको राजधानीलाई बुद्धिजीवीले लुकेर जागिर खाने थलो बनाउने, जनता काम गर्ने अनि नेता बन्ने फेरि उनीहरू नै बन्ने । अवसरवादीहरूको यो किल्लामा पनि हमला गरे अर्जुन सरले । तिनका स्वार्थको संसारमा भुइँचालो ल्याइदिए । केहीलाई पानीमरुवा भने, कोही धनको पछि लागेका द्रव्यपिचास हौ भने । आज उभिएर समीक्षा गर्दा आन्दनको कुकर बम विद्रोह र अर्जुनको अस्त्र अवसरवादको टाउको मै हानेको हो भन्नेचाहिँ समयले पुष्टि भएको छ ।

उही राजनीति, उही यात्रा तर श्रीमती चोरेर लैजाने जारहरूको जस्तो काटाकाट गर्नेहरू एक स्वरमा अर्जुन पागल हो भन्नेले उनको त्याग र समर्पणको कुनै मूल्य राखेनन् कुन्नि ! अवसरवादको चाकरीमा रम्ने झिंगे कमरेडहरू अर्जुन सरको उचाई देखेरै तर्सन्थे । त्यसैले यातनाले दिमाग बिग्रेर आएको पागल हो भनेर बेवारिसे छाडेका थिए अर्जुन सरलाई । पिठ्यूँपछाडि छुरा उज्याउने पनि तिनै, खिसीट्युरी गरेर मुतको आनन्दमा रमाउने पनि तिनै । दुर्भाग्य, अर्जुन सरको निधनमा तिनले झारेको गोहीको आँसु, बगाउने पनि तिनै ।

सुधारवादको मुटुमाथि प्रहार गर्ने अर्जुन सर पागल कि आज सुधारको खाडलमा जाकिएर अलाप गर्ने तिनीहरू पागल ? समयले यो निर्मम प्रश्न छाडेर गएको छ । छातिमा हात राखेर भन्ने आँट छ हिजो र आज के भनियो र गरीयो भनेर ? नेकपाका नेता मणि थापाले सामाजिक सञ्जालमा लेखेजस्तै एक जुझारु, जब्बर कम्युनिष्ट व्यक्तित्व क उदय रहनु भएन । उहाँको तर्क र काम गर्ने तरिका सिक्नलायक छ । तर, समाज र नेताहरूले उनीबाट सिक्नेभन्दा उनको भावनामाथि मजाक गर्नेलाई पनि थापा कमरेडले यो दिव्यज्ञान सुनाइदिउन् । उनको भावना नियाल्ने शब्दहरू देवकोटको काब्य हरफहरू उस्तै थिए ।

म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,

मलाई बुज्रुगहरूले, राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ, एक साथीले बेस्सरी चिमटिदिए
र भने, “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !

त्यस्तै कथा कति भए सालसाल । पछिल्लोपटक राजनीतिक पुर्वाग्रहले खोसीएको शिक्षकका जागिरको पेन्सन मिलाउँछु भनेर अर्जुन सरलाई झुक्याए । केहीले उपचार गर्छु भन्दै तारेख दिएर कज्याए । पञ्चहरूले त शरीरमा यातना दिएका थिए लोकतन्त्रका मठाधीशहरूले उनको भावनामाथि यातना दिए ।

शिक्षा र स्वास्थ्य मन्त्रालय सम्हालेका गिरिराजमणिको फोस्रो आश्वासनको हैरानीले परेसान थिए अर्जुन सर । विषाक्त माकुराको जालोजस्तो कर्मचारी संयन्त्र र मुखले ठिक्क पार्ने नेताहरूको चरित्रको शिकार भए बिरामी अर्जुन सर । भूपू माओवादीका जल्दाबल्दा नेता तथा बहालवाला मन्त्री वर्षमान पुनले पनि पहल लिन आश्वासन दिए । तदारुकता नदेखाइएको त्यो उधारो आश्वासनको पोको लिएर नेताजीहरूले वैतरणी पार गरुन् अब ।

मेरो मनमा जस्तै प्रश्न होला राजु भण्डारी, निर्मला मिस र उषाको मनमा पनि । मरेपछि आउने प्रचण्डको फेसबुक विज्ञप्ति जिउँदोमा सिंहदरबार जाँदा किन आएन होला ? उच्च सम्मानसहित विज्ञप्ति निकाल्न्ने नारायण दाहालको प्रदेश संयन्त्रले जाउलाखेल र सिंहदरबारमा भौंतारिरहेको अर्जुन सर किन सुनेन देखेन होला ? अनि उपचारको आग्रह गर्दा सुनेको नसुनेझैं गर्ने जिल्ला पार्टी कारखाना के होला ? अनि मरिसकेपछि झण्डा ओढाउने हतार तिनैलाई किन होला ? मरिसकेपछि सबैभन्दा धेरै छाती तिनै नालायकहरूको दुख्ने किन होला ?

विद्यार्थी आन्दोलन र नुवाकोट पुस्तक विमोचन कार्यक्रममा अर्जुन सरलाई सम्मान कार्यक्रम राखिएको थियो । लेख्नु र त्यसलाई पुस्तकको रुप दिनु, प्रकाशन गर्नु मजस्तो भुइँमान्छेका लागि पहाड थियो । स्तुुतिवाद र भजन नगाउने आलोचनात्मक चेत राख्नेलाई निषेध गर्नेहरूले त्यो कार्यक्रम बहिष्कार गरेका थिए । किनकि, त्यहाँ अर्जुन सरको सम्मान कार्यक्रम पनि सँगै थियो । अनिल शर्मा, डा.सुरेन्द्र केसी, कुमार पण्डित, नारायण खतिवडा, लक्ष्मी मुडभरी, माइला लामालगायतले भने राजनीतिलाई सचित्र पर्गेल्ने शिक्षा दिए ।

केहीअघि काठमाडौंबाट वसन्त भेटुवाल र अजुर्न सरको फोन आयो । व्यथाले गाँज्दै लगेपछि झुक्याएर पुनःस्थापना केन्द्र लगेका थियौ । उपचार क्रममा थाहा भयो उहाँले डाक्टरको जस्तै बनाएर आफैँले लेखेर औषधि खान छाडेछन् । तर, पछिल्लोपटक बिरामी भएपछि रोगले गलायो । बिरामीमा पनि उहाँले भेट्न खोज्नुभएको रहेछ तर मैले भेट्न सकिनँ । यो अफसोच जिन्दगीभर झुण्डिरहने भयो मेरा लागि ।

अफसोच ! गणेश पण्डितजस्तै अर्जुन सर पनि मृत्युपछिको महिमागानको शिकार भए । अन्यायमा परे । अग्रज पुस्ताका भन्नेलाई प्रश्न छ, तिमीहरूलाई पनि हामीले मरेपछि पछि महान् भन्न र झण्डा ओढाउन मात्रै कुद्ने हो ? बूढो बाजे फाल्ने डोकोको कथाजस्तो बुढा फाल्ने डोको मात्रै थाम्ने कि बुढाहरूको मनको धोको पनि छाम्ने कमरेडहरू ?

भरत सिग्देल सामाजिक सञ्जालमा लेख्नुहुन्छ कसैले पनि जीवनको उत्तरार्धमा रस चुसिएको उखुको सडकमा मिल्काउने खोइला बन्नु नपरोस् । बल र बैंस पार्टीमा बिताएका आन्दोलनमा गुमाएकाहरूको चित्र हो यो । यो पाटो नेता भन्नेहरूलाई खासै मतलव हुन्न, मरेपछिचाहिँ महान् ।

पाए र सके भने हाम्रा नेताहरूले अर्जुन सरजस्तै अरू कसैलाई बेघरबार बनाइदिन बेर लाउँदैनन् । ०६४ को संविधानसभा निर्वाचनमा चुनाव खर्चका लागि सहकारीमा घरजग्गा धितो राखेर ऋण लिएका थिए अर्जुन सरको परिवारले । त्यो ऋण तिर्न नेताहरू उदासीन बन्दा देखिएको कलह मात्रै होइन हरिबहादुर बस्नेतले भोगेको सास्ती र हैरानीको कथाको साक्षी हूँ म ।

जब पोष्टबहादुर बोगटीले यो सुइँको नपाएका भए भण्डारी परिवारको उठिवास लगाउने थिए बिचौलिया नेताहरूले । त्यहीबेला देखियो नेता, कार्यकर्ता र जनताबीच बिचौलिया अनि भुरेटाकुरे मुखियाहरूले तुच्छ स्वार्थका लागि अरूलाई कसरी उखु पेल्ने कलमा घान हालेजस्तै पेल्छन् भनेर । इमानजमानको पर्यायवाची हरिबहादुर सरजस्तो कार्यकर्ता त्यस्तै घानमा पेलिने हो । बाँकी कथा त जाँगर चलाएर हरिबहादुरले आत्मकथा लेखे पढौँला कुनै दिन ।

अन्त्यमा, अर्जुन सर प्रष्ट बोल्ने र सत्य बोल्ने मेमोरीकिंग थिए । विश्व कम्युनिष्ट आन्दोलन र दर्शनशास्त्रको विश्वकोषजस्तो । न केहीसँग केही आस थियो, न कसैको त्रास रुपचन्द्रको शैलीमा धेरैसँग सिधा भाषामा संवाद गर्थे । सतिसाल भनेको कस्तै आँधीबेहरी र हुरीले पनि झुकाउन, ढलाउन नसकेको रूख हो । र, अर्जुन भण्डारी त्यही रूखजस्तै भए । आजका ढुटे र ठुटे नेताहरूले भण्डारीलाई के जाति ज्येष्ठ कम्युनिष्ट मञ्चको प्रस्तावित सदस्य भनेर ओठेभक्ति देखाए । अर्जुन भण्डारीको इतिहास, संघर्ष र सौर्यलाई छिचिमिराहरूको प्रस्तावित सदस्यले छोप्ने गलत अभ्यास भयो । यसो भन्दा मलाई पनि मगज खुस्केको भन्न सक्छन्, भनून् । महाकवि देवकोटाकै कविताको अंशजस्तोः

जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
हार्दिक श्रद्धाञ्जली अजुर्न सर ।


प्रतिक्रिया दिनुहोस !